काँग्रेस नेता खाँडले भने : विप्लव समूहलाई उत्तेजित नबनाउ


 


काठमाण्डौँ फागुन २९

नेपाली कांग्रेसका नेता बालकृष्ण खाँडले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएर सरकारले निषेधको राजनीति सुरु गरेको बताएका छन् ।

बुधबार संघीय संसद भवन नयाँ बानेश्वरमा पत्रकारसँग कुरा गर्दै उनले संवादको माध्यमबाट राष्ट्रिय राजनीतिको मूलधारमा ल्याउने सम्भावना हुँदाहुँदै प्रतिबन्ध गर्नु निषेधको राजनीति भएको बताए ।

‘सरकारले निषेधको राजनीति गर्न थाल्यो, संवादको माध्यमबाट राष्ट्रिय राजनतिको मूल प्रवाहमा ल्याउनुपर्ने हो’ कांग्रेस प्रमुख सचेतक खाँडले भने ‘उल्टै प्रतिबन्धात्मक निर्णय गरेपछि उहाँहरुलाई झनै उत्तेजनात्मक वा हिंसात्मक गतिविधि गर्न प्रोत्साहन मिल्छ कि जस्तो लाग्छ ।’

आफ्ना माग पूरा गर्न हिंसात्मक गतिविधि गर्नु उचित नभएको भन्दै नेता खाँडले संवैधानिक प्रक्रियामै आउन विप्लव समूहलाई आग्रह गरे । उनले चन्द नेतृत्वको नेकपालाई उत्तेजित बनाउने खालको कुनै पनि गतिविधि अघि नबढाउन पनि सरकारलाई आग्रह गरे ।

प्रकाशित मिति: २९ फाल्गुन २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्