छुट्टाछुट्टै स्थानमा परेको चट्याङ लागेर इलाममा तीन जना घाइते


 


नरेन इलामेली १३ चैत्र इलाम
इलाममा मंगलबार छुट्टाछुट्टै स्थानमा परेको चट्याङले लागेर तीन जना घाइते भएका छन् । मंगलबार विहान सदरमुकाम स्थित इलाम नगरपालिका ६ गढीमा परेको चट्याङले लागेर बर्ष ४१ का बमबहादुर लिम्बू र ३३ बर्षिय दिनेश गुरुङ घाइते भएका छन । हावाहुरी र पानीसहित परेको चट्याङले लागेर लिम्बूको दाहिने पाता र पेट जलेको छ ।

लिम्बूलाई जिल्ला अस्पताल इलाममा सामान्य उपचार पछि थप उपचारका लागि झापाको विर्तामोड स्थित वि एण्ड सी अस्पताल पठाएइको छ भने गुरुङ जिल्ला अस्पताल इलाममा सामान्य उपचार पछि घर फर्किएका छन् । हाल दुबैको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

उता जिल्लाको फाकफोकथुम गाउँपालिका ३ रातमाटे स्थित रणबहादुर लिम्बूको घरमा चट्याङ पर्दा करिब २ लाख १५ हजार बराबरको क्षति भएको छ । हावाहुरी सहित परेको चट्याङ लागेर लिम्बूको घरमा आगलागी हुँदा लिम्बूको एक तले घर र घरभित्र रहेको अन्नपात, लत्ताकपडा, टेलिभिजन र नगद ३० हजार समेत जलेर नष्ट हुँदा सो बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

मंगलबार नै परेको चट्याङले जिल्लाको देउमाई नगरपालिका ९ लिङदिनमा अन्दाजी ७० हजार बराबरको क्षति भएको छ । विहान करिब साढे ८ बजेतिर परेको चट्याङले लागेर त्रिभूवन आधारभूत विद्यालयमा रहेको चार थान विद्युत मिटर बक्स , तीन थान सवामिटर, चार थान विद्युतिय बोर्ड , विद्युत वायरिङ र एक हजार ५ सय मिटर कालो तार समेत जल्दा सो बराबरको क्षति भएको हो ।

उता सूर्योदय नगरपालिका १० आहालेमा आफ्नै घर नजिकै रहेको विद्युत ट्रान्सफर्मरमा चट्याङ पर्दा चट्याङको झट्का लागेर अन्दाजी बर्ष ४४ की छत्रमाया बुढाथोकी घाइते भएकी छिन । घाइते बुढाथोकीको फिक्कल हस्पिटलमा सामान्य उपचार पश्चात थप उपचारका लागि झापाको विर्तामोड स्थित विर्तासिटी अस्पताल पठाइएको छ । हााल बुढाथोकीको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

प्रकाशित मिति: १३ चैत्र २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्