प्रदेशस्तरीय अलैँची विकास बोर्ड बनाउने : मुख्यमन्त्री राई


 


धनकुटा, चैत ९

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले देश समृद्ध र सुखी बनाउने बेलामा एउटा सानो शक्तिले हत्या हिंसा मच्चाइरहेको बताउनुभएको छ।
धनकुटाको हिलेमा आजबाट सुरु भएको नेपाल अलैँची व्यवसायी महासंघको छैटौं साधारण सभाको उद्घाटन गर्दै मुख्यमन्त्री राईले नेत्रविक्रम चन्द नेतृत्वको नेकपालाई इंगित गर्दै सरकारले वार्ताको आह्वान गरी सकेकाले त्यो शक्ति वार्तामा आउने विश्वास गर्नुभयो।

उहाँले प्रदेश र प्रतिनिधिसभाको निर्वाचन अगाडि नै बनाउनुपर्ने कानुनी आधारहरू अहिले बनाउनु परेकाले प्रदेश सरकारलाई गति लिन समय लागिरहेको बताउनुभयो। स्थानीय तह तथा केन्द्र संरचना भएको ठाउँमा रहेकाले उनीहरूको गति बढेको र प्रदेश सरकार सबै तवरले नयाँ भएकाले गति लिन समय लागेको मुख्यमन्त्री राईको भनाई थियो।

उहाँले फरक प्रशंगमा बोल्दै कृषिजन्य वस्तु निर्यात गर्न भारत, भुटान र बंगलादेशमा पहल थालिएको बताउनुभयो। उहाँले प्रदेशसभाको यही अधिवेशनले केही नीति बनाएपछि प्रदेशस्तरीय अलैँची विकास बोर्ड बनाउने तयारी रहेको बताउनुभयो ।

प्रकाशित मिति: ९ चैत्र २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्