प्रश्नपत्र बाहिरिनुको रहस्य, तीन घेराको सरक्षाबाट कसरी बाहिरियो !


 


काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) सञ्चालनमा सरकारको चरम लापरवाही देखिएको छ। परीक्षामा त्रुटिपूर्ण प्रश्नपत्र छाप्नेदेखि परीक्षा अगाडि नै प्रश्नपत्र बाहिरिनेसम्म घटना भएका छन्।

प्रश्नपत्र छाप्नुअघि परीक्षा नियन्त्रक र उनले रुचाएका अन्य कर्मचारी प्रेसमा पुग्छन्। प्रश्नपत्र छाप्नका लागि जनक शिक्षा सामग्री केन्द्रको अति सुरक्षित ‘सेक्युरिटी प्रेस’ प्रयोग हुन्छ।

त्यहाँ जानुअघि प्रेसलाई मेजरको नेतृत्वमा रहेको नेपाली सेनाको टोलीले सिल गरिसकेको हुन्छ। छापाखानाभित्र जानुअघि पनि नियन्त्रक तथा अन्य कर्मचारीलाई नेपाल प्रहरी तथा सेनाको टोलीले पूर्ण चेकजाँच गर्छन्।

पूर्वपरीक्षा नियन्त्रक अम्बिका रेग्मी भन्छन्, ‘हामीलाई सामान्य हाफ पाइन्ट मात्र लगाएर भित्र छिराइन्छ। त्यसपछि भित्र गएपछि मात्र अन्य कपडा लगाउन दिइन्छ।’

परीक्षा नियन्त्रकसहितको टोली छापाखानाभित्र छिरेपछि त्यहाँ काम गर्ने जनक शिक्षाका कर्मचारीलाई पनि पूर्ण सुरक्षा जाँच गरेर पठाइन्छ। काम गर्नुअघि उनीहरुलाई प्रश्नपत्र छपाइको क्रममा कुनै पनि बदमासी नगर्ने शर्त राखेर हस्ताक्षर समेत गराइन्छ। त्यसपछि छपाइ कार्य सुरु हुन्छ।

प्रश्नपत्र छपाइ भइरहँदा छापाखाना परिसरमा तीन तहको सुरक्षा घेरा हुन्छ। सबैभन्दा पहिलो घेरामा नेपाली सेना, दोस्रोमा सशस्त्र प्रहरी र तेश्रो घेरामा जनपथ प्रहरीले सुरक्षा दिने रेग्मीले जानकारी दिए।

प्रश्नपत्र छापिसकेपछि मुलुकभरका परीक्षा केन्द्रका लागि छुट्टाछुट्टै पोको बनाइन्छ। ती पोकालाई आवश्यकता अनुसार कोड नम्बर दिएर सम्बन्धित जिल्लामा पठाइन्छ। तर हरेक केन्द्रका लागि छुट्टाछुट्टै पोका बनाएपछि कोड भने एकै हुन्छ।

रेग्मीले भने, ‘एउटा जिल्लामा पचास वटा केन्द्र भएपनि पोको सानो भयो भने त्यसलाई तीस वटामा सिमित पार्न सकिन्छ। त्यस्तो अवस्थामा तीस वटा मात्र कोड नम्बर भए पुग्छ।’

प्रश्नपत्र पोको पारेपछि त्यहीबाट गाडीमा राखेर सम्बन्धित जिल्लाका सुरक्षा निकाय प्रमुखको कार्यालयमा लगिन्छ। जिल्लामा पनि जिल्ला परीक्षा समन्वय समिति र परीक्षा सञ्चालनका क्रममा सुरक्षा प्रदान गर्न जिल्ला सुरक्षा समिति हुन्छ।

त्यसपछि दुवै समितिको बैठक बसेर आवश्यकता अनुसार परीक्षा सञ्चालन हुने केन्द्रको नजिक रहेको प्रहरी कार्यालयमा प्रश्नपत्र लगिन्छ। सदरमुकामबाट धेरै टाढा रहेको केन्द्रमा एक दुई दिन अघि नै प्रश्नपत्र पुर्याइन्छ। नजिकको केन्द्र छ भने अघिल्लो दिन मात्र प्रश्नपत्र नजिकको प्रहरी कार्यालयमा लगिन्छ।

प्रहरी कार्यालयबाट परीक्षा सुरु हुने दिन परीक्षा केन्द्रसम्मको दूरी अनुसार एक घण्टा वा आधा घण्टा अघि मात्र प्रश्नपत्रको पोको लगिन्छ।

उक्त पोकोलाई पनि परीक्षा केन्द्राध्यक्ष र त्यहाँ खटिएका सुरक्षाकर्मी लगायतको रोहोबरमा केही मिनेट समयअघि मात्र खोलिन्छ। एकजना परीक्षा विज्ञ भन्छन्, ‘प्रश्नपत्र छपाइ हुने छापाखाना र केन्द्रसम्म पुर्‍याउँदासम्म सबैभन्दा जोखिम ठाउँ जिल्ला सदरमुकाम नै देखिन्छ। तर सत्यतथ्य नबुझी आरोप लगाउन मिलेन।’ अन्नपूर्णबाट ।

प्रकाशित मिति: १६ चैत्र २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्