नेपालकै कान्छी उपमेयर शिवकुमारी राष्ट्रिय विकास परिषदको सदस्यमा नियुक्त


 


कपिलवस्तु- नेपालकै कान्छी उपमेयर शिवकुमारी चौधरी(थारु) नेपाल सरकारको राष्ट्रिय विकास परिषदको सदस्यमा नियुक्त भएकी छन् ।

नेपाल सरकारको मन्त्री परिषदको चैत ११ गतेको निर्णयानुसार चौधरीलाई राष्ट्रिय बिवकास परिषदको सदस्यमा नियुक्त गरिएको हो । राष्ट्रिय योजना आयोग (गठन तथा कार्य सञ्चालन) आदेश, २०७४ को दफा ७ को उपदफा २(ञ) बमोजिम चौधरी (थारु) लाई राष्ट्रिय विकास परिषदको सदस्यमा नियुक्त गरिएको आयोगका सदस्य सचिव लक्ष्मण अर्यालद्वारा हस्तक्षरित पत्रमा उल्लेख छ ।


आगामी आर्थिक वर्ष २०७६–७७ देखि कार्यान्वयनमा ल्याउने गरी आयोगबाट तयार गरिएको पन्ध्रौं योजना २०७५–७६ देखि २०८०–८१ को राष्ट्रिय विकास परिषदमा छलफल गरी मार्ग तथा पृष्ठपोषण प्राप्त गर्न नेपाल सरकार, मन्त्री परिषदको निर्णयले थारुलाई राष्ट्रिय विकास परिषद २०७५ को सदस्यमा नियुक्त गरिएको बताइएको छ । चौधरी कपिलवस्तुको शिवराज नगरपालिकाको उपमेयर हुन् । शिवराज नगरपालिकाको- १, शिवपुर बस्ने थारु नेपालकै कान्छी उपमेयरमा पर्छिन् । सदस्यमा नियुक्त भएसँगै अझ हौसला थपिएको उपमेयर चौधरी बताउँछिन् । उपप्रमुख थारुले समृद्ध नगर बनाउन आफूले योजना अघि सार्ने प्रतिबद्धता जाहेर गरेकी छन् ।

हालै उनी नेदरल्याण्ड, डेनमार्क र स्वीडेनको भ्रमणबाट फर्किएकी छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत उनी १४ दिने वैदेशिक भ्रमणमा गएकी थिइन् । त्यहाँको स्थानीय सरकारसँग विकास, सुशासन लगायतका सवालमा अध्ययन अवलोकनका लागि उनी वैदेशिक भ्रमणको अवसर पाएकी हुन् । उनीसँगै बेलबारी नगरपालिका मोरङकी उपमेयर ढाका कुमारी पराजुली, हुम्ला जिल्ला अदनचुली गाउँपालिका अध्यक्षदाल फदेरा, चंखेली गाउँपालिका अध्यक्ष धनलाल चौलागाईं र सिन्धुपाल्चोक जिल्ला जुगल गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठसहित विभिन्न मन्त्रालयका उपसचिव, सहसचिव सहित १३ जनाको टोली त्यहाँ गएको बताइएको छ ।

प्रकाशित मिति: १४ चैत्र २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्