विप्लव बन्द : बम राख्नेदेखि गाडीमा आगजनीसम्म


 


काठमाडौं । नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको बन्दका कारण काठमाडौँ उपत्यकासहित देशभर सार्वजनिक यातायात सञ्चानलमा समस्या देखिएको छ । सार्वजानिक यातायातमा बन्दको प्रभाव देखिएपनि अन्य क्षेत्रमा भने प्रभाव आंशिक देखिएको छ ।

आज बिहानैदेखि सार्वजनिक सवारी साधान कम चलेका छन् । मोटरसाइकल तथा निजी गाडी केही चले पनि सार्वजनिक गाडी कम चल्दा यात्रुलाई समस्या भएको छ । नेकपाको नेपाल बन्दलाई ध्यानमा राखेर देशभरको सुरक्षा व्यवस्था कडा पारिएको सरकारले जनाएको छ ।

राजधानीमा अरुदिनको तुलनामा केही कम सवारी साधन चलेका छन् । सरकारले चन्द नेतृत्वको नेकपाका गतिविधीमाथि प्रतिबन्ध लगाएपछि बन्दकर्ता सडकमा देखिएका छैनन् । तर, बिहानीसत्रको अधिकांश कलेज बन्द रहेका छन् । यस्तै बजार उद्योग तथा कलकारखानामा पनि बन्दको सामान्य प्रभाव देखिएको छ ।

सिन्धुली बन्दको असर

बन्दका क्रममा सिन्धुली जिल्ला सदरमुकाम सिन्धुलीमाडी लगायत आसपासका क्षेत्रमा बन्दको असर परेको छ । सिन्धुली जिल्ला सदरमुकाम सिन्धुलीमाडीका प्रायःसबै व्यपार व्यवसाय,कल कारखानाहरु,आसिंक रुपमा बनद रहेका छन् भने जिल्लाका सबै शैक्षिक सस्थाहरु पुर्ण रुपमा बन्द रहेका छन् । सिन्धुली जिल्लामा पर्ने वीपी, मध्यपहाडी लोकमार्ग लगायत ग्रामिण सडकहरुमा यातायातका साधनहरु पुर्ववत रुपमा संचालन नहुँदा सामान्य जनजीवनमा प्रभावित बनेको छ । स्थानीय प्रशासनले सदरमुकाम सिन्धुलीमाडीमा कडा सुरक्षा व्यवस्थाकालागि सुरक्षाकर्मीहरुको बाक्लो उपस्थिति जारी राखेको छ ।

बाँकेमा बन्दको प्रभाव

नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले बाँकेको राँझा चोकमा राखेको बम नेपाली सेनाले निष्कृय पारेको छ । सडक छेउमा नेत्रविक्रम चन्द माओवादी समूहले राखेको बम नेपाली सेनाले निष्कृय पारेको हो । चन्द समूहको बन्दका कारण बाँकेको जनजीवनसमेत प्रभावित भएको छ । विहान नेपालगन्ज–कोहलपुर सडक खण्डमा सवारी साधन संचालनमा आएपछि बम फेला परेसंगै सो रुटमा चल्ने सवारी साधन प्रभावित भएका छन् ।

पोखरा बन्दको प्रभाव

बन्दको प्रभाव पोखरामा पनि परेको छ । पोखराका मुख्य वजार महेन्द्र पुल चिप्लेढुंगा पृथ्वीचोक लगाएत जिल्लाका मुख्य वजार वन्द देखिएका छन् । बजार क्षेत्रक प्रेस, एम्वुलेन्स, दुध वोक्ने गाडी, पर्यटक वाहन तथा मोटरसाइकल निर्वाध रुपमा चलेका छन् । पोखराको सभागृहमामा शंकास्पद वस्तु भेटिएको छ । सभागृहचोकमा रहेको ट्राफिक प्रहरीको स्मार्ट आइल्यान्डभित्रै शंकास्पद वस्तु नेपाली सेनाको बम डिस्पोजल टोलीले निश्क्रिय बनाएको छ । प्लाष्टिकको बट्टा र तारहरु बेरिएको अवस्थामा बिहिबार बिहान ५ बजेतिर शंकास्पद वस्तु भेटिएको थियो । त्यसैगरी पोखराको लेखनाथ स्थित भन्डारढिकमा पनि सकेटबम भेटिएको छ । नेपाली सेनाको बम डिस्पोजल टोलीले सो सकेटबम पनि निष्कृय बनाएको छ ।

गोरखामा बम फेला

गोरखाको गोरखा बजार क्षेत्रको भिआईपी टोल र १२ किलो भन्ने स्थानमा शक्तिशाली प्रेशरकुकर बम फेला परेको छ । फेला परेको बम नेपाली सेनाको टोलीले निष्कृय पारिसकेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरिक्षक भोलाबहादुर रावलले दिएको जानकारी अनुसार बिहीबार बिहान १२ किलोमाफेला परेको बम सामान्य भएको भन्दै प्रहरीले जंगलमा फालिदिएको छ । तर गोरखा बजार क्षेत्रमा फेला परेको बम मानव बस्तीमा भएको हुनाले नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्कृय पारेको हो । मुख्य सडक सँगै राखीएको उक्त बमका कारण वरपर रहेका वस्तीका सर्वसाधारण त्रसित भएका छन् । बम रहेको जानकारी बिहान सडक हिड्ने सर्व साधारणले प्रहरीलाई दिए पछि उक्त स्थानमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले सुरक्षा दिई रहेको थियो ।

बुटवल बन्द प्रभाव

बन्दको प्रभाव बुटवलमा बिहानदेखि नै परेको छ । बन्दमा चन्द नेतृत्को नेकपाका कार्यकर्ताहरु सडकमा देखिएका छैनन् । तर सार्वजनिक यातायात तथा उद्योग व्यवसाय बन्द भएका छन् । बिहानी सत्रमा चल्ने शिक्षण सस्था चलेका छैनन् । बुटवलको कालिकानगरमा आज संकास्पद बस्तु फेला परेको छ । बुटवल बेलहिया सडक खण्डको कालिका चोकमा डिभाईडर माथि कालो रङ्गको संकास्पद बस्तु भेटिएपछि सर्वसाधारण जनता त्रसित भएका छन् । सुरक्षाकर्मी सडकमा तैनाथ भएका छन् । बुटवल, भैरहवा, पाल्पा, अर्धाखाँची लगायतका स्थानबाट लामो छोटो दुरीमा चल्ने सार्बजनिक यातायात छुटेका छैनन् ।

चितवन बन्दको प्रभाव

बन्दका कारण चितवनको जनजीवन पनि प्रभावित भएको छ । यातायातका साधन फाट्फुट्ट रुपमा संचालनमा आएका छन् । लामो तथा छोटो दुरीका साधन चलेका छैनन् । शिक्षण सस्था र व्यापारिक पसलहरु पनि संचालनमा छैनन् । वन्दकर्ताहरु सडकमा नआएपनि केहीदिन अघिदेखिका ध्वम्सात्मक गतिविधिका कारण यातायात तथा पसलहरु पनि बन्द छन् । चितवनका प्रवेशनाका र चोकहरुमा प्रहरी तैनाथ गरिएको छ । चितवनका प्रहरी प्रमुख प्रहरी उपरिक्षक शुशिलसिंह राठौरले संचालनमा आएका सवारी साधनलाई स्कटिङ गरिएको र गस्ती, मोवाइल टोली पनि परिचालन गरिएको जानकारी दिए । गएराति पनि प्रहरीको विभिन्न स्थानमा चेकिङ चलिरहेको थियो । लामो समयपछि पुन शुरु भएको बन्दको श्रृंखलालाई भने सर्वसाधारणले विरोध गरेका छन् ।

पाँचथर बन्द

बन्दका कारण आज पाँचथरलगायतका पूर्वी पहाडी जिल्लाहरुको जनजिवन प्रभावित भएको छ । बन्दका कारण पाँचथरको सदरमुकाम फिदिम लगायतका जिल्लाको जनजिवन प्रभावित भएको हो । बन्दबाट जिल्लामा सार्वजनिक यातायातका सेवाहरु ठप्प भएका छन् भने पसल तथा कल कारखाना पनि बन्द रहेका छन् । मेची राजमार्ग हुदै ताप्लेजुङ, तेहथुम, इलामतर्फ जाने सार्वजनिक यातायातका सेवाहरु पनि बन्द भएका छन् ।

मकवानपुर बन्द

नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका कार्यकर्ताहरुले मकवानपुरको थाहा नगरपालिकामा पनि एक ट्रकमा आगजनी गरेका छन् । ना ५ ख ७४११ नम्बरको मालबहाक ट्रकमा आगजनी गरेको प्रहरीले जनाएको छ । मकवानपुरको थाहा नगरपालिकास्थित शिखरकोट बजारदेखि ४ किलोमिटर उत्तरतर्फ त्रिभुवन राजपथमा बुधबार राति ट्रकमा आगजनी भएको हो । यस्तै आज विहान पुर्व पश्चिम राजमार्गको हेटौंडा चितवन खण्डको बस्तीपुरमा ना ७३६९ नम्बरको डिव्वा गाडिमा ढुङ्गा प्रहार गर्दा ट्रकका चलक ढुङ्गाले लागेर सामान्य घाइते भएका छन् । सो गाडी चितवनबाट हेटौंडा आउदै गरेको प्रहरी नयब उपरिक्षक यज्ञप्रसाद भट्टराईले जानकारी दिए ।

प्रकाशित मिति: ३० फाल्गुन २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्