देश युद्धकाे जाेखिम श्रम र अर्थका कारण ?


 


काठमाडौँ । केही बर्ष अगाडी एक पाकिस्तानी लेखकले लेखेको कथा नेपालीमा उल्था गरिएको थियो । त्यसका वाक्यांश त बिर्सियो तर भार्वाथ कहिल्यै बिर्सिदैन । त्यसको भाव के थियो भने । एउटा पाकिस्तानी युवा अरबको खाडीमा कामगरि रहेको हुन्छ । उसले सोच्दछ अब म स्वदेश गएपछि कुनैपनि हालतमा यो गर्मिमा फर्किन्न , अब देशको सेवा गर्दछु , उतै दुःख शुख गर्दछु , परिवारसंग बस्दछु । केही दिनमा ऊ घर पाकिस्तान फर्किन्छ ।

ऊ घरमा पस्छ, घरमा टिभि छ, फिल्म आई रहेको छ, केही बेरमा उसका छोराछोरी सफा कपडा लगाएर ब्याग बोकेर विद्यालयबाट फर्किएकाछन् । श्रीमतिका कपडा पनि उ विदेश जादाभन्दा सफा छन् । उसका वुवा आमाको अनुहारमा पनि केही हँसिलोपन छ । यस्तो रमाइलो अवस्था देखेपछि उसले सोचेको विदेश नफर्किने विचारलाई थप उर्जा मिल्दछ । एवंरितले केही दिन बित्दछ । उसले अरबबाट ल्याएको पैसा छउन्जेल एसो साथिभाईहरुको आइजाई पनि बढेको हुन्छ घरमा । समय बित्दै जान्छ खर्चहरु थपिदै जान्छ , बच्चाको फिस तिर्नुपर्ने बेला आउँदछ , सवैलाई कपाड फेर्नु पर्ने बेला आउँदछ , आमालाई सुगरको दवाई र बुवालाई ब्लडप्रेसरको दवाई किन्नु पर्ने पर्दछ । उताबाट ल्याएको रकम सकिदै जान्छ । अहिलेसम्म उ थामिएकै थियो । तर घरमा नियमित रुपमा खर्च बढ्दै जादा उसको यस अघिको सोचाईमा परिवर्तन आउन थाल्यो । जति पैसा सकिदै जान्छ उसभित्रको रमाइलो पन पनि हराउँदै जान्छ । अनि उसले सोच्दछ खुशिको रिचार्ज गर्नका लागि म फेरी अरब जानु पर्दछ ।

प्रकारान्तरले नेपालका अधिकांश अदक्ष कामदारको अवस्था यस्तै छ र देशमा औद्योगिक विस्तारको आधार छैन , बजार विस्तार गर्ने संभावना छैन , लगानीकालागि प्रयाप्त पूँजी छैन, निर्यातमुखि आर्थिक संरचना छैन । गरीखान र कमाउन केही उत्पादन गरौं भनेपनि सबल आन्तरिक बजार छैन । यहिकारणले नेपालीहरु विदेश नगाई सुखै छैन । त्यसैले १४ प्रतिशतका दरले विदेश जानेको प्रवाह रोकिएको हो भने यसले देशमा अनिष्टताको संकेत गर्दछ । त्यो अनिष्टताका हाँगा विंगाहरु राउत र विप्लवका लागि छाहारी नबन्लान् भन्न सकिदैन ।

खोलामा आउने पानीको बाढी र आगोले लगाउने डढेलोलाई कुनै न कुनै रुपमा नियन्त्रण गर्न सकिएला तर नेपालमा बेरोजगारीको रुपमा आएको बाढी वा डढेलोलाई समयमा साम्य पार्न सकिएन भने त्यसले देशलाई ठूलो नोक्सानी हुनेछ । सरकारले यस बर्ष विदेशिने युवाहरुको संख्या गतबर्ष भन्दा १४ प्रतिशतले घट्यो भनेको छ र कसैले त सरकारले यहाँ अति नै राम्रा अवसर सृजना गर्न सकेको कारण विदेश जानेको संख्या घटेको हो भन्ने समेत हल्ला आएको छ । यो नितान्त राजनैतिक तथ्यात्मक तोडमोडरी हो । वास्तवमा यो विदेश जानेमा कमी आउनुको कारण मलेशियाको श्रम सम्झौतमा भएको मन्त्रीस्तरीय कमजोरीको परिणती हो । यो श्रम तथा अर्थमन्त्रीहरुले बुझ्न जरुरी छ ।

कुनैपनि नदिको प्रवाह एकैचोटी रोक्न सकिदैन त्यसकालागि विस्तारै रोक्ने तरिकाहरु अवलम्वन गरेरमात्र पानी रोकिन्छ र सिंचाई गर्न सकिन्छ र विद्यूत निकाल्न सकिन्छ । त्यसैले यदि वैदेशिक रोजगारीमा लगाम लगाएर देशलाई उर्वर बनाउन सक्ने राष्ट्रिय राजनैतिक अवस्था छ र थियो भने श्रम सुधारकालागि गरिएको काम ठिकै हो भन्न सकिएला तर नेपाल यस्तो तरल अवस्था छ , यहाँ जतिवेला जे पनि हुन सक्छ । दश मिनट अगाडी शान्त देखिएको ठाउँमा ए्क्कासी बम पड्किन सक्छ । जहाँ १० दिन मानिस बेरोजगार भयो भने उसलाई विभिन्न समुहले बम हान्ने काममा प्रयोग गर्न सक्छ । यस्तो बेलामा श्रम संझौतामा अन्यौल आउनु निकै घातक हो जसले घुमाउरो पाराले युवाहरुलाई बनदुक उठाउन उक्साइ रहेको छ ।

देशमा ७ खर्ब बढी रकम रेमिटेन्सको रुपमा भित्रिन्छ त्यो भन्दा ठिक डवल रकम आयातबाट बाहिरिन्छ , यस वीचमा झण्डै ३ खर्ब रकम खुल्ला सिमानको कारण बाहिरिन्छ । यसको अर्थ सामान्य अनुमानमा ७ खर्ब अउदा १८ खर्ब बाहिर जान्छ । सत्य यहि हो तथ्यांकमा २ ।४ करोड तलमाथि हुनसक्छ । अर्थ तथा श्रम मन्त्रीलाई अनुरोध के हो भने तपाँइहरुले तत्कालिन राष्ट्रिय परिवेशलाई बुझेर मानव श्रोतको व्यवस्थापन गर्ने परिपाटि मिलाउन आवश्यक छ । जापानको वर्किङ परमिट खुल्नु , त्यँहापनि सरकारी संयन्त्रबाट कामदार पठाउनु राम्रो हो । तर यसरी नापेर जोखेर विदेश पठाएर नेपालीको बेरोजगारी थामिने वाला छैन । जहिलेसम्म मलेशीयाको भिसा खुल्दैन तबसम्म नेपालमा अदक्ष कामदारले जानेठाउँ कहि हुँदैन । देशको वर्तमान परिस्थितीलाई बुझेर बेरोजगारहरूको व्यस्थापन छिटो गर्न नसकेमा देशमा के हुन्छ ?

यसको सोझो उत्तर त केही पनि हुँदैन तर भोको भोकै मर्न सक्दछ यहि मर्नु न बाँच्नु भएका मानिसलाई प्रयोग गरेर देशमा अशान्ती मच्चाउने काम शुरु हुन्छ । जनतालाई थाहा छ जस्तो सुकै राजनीतिक क्रान्ति गरेपनि लाभ पाउने भनेको सिमित व्यक्तिले मात्र हो । तर अति बेरोजगार भै सकेपछि र काम गर्ने कुनै आधार नभएपछि अत्तालिएका युवाहरुलाई बन्दुक उठाउन लगाउन अति सजिलो हुन्छ । देशको बर्तमान अवस्था हेर्दा एउटा पक्ष गरिवी र बेरोजगारीलाई कारण बनाएर हतियार उठाउने दाउ खेलीरहेको छ । दिनदाहडे बम पड्किएकाछन् र सांसदहरुको अपहरण भै सकेको अवस्था छ । यो बेलामा अदक्ष तर बेरोजगार युवालाई जुन तरिकाले भएपनि विदेश पठाउन सकिएन भने, लगभग असंभव देखिएको जनयुद्ध फेरि शुरु हुनसक्छ । कागजमा रोजगारी बढाउने , प्रतिव्यक्ति आय पनि कागजमात्र बढाएर देश गमक्क परेको बर्तमान अवस्थामा बेरोजगार युवाहरुलाई जम्मा पारेर फेरि बन्दुक र गोली बारुदको होली खेल्न दिने हो भने देशको अवस्था फेरी ५० बर्ष पछि धकेलिने छ ।

श्रमको गतिशील आन्तरिक तथा बाह्य प्रवाह अति आवश्यक छ । सहज तरिकाले काम गरेर खाने वातावरण सृजना गर्ने काममा अर्थमन्त्री र श्रममनत्रीले नेपाल सुहाउँदो नीति अवलम्वन गर्न नसक्ने हो भने नेपाल फेरी जनयुद्धको भूमरीमा फस्ने परिस्थीति आएको छ । कुरा लुकाएर र दवाएर हुँदैन अहिले भूमीगत रहेको भनिएको नेपाल कम्युनिष्ट पार्टिमा दुइ नेताहरु बीच तालमेल मिलेको छैन भन्ने बुझिएको । विप्लव र प्रकाण्ड दुवैले आफ्नो आफ्नो समिति बनाएका कारणले जनयुद्ध नै घोषणा नभएपनि उनीहरुले बेरोजगारीको नारामा धेरै युवाहरुलाई आफ्नो पक्षमा भर्ति गरेको भन्ने कुरा विभिन्न पत्रपत्रिकाले लेखेका छन् । त्यसैले सरकार थप पारदर्शि र दुरदर्शि भएर बेरोजगारी व्यवस्थापनको काममा नलाग्ने हो भने स्थिती जटिल हुन सक्छ । त्यसैले यो श्रम सम्वन्धीकाममा कुनै प्रकारको ढिलाई नहोस भन्ने चाहाना आम नेपालीको छ । गरिवी भनेको नाङ्गै हिड्नुमात्र होइन, खुल्ला आकाशमा सुत्नु मात्र पनि होइन । एकसरो लुगा र सानो झुपडि भित्र रहेको अप्रसन्नता भित्र रहेको रहेको गरिवीलाई बुझेर सरकारले सक्दो छिटो युवा व्यवस्थापन गरोस ।

देशले बर्षमा बढीमा १५ हजार रोजगारी सृजना गरेको छ र तर बजारमा ३ लाख युवाकामका लागि तयार हुन्छन् । २ लाख ८५ हजार बाहिर नै जाने हो । त्यो संख्यामा सारकारी तथ्यांक अनुसार नै १४ प्रतिशत विदेश जाने घटेका छन् भन्नुको अर्थ ४१२०० हजार युवा एक बर्षमा विदेश जान नपाएर रोकिएको छ । यिनै ४१ हजार यूवालाई टारगेट गरेर देशभरमा जनयुद्धको तयारी गरिन्छ । तर हाम्रा अर्थ र श्रममन्त्रीले यो कुरा बुझ्न सक्नु हुन्न । आदर्शवदमा विकल्पको खोजीका लागि केही समय पर्खिन सकिन्छ तर यर्थाथमा अवस्था गंभिर छ । यो गंभिरता झण्डावाल गाडीबाट देखिदैन । तराई र पहाडका चोकमा देख्न सुन्न सकिन्छ । देशले एक ठाऊँ प्रवाह रोक्दा असर कस कसको चुल्होमा पर्दछ । गौशालाका एक होटल व्यवशायीका अनुसार १० बर्षका लागि भनेर भाडामा लिएको होटल अब बन्द गरेर हिड्नुपर्ने अवस्था छ । यो भयावहताले गर्दा जसरी भएपनि मलेशियाको रोजगारी खोल्नु पर्नेमा श्रममन्त्रीले के कसको ईशारामा काम गर्नुभएको छ बुझ्नै सकिएन ? भन्ने व्यवशायीको संख्या बढ्दो छ ।

वैदेशिक रोजगारीमा आएको गिरावटले वैदेशिक उडान फर्किदा खाली भएका छन् , गौशाला बानेश्वर र एयरपोर्टका ठूला तथा साना होटल सवै सुकेको अवस्था छ , मेन पावर व्यवशाय पनि धरासायि भएको छ । पानपसल, पत्रिकापसल, पानीपुरीको ठेला समेतको कारोवार सुस्ताएको छ । प्रधानमन्त्री ज्युले पनि यो अवस्थाको अवलोकन गर्दा राम्रो हुन्छ । श्रम र अर्थको कारण देशले आर्थिक समस्या भोगेको यर्थाथ माझ युद्ध जोखिमलाई समेत ध्यानमा राखेर नीति बनाउन अनुरोध छ ।

प्रकाशित मिति: ३० फाल्गुन २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्