विप्लवलाई ठुलो धक्का, “जनसत्ता” प्रमुखले गरे पार्टी त्यागको घोषणा


 


ओखलढुंगा । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका जनसत्ता प्रमुख तथा किराँत सभाका सभामुख बोझबहादुर खत्रीले पार्टी त्याग गरेको घोषणा गर्नुभएको छ ।

सदरमुकाम ओखलढुंगामा बिहीबार पत्रकार सम्मेलन गरेर खत्रीले पार्टीसँग सम्बन्ध विच्छेद गरेको घोषणा गर्नुभएको हो । पार्टीमाथि सरकारले प्रतिबन्ध लगाएपछि विप्लवले आयोजना गरेको बन्दकै दिन खत्रीले पत्रकार सम्मेलन गरेर पार्टीसँग आबद्ध नरहेको जनाउनुभएको हो । अब आफू मानवअधिकारकर्मी बनेर उत्पीडितको पक्षमा काम गर्ने समेत खत्रीले जानकारी दिनुभयो ।

खत्रीले पार्टीले लिएको एकीकृत जनक्रान्तिको कार्यदिशा अस्पष्ट रहेको बताउँदै पार्टीको कुनै पनि जिम्मेवारीमा नरहने बताउनुभयो । उहाँले पत्रकार सम्मेलनमा भन्नुभयोे, ‘मुख्य कुरा कार्यदिशा प्रष्ट नभएको र बहुदलीय पद्धतिलाई स्वीकार गर्नुको विकल्प नभएकाले मैले पार्टीसँगको सम्बन्ध विच्छेद गरेको हूँ ।’ खत्रीले स्थानीय तथा संसदीय निर्वाचनमा सहयोग गर्दै पार्टीबाट टाढा रहँदै आएको समेत दाबी गर्नुभएको छ । आफू विप्लवसँग पहिलेबाटै टाढा बन्दै गए पनि केहीमा भ्रम रहेको पाइएकाले औपचारिक रुपमा घोषणा गरेको बताउनुभयो ।

विप्लवले आह्वान गरेको बन्दको प्रभाव ओखलढुंगामा भने शून्यप्रायः छ । यातायात सबै क्षेत्रमा सञ्चालन भैरहेको र कुनै अवरोध नरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: ३० फाल्गुन २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्