देशभर समानान्तर कमिटी बनाउने माधव नेपालको चेतावनी


 


काठमाडौं । विवादै विवादको चाङ रहेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा भित्र फेरि अर्को नयाँ विवाद आउने सम्भावना बढेको छ ।
पार्टीकै एक शीर्ष नेताले देशभर समानान्तर कमिटी गठनको चेतावनी दिएपछि नेकपामा नयाँ विवाद आउने सम्भावना देखिएको हो ।

पछिल्लो पटक अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच जिल्ला नेतृत्वका विषयमा सहमति जुटेसँगै वरिष्ठ नेता माधवकुमार नेपालले समानान्तर कमिटी गठनको चेतावनी दिएका छन् । सचिवालयमा सहमति नजुटाई दुई अध्यक्षले मात्र जिल्लाका अध्यक्ष र सचिवको जिम्मेवारी तोके आफूलाई मान्य नुहने नेता नेपालको चेतावनी छ ।

‘नेता नेपालले सचिवालय बैठकभन्दा बाहिरबाट जिल्ला नेतृत्व टुंग्याए समान्तर कमिटी बनाउने चेतावनी दिनुभएको छ । उहाँलाई फकाउने प्रधानमन्त्री एवम् अध्यक्ष ओलीको प्रयास अझै सफल भएको छैन, ’ नेकपाको सचिवालयका एक सदस्यले भने, ‘प्रचण्ड केही दिनका लागि पत्नी सीताको उपचारका लागि अमेरिका उडेपछि यो विषय थप जटिल भएको छ ।’

सरकारले फागुन २४ गते सीके राउत समूहसँग ११ बुँदे सहमति र फागुन २८ गते विप्लव नेतृत्वको नेकपामाथि प्रतिवन्ध लगाउने निर्णय गरेपछि नेकपाका शीर्ष नेताबीच संवाद शुरु भएको थियो । यस्तो सहमति लगत्तै सचिवालय सदस्यहरु नेपाल, झलनाथ खनाल, बामदेव गौतम र नारायणकाजी श्रेष्ठले अध्यक्ष प्रचण्डसँग भेट गरेका थिए । त्यसलगत्तै प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच कुराकानी भएको थियो, जहाँ राउतसँग भएको सहमति र पार्टी एकता सम्बन्धी विषयमा छलफल भएको थियो । रातोपाटीबाट

प्रकाशित मिति: ४ चैत्र २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्