राई परम्परा अनुसार हत्या भएको २७ दिनमा रमिला राईको वेतनामा दाहसंस्कार


 


विराटनगर, चैत्र १५ 
प्रेमीद्वारा हत्या गरिएकी २६ वर्षीया रमिला राईको २६ दिनमा कोशी ब्यारेजमा फेला परेको शवलाई बिहीबार २७ औं दिनमा मोरङको बेलाबारीस्थित वेतना सिमसार क्षेत्रमा अन्तिम संस्कार भएको छ ।
मोरङको बेलबारी ४ की राईको हराएको २७ दिनपछि अन्तिम संस्कार भएको हो । उनको बेतना सिमसार नजिकै देवीथान सामुदायिक वन क्षेत्र स्थित नीपैनीमा अन्तिम संस्कार भएको परिवारिक स्रोतले जनाएको छ ।

बेलबारीका व्यवसायी योगेन्द्र गुरुङले हत्या गरि सप्तकोशीमा फालेको २६ दिन पछि बुधबार प्रहरीले फेला पारेको हो । उनको शव धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिहीबार विहान पोष्टमार्टम गरिएको थियो ।

गत फागुन १७ गतेदेखि हराएकी रमिलाको खोजी गर्दा पनि नभेटिएपछि प्रहरीले योगेन्द्र गुरुङलाई पक्राउ गरेको थियो । पक्राउ परेका गुरुङले हत्या गरेर शव फालेको बताएका थिए । गुरुङ हाल थुनामा छन् ।
हत्या भएको २६ दिनपछि सेतो बोरामा हात खुट्टा बाँधिएको अवस्थामा राईको शव कोशी ब्यारेजबाट फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङ प्रहरी प्रमुख मनोज केसीले जानकारी दिए । राईको हत्या आरोपमा पक्राउ परेका बेलबारीका योगेन्द्र गुरुङको बयानका आधारमा उनको शव खोजी शुरु भएको २६ दिनपछि फेला परेको केसीले बताए ।
कोशी ब्यारेजको पश्चिमतर्फ सप्तरीको गोवरगाढा नजिक शव फेला परेको थियो । कोशी व्यारेजबाट करीब ३ सय मिटर दक्षिणमा फेला परेको शव तिनै हत्या भएर फालिएकी महिलाको भएको प्रहरीको दाबी छ । स्थानीयले नदीमा बोराभित्र गह्रुङ्गो सामान जस्तो देखेपछि प्रहरीलाई खबर गरेका थिए । डुङ्गाको सहयोगमा नदीबाट एक घण्टा समय लगाएर शवलाई किनारामा निकालिएको थियो । बोरा भित्रै हात खुट्टा बाँधिएको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: १५ चैत्र २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्