नभुल है प्रिय, नेपाल आमालाई …
खै, के भनेर संवोधन गरौं तिमीलाई मेरो मन धाजा धाजा भएर चिरिएको छ । आसुको मसीले तिम्रो नाममा दुई शब्द उतार्न बाध्य भएको छु । विपत्तिको भुङ्ग्रोमा सल्किरहेको मनलाई विपत्तिको भार खप्टिएको आभास भएको छ ।
हो, तिमी पनि हिजोका दिन यही भुङ्ग्रोमा पोलिएकी थियौं म भन्दा नी बढी तिमीलाई यस धर्तीमा पिडाबोध कस्तो हुन्छ भन्ने कुरा मजाले बुझेकी छौं । जे जस्ता विपत्ति तिमी सामु खडा भएतापनि अलिकति पनि विचलित नभई सबै परिस्थितीलाई किनारा लगाउने तिम्रो खुबीलाई सलोट गर्नै पर्ने लायक थियो ।
विपत्तिका लहरहरु एक पछि अर्को गरी लाम लागि रहे पनि तिमी सहजै रुपमा निकासको बाटो अवलम्वन गरिहाल्थ्यौं । तिमी कुनै पनि आधिँबेरी, तुफानबाट नडगमगाउने पृथ्वी माता कामेर कयौं धनजनको क्षति व्यहोर्नु पर्दा अनि आफ्नै अघि ठूला ठूला संरचना ढल्दा तिमी भने शाहसका साथ उद्धारमा खटिहाल्थ्यौं ।
प्रकृत्तिको चेपुवामा परी जीवन कहालिलाग्दो भएको अवस्थामा देशमा राजनैतिक खिचतानीका कारण आज भागवण्डाको लिप्साले देश आक्रान्त बनेको छ । ज्ञानभूमि, शान्तिभूमि तराई, पहाड, हिमाल भनि राष्ट्रिय गीत गुन्जाईरहँदा तराईमा बम, गोला, बारुदको गन्ध आउन थालेको छ । तराईमा आन्दोलनका नाममा राको सल्किरहेको छ ।
यही राकोले आज नेपाली नेपाली बीच काटमारको गति लिइरहेको छ आज तराई रणभूमिमा परिणत भईरहेको दुखान्त खबर तिमीलाई सुनाउनु पर्दा आफैलाई लज्जाबोध महशुस गरेको छु । आज देशमा बलेको आगो निभाउन तिम्रो ठूलो आवश्यकता खड्किरहेको समयमा तिमी भने एक्कासी दुनियालाई आसुमा डुभाएर विदेश पलायन भएको खबरले आज स्तब्ध तुल्याएको छ ।
विदेश पलायन हुनु रहर नभएर बाध्यता पनि हो तर कालापानी अनि दार्चुलाको लिपुलेकले निकास नपाउँदै, देशमा कालोबजारीले ढाँड सेकेको समयमा, ग्यास तेलको हाहाकार मच्चिरहेको, नाकाबन्दीको सास्ती खेपिरहनु परेको यस दुःखद घडीमा, नेपाली जनताले मनमा शान्तिको आभास गर्न नपाउँदै हिजोका दिन पशुपतिनाथ भाकेर देश र जनताको लागि जीवन अर्पण गर्ने बाचा खाएकी तिमी आज मलाई समेत एकवचन नबोली, नभेटी तिमी बिदेशी भूमिमा विदेशी नागरिक बन्ने तरखरमा लागेको खबरले आँखा ओभाउन सकेका छैनन् ।
प्रिय, मायाँ ममतालाई अनि आफ्नो कर्तव्यलाई भुलेर डलरको खेतीमा लालयित भई स्वार्थी भावनामा जागृत भई नेपाल आमालाई पिठ्यू फर्काई रहेकी छ्यौं रे, तिमीलाई नेपाल आमाको भार लाग्नेछ तिमीलाई नेपाल आमाले धिर्काने छन् । एकचोटी नेपाली माटोलाई सम्झ, सगरमाथा, अनि लुम्वनीलाई सम्झ, तिमी र म हातेमालो गरी देशको लागि केही गर्ने भनि खाएको कसम पशुपतिनाथलाई सम्झ, तिमी विदेश जानै पर्ने बाध्यता थियो भने अन्तिम पटक म सँग एक वचन बोलेर अनि बिदाईका हात हल्लाउने समेत हिम्मत गरेकी थियौं भने तिमीलाई नेपालआमाको छातिको एक मुठ्ठी माटो मायाँको चिनो स्वरुप तिमीलाई समपर्ण गर्ने थिए ।
तिमी सँग बिताएका क्षणलाई आज सम्झदै म आसुँको भेलमा डुबिरहँदा तिमी अमेरीकामा परेकोे हिउँको थुप्रोमा रमाउँदै रहेछ्यौं । हिउँसँग रमाउँदै गरेको अनि डलरको खेती गरेको दृष्य फेसबुकमा हेर्न पाए । अमेरीकाको व्यस्थ जीवनमा यो मेरो पत्र पढ्ने फुर्सद त नमिल्ला तर पनि समयको बाबजुद भएपनि तिम्रो नयन एकचोटी यो मेरा शब्दमा पर्न सफलहोस् ।
अमेरीकाको रहनसहनमा जीवनलाई परिवर्तन गर्दै नेपालीपनलाई भूलेर जीवनलाई अमेरीकामै स्थायीत्व गर्न लागेकाले प्रिय नेपाल आमालाई नभुल है भन्दै यो पत्र लेख्दैछु । हिजोसम्म तिमी र म एक अनि अर्को पट्टि बसी नेपाल आमाको लाम्टा चुसेका थियौं आज नेपाल आमालाई कुल्चेर तिमी विदेशी नागरिक बन्ने तरखरमा लागेको खबर सुन्दा पीडाबोध भएको छ ।
मध्यराती तिम्रो नाम जप्दै ऐठन हुन थालेको छ । बुढी भएकी हजुर आमा तिम्रो मायाले रातभरी निदाउन सकेकी छैनन् । तिम्रो त्यो सानी बुने दिदीको यादमा तड्पिएकी छन् । तिम्रो यादले छाती चर्केकाले काइला काका भट्टि देखि दुन्मुनिएर आउने गरेका छन् ।
प्रिय त्रिपालको प्वालबाट तिमी आउँदै छौ की भनेर चियाउदैमा दिन बितिरहेको छ । पुस माघको तुषारोले त्रिपाल छपक्कै ढाकेको छ । भूकम्पले भत्काएका घरसरी तिमीले देखाएका आशा अभिलाशाको पहिरो जानेक्रम बढिरहेको छ ।
प्रिय एकचोटी सोच्ने प्रयास गर मलाई तिमी राष्ट्रियताका कुरा धेरै गर्ने गर्दथ्यौ देशको मुहार फेर्ने कुरा भुलेको छैन तिमी एक्कासी परिवर्तन भएर देशलाई कुल्चिएर विदेशीको रहनसहनमा रमाउँदैछौं । तिमी विदेशी भूमिमा रमाउन गएको थाहा पाएको दिन देखि शून्यताले छाएको छ । प्रिय जे जस्तो मनोरममा तिम्रो मन बहकिएको भएपनि एकचोटी धर्ती मातालाई अनि दुधकोशी, सुनकोशीको चिसो पानीले प्यास मेटिएको क्षण कदापी पनि नभुल्नु ल ।
दलगाउँ–४, भोजपुर
प्रकाशित मिति: १२ माघ २०७२, मंगलबार