राजालाई हेर्न पुगेका सर्वसाधारणले लगाए ‘ हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ,’ को नारा


 


गाईघाट : राजा ज्ञानेन्द्र शाहले शनिबार उदयपुरको सदरमुकाम गाईघाटस्थित राधाकृष्ण मन्दिरमा पूजाअर्चना गर्नु भएको छ ।

जनकपुरबाट बा ४ च ३८०७ नम्बरको निलो ल्याण्डक्रुजर जिप चढेर आउनु भएका राजाले त्रियुगा नगरपालिका–१० स्थित राधाकृष्ण मन्दिरमा १५ मिनेट पूजा गर्नु भयो । मन्दिरमा पूजाआरधना सकेसँगै त्यहीँ रहेको राधामाधव समितिको सभाहलमा प्रवेश गरी १० मिनेट अवलोकन समेत गर्नु भएका थियोे ।

लगत्तै शाहीकालिन मन्त्री उदयपुर निवासी हरिबहादुर बस्नेतका परिवारले स्वर्गीय आमाको नाममा मन्दिर परिसरमै निर्माण गरेको पुण्य स्मृति भवनमा सर्वसाधरणसँग ३० मिनेट भेटघाट गरेका थिए ।

दिउसो साढे ३ बजे सदरमुकाम गाईघाट प्रवेश गर्नु भएका राजालाई उहाँका समर्थकहरुले मुख्य चोकदेखि करिव ३ सय मिटर पैदलयात्रा गराएका थिए । झण्डै दुई हजारको संख्यामा भेटघाट र हेर्नका लागि लाइन बसेका सर्वसाधरणको भिडलाई छिचोल्न उहाँलाई १७ मिनेट लागेको थियो ।

पैदलयात्रामा सर्वसाधरणको भव्य स्वागत पाउनु भएका राजा पैदल यात्रापछि पुनः गाडी चढेर मन्दिर पुग्नु भएको थियो । उहाँलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रहरी निरीक्षकको नेतृत्वमा रहेको कमाण्डले सुरक्षा दिएका थिए भने आन्तरिक सुरक्षाका लागि शिवसेना नेपालले दिएको थियो ।

जनकपुरबाट ६ वटा गाडीमा दलबल साथ पुगेका उहाँलाई हेर्नेको ठूलो भिड लागेको थियो । सर्वसाधरणको भेटघाटपछि आयोजक राधाकृष्ण मन्दिर व्यवस्थापन समितिले पत्रकारसँगको साक्षात्कारका लागि १० मिनेट सयम उपलब्ध गराउने बताए पनि उहाँले नितान्त धार्मिक कार्यक्रम भएकाले कुनै प्रतिक्रिया दिन चाहानु भएन ।

राजाको स्वागतका लागि निस्किएका सर्वसाधरणले ‘राजा आऊ देश बचाऊ,’ ‘हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ,’ ‘नेपाली जनता के भन्छन् हिन्दु धर्म ले भन्छन्’ जस्ता नाराहरु लगाएका थिए । फूलमाला, पुष्पगुच्छा लिएर सडकमा लामबद्ध भएका कतिपय सर्वसाधरणले उहाँको खुट्टा छुन लाग्दा आफैँले समातेका थिए ।

सत्ता र विपक्षी दलका नेता पनि सहभागी

जिल्लामा पहिलो पटक पाइला टेकेका राजालाई भेटघाटभन्दा पनि हर्नेको जमात निकै थियो । राजालाई हेर्नैका लागि सत्तापक्ष र विपक्षी लगायत पार्टीका जिल्ला तहकै नेताहरुको उपस्थिति थियो ।

राजाको भ्रमणप्रति कुनै प्रतिक्रिया नदिएका राजनीतिक दलका नेताहरुले उहाँलाई हेर्नको लागि मात्र आएको बताए । सत्तापक्षका नेताहरुले औपचारिक भेटघाट र फूलमालाले स्वागत नगरे पनि नेपाली कांग्रेस समर्थकका थुप्रै कार्यकर्ता भने स्वागतमै उभिएका थिए ।

डेढ घण्टासम्म उदयपुरबासीलाई समय छुट्याएका राजालाई भेटेर आफ्ना समस्या राख्न आएका धेरैले भने समय पाएनन् । राजा भ्रमण व्यवस्थापन समितिका संयोजक धुर्व रायामाझीले सोचेभन्दा बढी सर्वसाधरणको उपस्थिति रहेको बताए । उनले भने, ‘हामीले सामान्य पूजाअर्चना गरेर फर्कनु हुन्छ भन्ने सम्झेर त्यति प्रचार प्रसार गरेनौँ, तर सर्वसाधरणको उपस्थिति हेर्दा तयारी र प्रचार प्रसारमा कमी भए जस्तो लाग्यो ।’

प्रकाशित मिति: ३ चैत्र २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्