कम्प्युटर देख्नै नपाई कम्प्युटर विषयको परीक्षा
सल्यान चैत ३
जिल्लाको कुमाख गाउँपालिका–७ जिमालीस्थित बिर्केनेटी आधारभूत विद्यालयको कक्षा ८ का विद्यार्थी मीनराज चलाउनेले अहिलेसम्म कम्प्युटर देखेका छैनन् । तर उनले दुईपटक कम्प्युटर विषयको वार्षिक परीक्षा दिइसकेका छन् । ‘खै , कम्प्युटर कस्तो हुन्छ देखेको छैन,’ मीनराजले भने, ‘कम्प्युटर नदेखे पनि पास हुनलाई परीक्षा त दिनै पर्यो नि !’
उनले कक्षा ६ र ७ को वार्षिक परीक्षामा कम्प्युटर विषयको परीक्षा दिएका हुन् । अझ त्रैमासिक र अर्धवार्षिक परीक्षा त कक्षा ८ मा पनि दिइसके । तीन वर्षदेखि कम्प्युटर विषय पढ्दै पनि आएका छन् । ‘एक सय पूर्णांकको छ, नपढी भयो त ?,’ उनले प्रश्न गरे ।
उनी मात्रै होइनन्, बिर्केनेटी आधारभूत विद्यालयका कक्षा ६ देखि ८ सम्मका सबै विद्यार्थी कम्प्युटर नदेखेरै कम्प्युटर विषय पढ्छन् । त्रैमासिक, अर्धवार्षिक र वार्षिक परीक्षा दिन्छन् र पास पनि हुन्छन् ।
शिक्षकले पनि कालोपाटीमा कम्प्युटरको चित्र कोर्छन् । यस्तो उस्तो हुन्छ भनेर पढाउँछन् । कक्षामा कम्प्युटर त शिक्षकले पनि छुन पाउँदैनन् । किनकि यो विद्यालयमा कम्प्युटर नै छैन । कम्प्युटर नभएकाले समस्या भएको विद्यालयका प्रधानाध्यापक डिल्ली बहादुर बुढाथोकीले बताए । ‘०७० देखि यसरी नै पढाइरहेका छौँ,’ प्रधानाध्यापक बुढाथोकीले भने ।
यो विद्यालयमा मात्रै होइन, अन्य विद्यालयको हालत पनि उस्तै छ । सल्यानमा कक्षा ६ देखि ८ सम्म पढाइ हुने डेढ सय विद्यालय छन् । त्यो भन्दा माथि पढाइ हुने एक सय विद्यालय छन् । माध्यमिक विद्यालयहरूमा त कम्प्युटर छन्, तर आधारभूत विद्यालयले कम्प्युटरविना नै पठनपाठन गरिरहेका छन् ।
नयाँ पत्रिकाबाट
प्रकाशित मिति: ३ चैत्र २०७५, आइतबार