नेपाल भित्रिन लागेको ठूलो परिमाणको विस्फोटक पदार्थ बरामद


 


काठमाडौं । नेपालमा हिंसात्मक गतिविधि गरिरहेको नेत्र विक्रम चन्द विप्लव समूहको नेकपाले छिमेकी भारतबाट हतियार नेपाल भित्र्याउने गरेको संकेत पाइएको छ ।

सोमबार भारतीय सञ्चार माध्यममा जनाइएअनुसार भारतीय प्रहरीले हतियारसहित एक नेपाली युवकलाई सीमा क्षेत्रमा पक्राउ गर्नुले यो संकेत आएको हो । तर, पक्राउ परेका व्यक्ति कुन समूहमा रहेका थिए भन्ने खुलिसकेको छैन ।

भारतको पश्चिम बंगालमा ठूलो परिमाणको हतियारसहित ती नेपाली नागरिक पक्राउ परेका हुन् । उनी गएको शनिबार नेपाल छिर्ने क्रममा विस्फोटक पदार्थ सहित पक्राउ परेको युनाइटेड न्यूज अफ इण्डिया (युएनआई) ले जनाएको छ । सिलगुढीमा पक्राउ परेका ती व्यक्तिको नाम चरण रोका भएको समाचारमा जनाइएको छ । २६ वर्षिय ती नेपालीलाई भारतको सीमा सुरक्षा बल (एसएसबी)ले पक्राउ गरेको हो ।

उनको साथबाट बिस्फोटक सामग्री समेत बरामद भएको जनाइएको छ । उनले गन पाउडर, इलेक्ट्रिकल डिटोनेटर र अन्य बम बनाउने रासायनिक सामग्री समेत बोकेका थिए । उनलाई सशस्त्र सीमा बलका जवानले पेट्रोलिङका क्रममा समातेको समाचारमा जनाइएको छ ।

उनको घर म्याग्दी जिल्लाको रुमा गाउँमा भएको समाचारमा उल्लेख छ । सो विस्फोटक पदार्थ लिएर उनी नेपाल छिर्ने प्रयासमा थिए । प्रहरीका अनुसार उनको साथबाट निओजेल पावरजेल (विस्फोटक पदार्थ) प्रतिगोटा १२५ ग्राम रहेका २०५ प्याकेट र ३५५ वटा स्टीक सहितको इलेक्ट्रिक डिटोनेटर फेला परेको प्रहरीले जनाएको छ । बाह्रखरीबाट

प्रकाशित मिति: ११ चैत्र २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्