वीरगञ्जमा तोडफोड तथा आगजनी


 


वीरगञ्ज । प्रदेश–२ मा शुक्रबारको एसइइ परीक्षा स्थगित भएपछि वीरगञ्जमा विद्यार्थीले टायर बालेर प्रदर्शन गर्नुको साथै तोडफोड गरेका छन् । परीक्षा दिन परीक्षा केन्द्रमा पुगेका परिक्षार्थीहरू परीक्षा स्थगित भएको सूचना पाएलगत्तै आक्रोशित भई प्रदर्शनमा उत्रेका थिए ।

हजारौँको संख्यामा रहेका परीक्षार्थीहरू वीरगञ्जको घण्टाघरमा टायर बालेर प्रदर्शन गर्नुको साथै सवारी साधनमा समेत अवरोध गरेका थिए । विद्यार्थीहरूको प्रदर्शनका कारण वीरगञ्ज घण्टाघरक्षेत्र बिहान आठ बजेदेखि दिउँसो एक बजेसम्म तनावग्रस्त रह्यो । प्रदर्शनरत विद्यार्थीहरूले घण्टाघर चोकमा रहेको ट्राफिक डिभाइडर, फलामको बेरियर र साइन बोर्ड उखेलेर आगजनीसमेत गरेका थिए । स्थिति तनावपूर्ण भएपछि प्रहरीले विद्यार्थीमाथि लाठी चार्जसमेत गरेको थियो । त्यसपछि झन् आक्रोशित प्रदर्शनकारी विद्यार्थीले प्रहरीमाथि नै ढुंगामुढा प्रहार गरेका थिए । लाठी चार्ज भएपछि थप आक्रोशित भएका विद्यार्थीले प्रहरीलाई निशाना बनाउँदै ढुङगा हान्न थालेपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन दुई सेल अश्रु ग्यास प्रहार पनि गरेको थियो । त्यसले पनि स्थिति नियन्त्रणमा नआएपछि वीरगञ्ज महानगरपालिकाबाट दमकल मगाएर प्रहरीले विद्यार्थीमाथि पानीको फोहोरा हानेको थियो । पानीको फोहोरा हान्न थालिएपछि थप आक्रोशमा आएका विधार्थीले दमकलमाथि लगातार ढुंगामुढा गरेपछि दमकल भागेको थियो ।

विद्यार्थीको ढुंगा प्रहारबाट दमकलको सिसा पनि फुटेको छ । त्यसपछि प्रदर्शनकारी विधार्थीले नगरको विभिन्न क्षेत्रमा पुगेर सडकमा भेटिएका सार्वजनिक बस, स्कुलबस, टाटासुमो, ट्रक लगायतका करिब दुई दर्जन सवारी सधानमा तोडफोड गरेको प्रहरीले जनाएको छ । विद्यार्थीले ना २ ख २८४५, ना १ क ३३१५ नम्बरको बस, ना ६ ख ९३४०, ना ५ ख ६५३९ र ना २ ख ७६८१ नम्बरको सार्वजनिक बस, सगरमाथा स्कुलको बस लगायतका सवारी साधनमा तोडफोड गरेका हुन । दर्शनकारी विधार्थीले घण्टाघर चोकमा रहेको बाबा रामजनम तिवारीको शालिक परिसरमा रहेको मुख्यमन्त्री बेटी पढाउ बेटी बचाउ अभियानको सन्देशमूलक फलामको साइन बोर्ड उखेलेर जलाएका थिए ।

प्रर्दशनकारी विधार्थीको एक समूहले वीरगन्जको मुर्ली बगैंचामा रहेको अनुभूती कलेजमा पनि तोडफोड गरेको थियो । घण्टाघरबाट बसपार्कमा पुगेर हिमाल भान्छा घर एन्ड लजमा तोडफोड गरी मुर्ली बगैंचामा पुगेका विधार्थीले अनुभूति कलेजमा तोडफोड गरेका थिए । उनीहरूले कलेजको बाहिर पट्टीको पर्खालको सबै सिसा फुटाउनुका साथै रिसेप्सनभित्र पनि पसेर सीसी, एलइडी टिभी र फर्निचर तोडफोड गरेका थिए । तोडफोडको क्रममा क्लेजका विद्यार्थी र प्रदर्शनरत विद्यार्थीबीच झडपसमेत भएको थियो ।

तोडफोड गर्ने क्रममा प्रहरीले आन्दोलनरत विद्यार्थीहरू मध्ये २ जनालाई नियन्त्रणमा पनी लिएको छ । कञ्चनजंगा माविका नितेश गुप्ता र ओसिस माविका अर्जुन यादवलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रदर्शनरत विद्यार्थीहरूले वीरगञ्ज बजारसमेत बन्द गराएका थिए भने सवारी साधनमा पनि अवरोध गरेका थिए । प्रहरीको लाठी चार्जबाट सिद्धार्थ माविका शिवशंकर पटेलको टाउकोमा चोट लागेको छ । नारायणी अस्पतालमा उपचारको क्रममा ६ वटा टाका लागेको उनले बताए । त्यसैगरी साउथ जोनका राहुल पटेल, जिएचपीका आसिक अन्सारी, गौतम माविका निरज मण्डल, अभिनन्दन चौहान, अविरल चौहान, अमरदीप चौधरी, गीता गजेन्द्र माविका लगायतका विद्यार्थीहरूलाई सामान्य चोट लागेको छ । यसअघि बिहीबार पनि विद्यार्थीहरूले वीरगञ्जको घण्टाघरमा प्रदर्शन गरेका थिए । बिहिबार भएको विज्ञान विषयको परिक्षा रद्द भएपछि प्रश्नपत्र वाहिरिएको जिल्लामा मात्र परीक्षा रद्द हुनुपर्ने माग गर्दै प्रदर्शन गरेका थिए ।

प्रकाशित मिति: १६ चैत्र २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्