विप्लव नेतृत्वको पार्टीलाई नियन्त्रण गर्ने सरकारको निर्णयप्रति असन्तुष्टि


 


काठमाण्डौँ फागुन २९

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका नेता देवेन्द्र पौडेलले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई नियन्त्रण गर्ने सरकारको निर्णयप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

नेता पौडेलले चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई निषेध गरेर नभई वार्तामार्फत् शान्तिपूर्ण ढंगले सो समस्याको समाधान गर्न पनि सरकारको गम्भीर ध्यानाकर्षणसमेत गराएका छन् ।

‘सरकरले शान्तिपूर्ण ढंगबाटै समस्याको समधान खोज्नुपर्छ, नेता पौडेलले बुधबार काठमाण्डुमा आयोजित एक साक्षात्कार कार्यक्रमलाई सम्बोधन गर्दै भने, ‘धकेल्ने, निषेध गर्ने वा जब्बरजस्ती गरेर कुनै पनि पक्षलाई युद्धमा जाने बाध्यात्मक अवस्था राज्यले बनाउनु हुँदैन ।’

उनले चन्द नेतृत्वको पार्टीलाई जब्बरजस्ती गर्न खोजे मुलुकको विकास निर्माणको कामलाई गम्भीर असर पर्नेतर्फ पनि सरकारलाई सचेत गराए । मंगलबार साँझ बसेको मन्त्रिपरिषद बैठकले चन्द नेतृत्वको नेकपाको गतिविधि अपराधिक भएको निष्कर्ष निकाल्दै नियन्त्रण गर्ने निर्णय गरेको थियो। सो निर्णयप्रति नेता पौडेलको असन्तुष्टि छ ।

नेता पौडेलले सिके राउत समूहले विगतका आफ्ना गतिविधि कायमै राखे ऊसँग गरिएको सहमतिबारे पनि सरकारले पुनर्विचार गर्नुपर्ने पनि स्पष्ट पारे । उनले सरकारलाई जनताको अपेक्षा अनुसारको कामलाई तिखारेर तीव्र गतिका साथ अघि बढाउन पनि आग्रह गरे ।

प्रकाशित मिति: २९ फाल्गुन २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्