पूर्वमन्त्री साहसहित सात जनालाई जन्मकैद


 


जनकपुरधाम । जनकपुर बम काण्डमा पूर्वराज्यमन्त्री सजयकुमार साह (टक्ला) लाई जिल्ला अदालत धुनषाले जन्मकैदको फैसला सुनाएको छ । ६ वर्षअगाडि पाँच जनाको ज्यान जानेगरी भएको सो विस्फोटमा दोषी ठहर गर्दै उनीसहित सात जनालाई अदालतले जन्मकैदको सजाय सुनाएको हो ।

न्यायाधीश राजेशकुमार कटुवालको एकल इजलासले साहसहित सात जनालाई दोषी ठहर गरेको छ । उक्त घटनामा एक जनालाई पाँच वर्ष र एक जनालाई सफाइ दिइएको छ । जन्मकैदसहित १२ वर्ष सजाय पाउने हरूमा पूर्वराज्यमन्त्री साहसहित भूमिगत संगठनका मुकेश चौधरी, राजन मुक्ति भनिने रञ्जित झा, जयप्रकाश चौधरी, सुरेशकुमार कर्ण, मुकेश कर्ण र जितेन्द्र झा रहेका छन् ।

ओमप्रकाश यादवलाई पाँच वर्षको कैद तोकिएको छ, भने सुजितकुमार पाण्डेले सफाइ पाएका छन् । साह ६ वर्षदेखि पुर्पक्षका लागि कारागारमा रहेका छन् । अभियुक्तहरूमाथि ज्यान मार्ने र ज्यान मार्ने उद्योगका दुई मुद्दा परेका थिए । ती मुद्दाहरूमा फैसला गर्दै अदालतले ज्यान मार्नेमा जन्मकैद र ज्यान मार्ने उद्योगमा १२ वर्षको कैद सजाय तोकेको अदालतका स्रेस्तेदार राधाकान्त झाले जानकारी दिए ।

मिथिला राज्यको माग गर्दै मिथिला राज्य संघर्ष समितिले जनकपुरको रामानन्द चोकमा धर्ना बसेको वेला ०६९ साल वैशाख १८ गते बम विस्फोट हुँदा पाँच जनाको ज्यान गएको थियो । उक्त बम विस्फोटमा परी रंगकर्मी रञ्जु झा, झंगरु मण्डल, विमलशरण दास, सुरेश उपाध्याय र दीपेन्द्र दासको ज्यान गएको थियो । दुई दर्जनभन्दा बढी घाइते भएका थिए ।

प्रहरीले सुरुमै उनको संलग्नताको आंकलन गरे पनि पर्याप्त प्रमाण नभेटाउँदा पक्राउ गर्न सकेको थिएन । तर, बमकाण्डका मुख्य नाइके मुकेश चौधरी पक्राउ परेपछि उनको बयानका आधारमा टक्लालाई प्रहरीले पक्राउ गरेको थियो । उनीमाथि विभिन्न आपराधिक मुद्दाहरू अहिले पनि अदालतमा विचाराधीन रहेका छन् । अदालत स्रोतका अनुसार उनका अन्य आपराधिक मुद्दाहरूमा आउँदो वैशाखको पहिलो सातादेखि सुरु हुने बताइएको छ । यो मुद्दामा भने उनलाई उच्च अदालत जान पाउने बाटो जिल्ला अदालतले खोलिदिएको छ ।

जनकपुरको रामानन्द चोकमा भएको बम काण्डमा परी पाँच जनाको हत्या तथा करिब ४० जना घाइते भएका मुद्दा र जनकपुरका सञ्चार उद्यमी अरुणकुमार सिंघानियाको हत्या गरेको अभियोगमा साह अहिले काठमाडौंस्थित कारागारमा मुद्दाको पुर्पक्षका लागि थुनामा रहेका छन् । यसका अतिरिक्त हातहतियार तथा खरखजाना र केही सार्वजनिक अपराध मुद्दामा २१ महिनाको कैद सजायसमेत भुक्तान गरिसकेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साहमाथि साढे २१ करोड रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दर्ता गरेको छ । त्यसैगरी, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पनि साहको सम्पत्ति विषयमा अनुसन्धान गरिरहेको अवस्था छ । सांसद र मन्त्री हुँदा शक्तिको आडमा उनले धेरै आपराधिक क्रियाकलाप गरेको प्रहरीले बताउँदै आएको छ । ०६४ साल चैत्र २८ मा सम्पन्न भएको संविधानसभाको पहिलो निर्वाचनमा धनुषाको क्षेत्र नं. ४ बाट सञ्जय साह पहिलोपटक निर्वाचित भएका थिए ।

जनकपुरमा ‘डन’ को छवि बनाएका साहले सभासद्मा निर्वाचित भएपछि स्वचालित बन्दुकबाट तीन राउन्ड फायर गर्दै खुसी मनाएका थिए । विद्यार्थी जीवनबाटै ‘डन’ का रूपमा परिचित उनलाई जनकपुरतिर ‘सञ्जय टकला’ उपनामसमेतले चिनिन्छन् । ठेक्कापट्टाबाट मनग्य कमाएका उनी पैसा भएकै कारण टिकट किनेर संविधानसभा निर्वाचनको केही दिनअघि मात्र फोरममा प्रवेश गरेका थिए ।

मधेसी जनअधिकार फोरम नेपालको टिकट पाएर प्रत्यक्ष निर्वाचनमा सञ्जयकुमार साहले १३ हजार ४ सय २२ मत ल्याएर निर्वाचित भएका थिए । उक्त निर्वाचनमा साहले नेकपा एमालेका नेता रघुवीर महासेठलाई पराजित गरेका थिए । महासेठले ९ हजार २ सय ८२ मत मात्र प्राप्त गर्न सकेका थिए । त्यसैगरी, ०७० सालमा सम्पन्न भएको दोस्रो संविधानसभाको निर्वाचनमा धनुषाको क्षेत्र नं. ४ बाट सञ्जयकुमार साहले १२ हजार ६ सय ६६ मत ल्याएर दोस्रोपटक निर्वाचित भएका थिए ।

सद्भावना पार्टीको वरिष्ठ उपाध्यक्षसमेत रहेका साह निर्वाचित भएका थिए । साहले नेपाली कांग्रेसका धनुषा सभापति तथा पूर्वसभासद् रामसरोज यादवलाई पराजित गरेका थिए । साह नै त्यस्तो नेता बन्न सफल भए जो कि, जनकपुर क्षेत्रमा लगातार दुईपटक निर्वाचन जित्न सफल भएका थिए । त्यस अघिसम्म जनकपुरमा कुनै पनि नेताले लगातार दुई पटकसम्म चुनाव जित्न सकेका थिएनन् ।

प्रकाशित मिति: १५ चैत्र २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्