एसइई परीक्षा शुरु, करिश्माको एसइई घरमै


 


धनगढी, ११ चैत 
यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) आइतबारबाट शुरु भएको छ । पहिलो दिन अंग्रेजी विषयको परीक्षा दिइएको छ ।
सुदूरपश्चिम प्रदेशको नौ वटै जिल्लाबाट नियमिततर्फ ४८ हजार ५५१ परीक्षार्थीले पहिलो दिन परीक्षा दिएका छन् । जम्मा ५४ हजार २७० जना विद्यार्थीले फाराम भरेकोमा ८६८ जना अनुपस्थित भएको जनाइएको छ ।

कैलालीमा पहिलो दिन नियमिततर्फ १५ हजार १२ जना परीक्षार्थीले परीक्षा दिएका छन् । जिल्ला शिक्षा विकास तथा समन्वय इकाई कैलालीका अनुसार नियमिततर्फ प्राविधिक धारसमेतका गरी सात हजार ६८० छात्र र आठ हजार १३२ जना छात्राले परीक्षा दिएका छन् । ग्रेड बृद्धिका लागि २२१ छात्रा र ७३ जना छात्र गरी २९४ जनाले परीक्षा दिएका छन् ।
अंग्रेजी विषयको परीक्षामा ८८ जना छात्र र १०६ छात्रा गरी नियमिततर्फ १९४ जना परीक्षार्थी अनुपस्थित भएको जिल्ला शिक्षा विकास तथा समन्वय इकाई प्रमुख विष्णुदत्त भट्टले जानकारी दिए । उनले जिल्लाभरी सौहार्दपूर्ण वातावरणमा पहिलो दिनको परीक्षा सञ्चालन भएको बताए । कैलालीमा ग्रेड बृद्धिका लागि एउटा र ५२ नियमित गरी ५३ वटा परीक्षा केन्द्र रहेको छ ।

यसैबीच, बैतडीका सबै ठाउँमा परीक्षा केन्द्र मार्फत धमाधम माध्यमिक शिक्षा परीक्षा (एसइई) सञ्चालन भईरहेका बेला देहीमाण्डौंकी एक छात्राले घरबाटै एसइई परीक्षा दिन थालेकी छिन् ।

अपांगता भएका कारण केन्द्र सम्म पुग्न नसक्ने भएकाले करिश्मा बोहराका लागि घरबाटै एसइई परीक्षा दिने व्यवस्था मिलाइएको हो । करिश्माको मणिलेक मावि गुरुखोलामा केन्द्र भएको भएपनि उनी जान नसक्ने भएपछि घरबाटै परीक्षा दिने व्यवस्था मिलाइएको शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख नरेन्द्रप्रसाद अवस्थीले बताए । करिश्माको परीक्षाको लागी एक जना निरीक्षक र एक जना सुरक्षाकर्मीको व्यवस्था गरीएको इकाइ प्रमुख अवस्थीले बताए । आफूले घरमै पढ्न पाएको र घरबाटै परीक्षा दिन पाउँदा खुसी लागेको करीश्माले बताइन् । देहीमाण्डौं पूर्णबहादुर बोहरा र देवकी बोहरा चार सन्तान मध्ये दुई छोरी र एक छोरा अपांगता भएका छन् । छोरीहरु ठूली भईसकेकाले बोकेर विद्यालय लैजान नसक्दा घरमै राख्नुपर्ने अवस्था रहेको थियो । यो बर्षदेखि शिक्षा विकास तथा समन्वय इकाइ, दशरथचन्द नगरपालिका र दशरथचन्द नगरपालिका वडा नं २ को कार्यालयको सहयोगमा घरमै शिक्षकको व्यवस्था गरेर उनीहरुको पठनपाठनमा पहुँच पु¥याइएको छ ।

यस्तै सुर्नया गाउँपालिका स्थीत केदार मावी कठमडामा अध्ययनरत छात्रा दिपा बोहराले सहयोगी मार्फत परीक्षा दिएकी छिन् । दृष्टीबिहीन र शारीरीक अपाङगता भएकी दिपाको कक्षा ९ मा अध्ययनरत सुमीत्रा साउँदले परीक्षा सहयोगी भएर परीक्षा दिएकी हुन् । रौलेश्वर माविमा परीक्षा केन्द्र रहेकी दिपाले परीक्षामा लेख्न नसक्ने भएकोले यो व्यवस्था गरिएको शिक्षा विकास तथा समन्वय इकाइ बैतडीले जनाएको छ ।

इकाइ प्रमुखलाई कालोमोसो
डोटीको शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख अनन्तकुमार पौड्याललाई अभद्र व्यवहार गरिएको छ । नेपाल विद्यार्थी संघमा आवद्ध विद्यार्थी नेता–कार्यकर्ताहरुले आइतवार दिउँसो डेढ बजेतिर पौड्यालको कार्यकक्षमै गएर अभद्र व्यवहार गर्दै कालोमोसो लगाएका हुन् ।
विद्यालय शिक्षा परीक्षा (एसइई) को अनुगमन गरी दिउँसो कार्यकक्षमा फर्किएका पौड्याललाई १०–१२ जनाको एक समूहले कालोमोसो दलेको हो । उनीहरु प्लाष्टिकको झोलामा कालोमोसो बोकेर आएका बताइएको छ । कालोमोसो दलेपछि नेपाल विद्यार्थी संघका कार्यकर्ताले प्रेस विज्ञप्ति जारी गर्दै पौड्यालले अनियमिता गरेकोले कालोमोसो दलिएको जनाएका छन् ।

विद्यालयका भवन निर्माण, मर्मत र शौचालय निर्माणका योजना बाँड्दा पौड्यालले कुल बजेटको १० प्रतिशत कमिसन खाएर मात्रै बाँडने गरेको, विद्यालयको अधिकार क्षेत्र मिचेर करार शिक्षकहरु नियुक्त गर्ने गरेको, करार शिक्षक नियुक्त गर्दा कमिसन खाएर प्रश्नपत्रसमेत आउट गर्ने गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ ।
यस्तै अस्थायी, करार शिक्षकहरुको म्याद थप गर्दा उठेको राजश्व अनियमित खर्च गर्ने गरेको, बढुवा हुने शिक्षक संख्या लुकाएको र विद्यालय शिक्षा परीक्षाका लागि केन्द्राध्यक्ष छनौट गर्दा योग्यता क्षमताको आधारमा नगरी राजनीतिक कोटाका आधारमा छनौट गरेको आरोप लगाइएको छ ।
नेविसंघका पूर्वआमन्त्रित केन्द्रीय सदस्य बिजयराज ओझालगायतले हस्ताक्षर गरेको उक्त विज्ञप्तिमा पौड्यालले कमिसनको रकम चन्द्रामाया कोइराला र अरुण पौड्यालको नाममा रहेको बैङ्क खातामा जम्मा गराउन लगाउने गरेको आरोप लगाइएको छ ।
विज्ञप्तिसंगै पौड्यालले आफ्नो मोबाइलबाट पठाएको म्यासेजसमेत टाँस गरिएको छ । यस्तै विदाको दिनमा सरकारी गाडीको दुरुपयोग गर्ने गरेको र शिक्षा क्षेत्रमा समस्याको समाधान भन्दा पनि राजनीतिक पूर्वाग्रही भएर काम गर्ने गरेको विज्ञप्तीमार्फत आरोप लगाइएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘यस विषयमा डोटीका प्रमुख जिल्ला अधिकारी यादव सुदेवीलाई पटक–पटक जानकारी गराउँदासमेत कुनै सुनुवाइ नभएकाले भ्रष्टाचारको जालो चारैतिर फैलिएको कुरा प्रष्ट छ ।’ कार्यालयमा भइरहेको अनियमितता छानविन गरी दोषीमाथि कारवाही गर्न दवाव दिन विज्ञप्तिमा सरोकारवाला सबैलाई आग्रह गरिएको छ ।

प्रकाशित मिति: ११ चैत्र २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्