मोदी किन बनारसबाट लड्ने भए चुनाव भाजपाले लाेकसभा निर्वाचनका लागि उम्मेदवारकाे सूची गर्‍याे सार्वजनिक


 


नया दिल्ली । भारतको सत्तारुढ भारतीय जनता पार्टीले यही चैत २८ गतेदेखि हुने १७ औं लोकसभा चुनावका लागि आफ्ना उम्मेदवारहरुको पहिलो सूची सार्वजनिक गरेको छ।

भारतीय जनता पार्टीले विहीबार साँझ पत्रकार सम्मेलन गरी आफ्नो पार्टीका १८४ जना उम्मेदवारको नाम घोषणा गरेको हो।

घोषित सूचीअनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी फेरि बनारसबाट उम्मेदवार बन्ने भएका छन्। सन् २०१४ को लोकसभा चुनावमा पनि मोदी बनारसबाटै उम्मेदवार बनेका थिए।

सार्वजनिक सूचीमा वरिष्ठ नेता तथा पूर्वअध्यक्ष लालकृष्ण आडवाणीको नाम भने छैन। आडवानीको निर्वाचन क्षेत्र गुजरातको गान्धीनगरबाट पार्टी अध्यक्ष अमित शाह उम्मेदवार बन्ने भएका छन्।

भाजपाका पूर्वअध्यक्ष तथा केन्द्रीय गृहमन्त्री राजनाथ सिंह भने उत्तर प्रदेशको राजधानी लखनउबाट उम्मेदवार हुने भएका छन्। अर्का वरिष्ठ मन्त्री नीतिन गड्करी पनि पुनः नागपुरबाटै चुनाव लड्ने भएका छन्।

भाजपाले उत्तर प्रदेशको चर्चित चुनावी क्षेत्र अमेठीबाट केन्द्रीय मन्त्री स्मृति इरानीलाई उठाउने भएको छ।

यसैबीच उत्तर प्रदेशकी प्रभावशाली नेतृ मायावतीले आगामी चुनावमा प्रतिस्पर्धा नगर्ने घोषणा गरेकी छन्। मायावतीले अप्रत्यासित निर्णय गर्दै चुनावमा भाग नलिने बरु उत्तर प्रदेशको सत्तारुढ दल भाजपालाई परास्त गर्न गठबन्धनमा ध्यान दिने बताएकी छन्।

चार पटकसम्म उत्तर प्रदेशको मुख्यमन्त्री बनेकी मायावतीलाई उत्तर प्रदेशको दलित समुदायकी ‘आइकन’ मानिन्छ।

प्रमुख विपक्षी भारतीय राष्ट्रिय कांग्रेसले भने यसअघि नै १४६ जना उम्मेदवारको सूची सार्वजनिक गरेको थियो। भारतीय निर्वाचन आयोगले ५४३ सदस्यीय लोकसभा चुनाव सात चरणमा गर्ने घोषणा गरेको छ।

प्रकाशित मिति: ८ चैत्र २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्