अब पार्टी भित्र गुट उपगुट चल्दैन : प्रम ओली


 


काठमाडौं चैत १४
प्रधानमन्त्री एवं नेपाल कम्यूष्टि पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी भित्र गुट उपगुट नचल्ने बताएका छन । प्रधानमन्त्री ओलीले नेकपाको ३ नं प्रदेश कमिटीका पदाधिकारीहरुको सपथ ग्रहण तथा प्रथम बैठकलाई आज सम्बोधन गदै सो कुरा बताएका हुन ।

प्रधानमन्त्री ओलीले नेतृत्वले कसैलाई पनि काखा र पाखा नगर्ने स्पष्ट पारे । ‘दुई पार्टीको एकताको अर्थ यो हो कि हामीमा गुट उपगुट छैनन’ प्रधानमन्त्री ओलीले भने, ‘हामी बैचारिक रुपमा स्पष्ट र सांगठनिक रुपमा बलियो पार्टी हौं । त्यसैले यहाँ अन्तकुन्तरबाट गुट सञ्चालन गरेर पार्टीलाई कमजोर र कार्यकर्तालाई अन्यौल पार्ने काम कसैले पनि गर्नु हुदैन । पार्टी कमजोर हुँदा नेताहरु कोही जेलमा थियौं ,कोही भूमिगत अवस्थामा थियौं तर सवल हुँदा हामी सरकारमा छौं । त्यसकारण पार्टीलाई एकतावद्ध बनाएर लैजानु पर्दछ ।’

प्रधानमन्त्री ओलीले नेकपाको एकता भवितव्य नभएको बताउनुभएको छ । लामो बहस,छलफल र देशप्रतिको जिम्मेवारीका कारण पार्टी एकता सम्भव भएको प्रधानमन्त्री ओलीको भनाइ छ । ‘नेकपा भवितव्य भएर ठुलो पार्टी भएको होइन, पानी बर्षे जसरी बहुमत बर्षेको होइन’ प्रधानमन्त्री ओलीले भने, ‘यसमा जनताको विश्वास,पार्टीको दृष्टिकोण र देश बनाउने प्रतिवद्धतालाई जनताले अनुमोदन गरेका हुन् ।’

वर्तमान सरकारलाई कम्यूनिष्ट नेतृत्वको मात्र नभइ कम्यूनिष्ट पार्टीको सरकार भएको प्रधानमन्त्री ओलीको भनाइ छ । ‘विगतमा हामीले कम्यूनिष्ट नेतृत्वको सरकार मात्र बनाउन सक्यौं तर अहिले नेतत्व मात्र होइन सरकार नै कम्यूनिष्ट पार्टीको छ । त्यस कारण हामीले चुनावमा गरेको प्रतिवद्धता अनुसार जनताको पक्षमा काम गर्छौं ।’

प्रधानमन्त्री ओलीले पार्टी एकताका कारण कतिपय क्षमतावान कार्यकर्ताहरुले जिम्मेवारी नपाए पनि धैर्य गर्न सुझाव दिए । ‘पार्टी एकताका कारण कतिपय सक्षम नेता कार्यकर्ताहरुलाई पनि जिम्मेवारी दिन सकिएको छैन’ प्रधानमन्त्री ओलीले भने, ‘पानीले आफ्नो आकार आफैं ग्रहण गरे जस्तै सक्षम कार्यकर्ताहरुले पार्टीमा आफैं स्थान आफैं बनाउनुहुनेछ । निराश नहुनुहोस । कामलाई निरन्तरता दिनुहोस ।’ प्रधानमन्त्री ओलीले पार्टी एकताको काममा केही ढिलाइ भए पनि अब प्रतिक्षाको घडी सकिएको बताए । ‘पार्टी एकताका लागि केही बिलम्ब भएकै हो’ प्रधानमन्त्री ओलीले भने, ‘तर अब प्रतिक्षाको घडी सकिएको छ । चाँडै तल्ला तहका कमिटीको एकताले पनि पूर्णता पाउनेछ ।’

प्रकाशित मिति: १४ चैत्र २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्