छोरीसरह विवाह गरेर पठाएकी पूर्वबुहारीसँग अंश मागेर मुद्दा


 


काठमाडौं ११ चैत

नेकपा सांसद एवं संघीय संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति पूर्णाकुमारी सुवेदीले छोराको निधनपछि एक्लो जीवन बिताउँदै आएकी बुहारी मालती शर्माको छोरीसरह आफ्नै घरबाट अन्माएर अर्को विवाह गरिदिइन् ।

उनको यो नमुना कर्मको सबैतिर सकारात्मक चर्चा मात्र भएन, धेरैले प्रशंसा पनि गरे । पति अच्युतराजको ०७२ वैशाख १२ गतेको भूकम्पमा परी गम्भीर घाइते भएकामा उपचारका क्रममा भारतमा निधन भएपछि मालती विक्षिप्तजस्तै थिइन् । अच्युत सुवेदीका जेठा छोरा हुन् । गृहजिल्ला बाँकेमै रहेर निर्माण व्यवसायमा सक्रिय अच्युत कामको सिलसिलामा काठमाण्डु आएका बेला कलंकीको एक गेष्ट हाउसमा बसेका थिए । त्यही बेला भूकम्प आयो । उनी बसेको गेष्ट हाउस भत्कियो । गेष्ट हाउसको भग्नावशेषमा परेर गम्भीर घाइते उनको उपचारका लागि परिवारले हरसम्भव प्रयास ग¥यो । यो खबर काठमाण्डु टुडेमा छ
अन्ततः उनको दिल्लीमा उपचारकै सिलसिलामा निधन भयो । श्रीमानको निधनपछि एक्लो महसुस गरिरहेकी मालतीले केही समयपछि अच्युतको व्यवसाय सम्हाल्न थालिन् । त्यहीबीच सासु÷ससुराले नै उनको विवाह गरिदिने कुरा गरे । मालती आफैंले केटा खोजिन् । सुवेदी परिवारले परम्पराअनुसार घरमै टीकाटाला गरेर मालतीले मन पराएका नेपालगञ्जका सुधीर गौतमलाई उनको जिम्मा लगायो । अच्युतराजतिरका दुई नाबालक छोरा (बेदान्त र सिद्धान्त) छन् । उनीहरु काठमाण्डुमा हजुरआमा (पूर्णा) सँगै बसेर पढिरहेका छन् । नेपालगञ्जलाई कर्मथलो बनाएर निर्माण व्यवसायमा सक्रिय मालती काठमाण्डु आउँदा छोराहरुसँगै सासुको डेरामा बस्छिन् ।

सुवेदी परिवारले माग्यो मालतीसँग अंश
पूर्णकुमारीका दुई छोरा हुन्, जेठा अच्युत र कान्छा सुरेन्द्र । सुरेन्द्र खासै केही काम गर्दैनन् । अच्युतले निर्माण व्यवसायबाट राम्रै आम्दानी गरिरहेका थिए । उनकै कमाइमा रमाएको थियो सुवेदी परिवार । बुहारीलाई छोरीका रुपमा अन्माएर पठाएको सुवेदी परिवारमा अहिले भने किचलो मच्चिएको छ । मालतीको विवाह गर्दा उनीहरुबीच अर्को विवाह गरे पनि पूरानो पारिवारिक सम्बन्ध कायमै रहने सहमति थियो । तर, केही महिनामै सहमति तोडियो सुवेदी परिवारका तर्फबाट । कारण हो, अंशमुद्दा । पूर्णका कान्छा छोरा सुरेन्द्रले पूर्वभाउजु (मालती) विरुद्ध बाँके जिल्ला अदालतमा अंश मुद्दा दायर गरेका छन् । आफूविरुद्ध मुद्दा दायर भएपछि मालती तनावमा छिन् । दिवंगत दाजुका दुई सन्तानको भरणपोषण र दिक्षादिक्षा आफूहरुले गरिरहेकाले त्यसका लागि मालतीले अंश दिनुपर्ने दाबी रिट निवेदक सुरेन्द्रको छ । स्रोतका अनुसार सांसद सुवेदीले नै मालतीविरुद्ध मुद्दा दायर गर्न लगाएकी छन् । मालती भने छोराहरुको भरणपोषण र शिक्षाको जिम्मेवारी आफैं लिने तर, अंशका नाममा आफ्नो स्वामित्वमा भएको सम्पत्ति पूर्वपतिका परिवारलाई नदिने अडानमा छिन् उनी ।

प्रकाशित मिति: ११ चैत्र २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्