विभिन्न पार्टी परित्याग गरी सयौं युवा नेकपामा प्रवेश


 


काठमाडौँ, कांग्रेस लगायतका विभिन्न पार्टी परित्याग गरी सयौं युवाहरु नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन् ।

नेकपाको प्रभावशाली संगठन युवा संघ नेपालको केन्द्रीय कार्यालय बुद्धनगरमा आयोजित पार्टी प्रवेश कार्यक्रममा देश भरका उक्त युवाहरु युवा संघमा प्रवेश गरेका छन् । कार्यक्रममा संघका अध्यक्ष रमेश पौडेलले नवप्रवेशीलाई स्वागत गर्दै संघको सदस्यता वितरण तथा संगठनको गोपनीयताको सपथ समेत गराउनुभयो ।

विभिन्न देशमा बैदेशीक रोजगारीको बहानामा ठगी भई विचल्ली बनाइएका युवाहरुको न्यायको पक्षमा वकालत गर्दै संघले टर्कीमा रोजगारीको बहानामा ठगीएका युवाहरुको न्यायको पक्षमा उभिएको छ । विभिन्न दलाल तथा म्यानपावर एजेन्सीले ती युवाहरुलाई रोजगारीको बहानामा टर्की पुर्याएको र त्यहाँ कतिले काम नै नपाई दुःखद् जीवन यापन तथा कतिले कम्पनी नै टुटी बेसाहारा हुनु परेको थियो ।

उक्त समस्यामा परेका युवाहरुको लागत तथा क्षतीपूर्तिको लागि संघका पौडेलको विशेष सहयोगमा बैदेशीक रोजगारी विभागका प्रमुखले समस्यामा परेका युवाहरुलाई न्यायको निम्ती कानुनी उपचारको बाटो खोज्न सम्बन्धीत निकायलाई निर्देशन समेत दिइसक्नुभएको छ । यो निर्देशनसँगै दलाल तथा ठगी गर्ने म्यानपावर कम्पनीलाई कानुनी कठाधरमा ल्याईने भएको हो ।

संघको नीति तथा सिद्धान्तलाई उच्च सम्मान गर्दै युवाहरु संघमा प्रवेश गरी सदस्यता समेत लिएका छन् । नवप्रवेशीहरुले अन्याय, अत्याचार, थिचोमीचोको विरुद्ध र शान्ति र समृद्धिको लागि युवा संघ भएकोले नेकपामा प्रवेश गरेको बताए । पार्टी प्रवेशसँगै युवाहरुले आगामी दिनमा विदेश जाने भन्दा पनि देशमा नै केही गरेर देखाउने अठोट लिएको बताए ।

सरकारको समृद्ध नेपाली सुखी नेपालीको अभियानलाई अब गाउँ गाउँबाट सफल बनाउन आजकै दिनदेखि लागि पर्ने वताउँदै नवप्रवेशीहरुले युवामैत्री वातावरण सरकारले निर्माण गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा बोल्दै अध्यक्ष पौडेलले राष्ट्र, राष्ट्रियता, राष्ट्रिय अखण्डता तथा स्वाधिनताको पक्षमा रही युवाहरु अघि बढ्नु पर्नेमा जोड दिंदै अब युवाहरु विदेश जाने हैन, देशलाई समृद्ध बनाई विदेशी युवा नेपालमा ल्याउने गरी आर्थिक विकास र समृद्धिलाई तिव्र गतिमा अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।

उहाँले चन्दा आतंक, बम, बन्दुक जस्ता कुराहरुले समाजवाद स्थापना हुन नसक्ने भन्दै सम्पूर्ण युवाहरुलाई आजैदेखि त्यस्ता देशको विरुद्धमा कुनै पनि गतिविधधि गर्ने व्यक्ति वा समूहरुको विरुद्धमा गाउँ गाउँबाट भण्डाफोर अभियान गर्दै सभ्य र सुसंस्कृत समाज निर्माणमा लाग्न निर्देशन समेत दिनुभयो । विप्लवलाई उहाँले भन्नुभयो, ‘सामान्य मान्छेलाई मार्न कहिले छोड्छौं तिमी ? तिमीले सामान्य मान्छेलाई तर्साएर समाजवाद आउँछ ? तिमीले नेपाली जनतालाई तर्साइराखे युवा संघ चुप लागेर बस्दैन, त्यसको नतिजाले तिमीले ठूलो मूल्य चुकाउनुपर्छ ।’

प्रकाशित मिति: १६ चैत्र २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्