पाथीभरा क्षेत्रबाट मदिरा फर्काइँदै


 


वसन्त लिम्बू, ताप्लेजुङ । प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा बिक्री वितरणका लागि राखिएका मदिरा थोक विक्रेतालाई नै फर्काइएको छ । सर्वपक्षीय बैठकले पूर्वको पवित्र तीर्थस्थल पाथीभरा क्षेत्रमा मदिराको प्रयोग र बिक्री वितरण बन्द गर्ने निर्णय गरेसँगै पाथीभरा क्षेत्रका व्यवसायीले आफूसँग रहेको मौज्जाद मदिरा धमाधम थोक विक्रेतालाई फिर्ता गर्न थालेका हुन ।

सो क्षेत्रको माथिल्लो फेदी, काफ्लेपाटी र भालुगौंडेका व्यवसायीले जिल्लाका व्यवसायीहरूलाई फिर्ता गरेका छन् । विभिन्न कम्पनीका बियर, रोयलटच, रुस्लान, खुकरी रम लागयतका मदिरालाई संकलन गरी फर्काइएको हो । पाथीभरा क्षेत्र होटल व्यवसायी संघका अध्यक्ष इन्द्रनारायण भट्टराईले पाथीभरा क्षेत्रलाई मदिरा निषेधित क्षेत्र बनाउने गरी भएको सर्वपक्षीय बैठकको स्वागत र सम्मान गर्दै यो क्षेत्रका व्यवसायीले आफूहरूसँग रहेको मौज्जाद मदिरा खरिद गरिएका थोक पसललाई फिर्ता गरेको जानकारी दिए ।

पाथीभरा क्षेत्रको महत्व र गरिमा बढाउने उद्देश्यले जिल्ला प्रशासन कार्यालयको संयोजनमा भएको बैठकबाट पाथीभरा क्षेत्रलाई मदिरा निषेधित क्षेत्र बनाउने गरी भएको निर्णय स्वागतयोग्य भएकोले मौज्जाद मदिरा फिर्ता गरिएको त्यहाँका व्यावसायी वताउँछन् । गएको २६ फागुनमा ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीको अध्यक्षतामा बसेको बैठकले १ चैतबाट लागू हुनेगरी पाथीभरा क्षेत्रलाई मदिरा निषेधित क्षेत्र बनाउने निर्णय गरेको थियो ।

प्रकाशित मिति: १६ चैत्र २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्