विदेशमा नेपाली रोजगारको भर : खाडीका साउदी, यूएई र कतार


 


काठमाण्डौं चैत ११
द्विपक्षीय श्रम समझदारीपछि पनि मलेसियाको रोजगारी नखुल्दा खाडीका तीन राष्ट्र नेपाली कामदारको प्रमुख रोजगार गन्तव्य बन्न पुगेका छन् । गत फागुन महिनामा संस्थागतरुपमा गएका १७ हजार ८ सय ७५ जना नेपाली कामदार मध्ये खाडी अन्तरर्गत पर्ने कतार, साउदी अरब र यूएईमा मात्र १६ हजार बढी नेपाली रोजगारीका लागि पुगेका छन् ।

यो संख्या गतवर्ष फागुनको तुलनामा करीव ३३ प्रतिशतले कमी हो । गतवर्ष फागुन महिनामा २६ हजार ४ सय १ जना नेपाली संस्थागत रुपमा प्रक्रिया पुरागरी नेपाली कामदार बैदेशिक रोजगारीमा गएका थिए ।

कतार विगत केही महिनायता नेपाली कामदारको पहिलो रुचीको मुलुक बनिरहेको छ । बैदेशिक रोजगार विभागले तयार पारेको तथ्याङ्कका आधारमा गत फागुन महिनामा संस्थागत रुपमा गएका १७ हजार ८ सय ७५ जना नेपाली मध्ये कतार जानेको संख्या ६ हजार १ सय रहेको छ ।
विभागको तथ्याङ्कअनुसार दोश्रो स्थानमा रहेको साउदी अरबमा ५ हजार ७२ जना र तेश्रो स्थानमा रहेको यूएईमा ४ हजार ८ सय ३७ जना गएका छन् ।

गत फागुन महिनामा बहराइनमा ३ सय ८८ जना, कुवेतमा ७ सय ९३ जना, साइप्रसमा १४ जना, अफगानिस्तानमा ४१ जना, टर्कीमा ४० जना गएका छन् भने म्यानपावर व्यवसायी वीच बढी रकम लिएर कामदार पठाइने भनी चर्चामा रहने पोल्याण्डमा ६२ जना गएका छन् । त्यस्तै ओमनमा १ सय ७९ जना, जोर्डनमा १ सय ३३ जना, मकाउ ३३ जना गएका छन् ।

त्यस्तै फागुनमै जापानमा १४ जना, लेवनानमा एक, मकाउमा ३३ जना , माल्टामा ८ जना रोमानियामा ९जना, रसियामा २७ जना र पानामामा एक जना गएका छन् ।

संस्थागत, रिइन्ट्री, व्यक्तिगत, नयाँ र वैधानिकिकरण गरी फागुनमा कुल ४४ हजार ६ सय ८८ जना नेपाली रोजगारी खोज्दै वाहिरिएका छन् । रिइन्ट्रीमार्फत फागुन महिनामा २४ हजार ६ सय १२ जना वाहिरिएका छन् । त्यसमध्ये सबैभन्दा बढी कतारमा ७ हजार ५ सय १२ जना, दोश्रोमा रहेको साउदी अरबमा ६ हजार २४ जना, यूएईमा ५ हजार ३ सय १५ जना, मलेसियामा २ हजार ९ सय ४३ जना र जापानमा ३ सय ५६ जना गएका छन् ।

व्यक्तिगत तर्फ माल्टामा सबै भन्दाबढी १ सय २ जना र कतारमा १ सय ३३ जना गएका छन् । वैधानिकीकरण भई जाने मुलुुकको अग्रपंक्तिमा यूएई रहेको छ । फागनुमा उक्त मुलुकमा ६ सय ३३ जना बैधानिकीकरणको प्रक्रिया पुरा गरेर गएका छन् । फागुनमा बैधानिकीकरणको प्रक्रिया पुरा गरेर १ सय २८ जना अफगानिस्तान, ३ सय ५९ जना कतार र ५६ जना मलेसिया गएका छन् ।

फागुन महिनामा २९ हजार १ सय ३४ जनाको मात्र पूर्व स्वीकृति भएको छ । सरकारले बैदेशिक रोजगार डिमाण्ड प्रमाणीकरण निर्देशिकामार्फत कडाई गरेपछि नेपाल आउने डिमाण्डको संख्यामा कमी देखिएको छ । उक्त निर्देशिका लागु हुनु अघि प्रत्येक महिना करीव एक लाखको संख्यामा कामदारको डिमाण्ड आउने गरेको थियो ।

प्रकाशित मिति: ११ चैत्र २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्