एसइई प्रभावित हुने भएपछि विप्लव समूहको बन्दको सामाजिक सञ्जालमा विरोध


 


काठमाण्डौ । माध्यमिक शिक्षा परीक्षा एसईई आइतबारदेखि भईरहेको छ । २१ गतेसम्म चल्ने परीक्षामा देशभरबाट ४ लाख ७५ हजार ३ परीक्षार्थी सहभागी भएकामा नियमिततर्फ ४ लाख ५० हजार १ सय ८६ र एक्जाम्टेड तथा प्राविधिकतर्फ २४ हजार ८ सय १७ विद्यार्थीले परीक्षा दिइरहेका छन् ।

तर परीक्षाकै बीचमा नेत्रविक्रम चन्द विप्लव समूहले बन्दको आह्वान गर्दा परीक्षा नै प्रभावित हुने चिन्तामा विद्यार्थीहरु परेका छन् । विप्लव नेतृत्वको नेकपाले १६ गते शनिबारका दिन नेपाल बन्दको आह्वान गरेको छ । आफ्नो पार्टीलाई लगाएको प्रतिबन्ध फिर्ता हुनुपर्ने र पक्राउ परेका नेता कार्यकर्ता रिहाईको माग गर्दै उसले १६ गते बन्द आह्वान गरेको हो ।

विप्लव समूहले जारी गरेको विज्ञप्तिमा कक्षा १० का विद्यार्थीको एसईई परीक्षालाई बाधा नपरोस् भनेर शनिबारका लागि बन्द आह्वान गरिएको भनिएको भए पनि शनिबारका दिन समेत एसईई परीक्षा छ ।

शनिबार अनिवार्य स्वास्थ्य, जनसंख्या तथा वातावरण शिक्षा, वेद विद्याश्रमतर्फ कर्मकाण्डरफलित ज्योतिष, संस्कृततर्फ अनिवार्य संस्कृत भाषा र प्राविधिक तर्फको पनि परीक्षा तोकिएको छ ।

शनिबार परीक्षा हुँदैन भन्ने ठान्दा विप्लव समूह झुक्किन पुगेको छ । विज्ञप्तिमा नै एसईई परीक्षालाई बाधा नपार्ने भनेकाले शनिबार पनि परीक्षा परेको हुँदा विप्लव समूहको बन्दको सामाजिक सञ्जालमा विरोध हुन थालेको छ । बन्दले विद्यार्थीको परीक्षा प्रभावित हुने भन्दै बन्द फिर्ता लिन माग गरिएको छ ।

प्रकाशित मिति: १२ चैत्र २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्