अमेरिकामा प्रचण्डले कसलाई भेटे ?


 


काठमाडौं । सत्तारुढ नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अमेरिका प्रस्थान गरेको नवौं दिन सोमबार अमेरिकाका दक्षिण र मध्य एशिया मामिला हेर्ने प्रमुख उपसहायक विदेशमन्त्री (प्रिन्सिपल डेपुटी असिस्टेन्ट सेक्रेटरी, ब्यूरो अफ साउथ एण्ड सेन्ट्रल एशियन अफेयर्स) एलाइस जी वेल्सलाई भेटेका छन् ।

अमेरिकी विदेश मन्त्रालयले वेल्सको पद माथि उल्लेख गरिए झैं दिएको छ । तर, प्रचण्डका तर्फबाट सोमबार बेलुका उनकी पुत्री गंगा दाहालले सामाजिक सञ्जालमा राखेको पदमा भने उनै वेल्सलाई एक्टिङ असिस्टेन्ट सेक्रेटरी ब्यूरो अफ साउथ एण्ड सेन्ट्रल एशिया अफेयर्स (दक्षिण र मध्य एशिया मामिला हेर्ने कार्यवाहक सहायक विदेशमन्त्री) भनेर प्रस्तुत गरिएको छ । सोही व्यहोरा प्रचण्डको आधिकारिक वेबसाइट सीएम प्रचण्डमा पनि सोमबार राति नै राखिएको थियो ।

उनीहरुबीच के कुराकानी भयो भन्ने बारेमा भने केही पनि खोलिएको छैन । प्रचण्ड आज अमेरिकाबाट स्वदेश फर्कने कार्यक्रम छ । उनी बिहीबार मात्रै स्वदेश आइपुग्ने जनाइएको छ ।

प्रकाशित मिति: १२ चैत्र २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्