राजनीतिक अधिकार भएपनि लुटपाटमा संलग्न कसैलाई छोडिन्न – प्रधानमन्त्री


 


काठमाडौं, फागुन २९

प्रधानमन्त्री केपी शर्मा ओलीले विध्वशकारी क्रियाकलाप गर्नेलाई कानुनी दायरामा ल्याउने बताउनु भएको छ । उहाले आतंककारी, ध्वंसात्मक गतिविधि सञ्चालन गरिरहेको समुहलाई सरकारले नियन्त्रणमा लिने बताउनु भएको हो ।

बम विस्फोट र चन्दा आतंक तिव्र बनाएपछि सरकारले विप्लव समुहलाई प्रतिवन्ध लगाएको समाचार आईरहेका बेला उहाले त्यस्ता गतिविधि गर्ने सबैलाई कानुनी कारवाही गरिने निर्णय लिएको स्पष्ट पार्नु भयो । नेपाल नगरपालिका संघको स्थापना दिवसको अवसर पारेर बुधबार काठमाण्डौमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले चन्द नेतृत्वको नेकपालाई लुटपाट मच्चाउँदै हिँड्ने लुटेराहरुको संज्ञा दिँदै सहन गर्न नसकिने पनि स्पष्ट पार्नुभयो ।

उहाँले लुटपाटमा संलग्न समूहसँग नडराउन पनि सबैलाई आह्वान गर्नुभयो । लुटपाटको गतिविधिमा संलग्न जोकोहीलाई सरकारले कानुनबमोजिम कारबाही गर्ने प्रधानमन्त्री ओलीको चेतावनी छ । प्रधानमन्त्री ओलीले मूल धारको राजनीतिमा आउने अधिकार सबैलाई भएको तर लुटपाट मच्चाउँदै हिँडने अधिकार कसैलाई पनि नरहेको पनि स्मरण गराउनुभयो । उहाले सो समुहलाई चन्दा नदिने समेत जनप्रतिनिधिहरुसग आग्रह गर्नुभयो । ‘स्थानीय तहका जनप्रतिनिधिहरुलाई पनि पत्र आएको, पैसा मागेको सुनेको छु, नडराउनुस, लुटेराहरुलाई लुट्न नदिनुस्’, प्रधानमन्त्री ओलीको भनाई थियो ।

उहाले इमानका साथ काम गर्न स्थानीय तहका जनप्रतिनिधिहरुलाई पनि सचेत गराउनुभयो । प्रधानमन्त्री ओलीले देश भ्रष्टाचारको उच्च श्रेणीमा भएकोमा आफूलाई अन्तर्राष्ट्रिय मञ्चहरुमा लज्जाबोधको विषय हुने गरेको उल्लेख गर्दै सुशासनमा जोड दिएर विकास, निर्माणको कामलाई अघि बढाउन पनि स्थानीय तहका जनप्रतिनिधिहरुलाई आग्रह गर्नुभयो । प्रधानमन्त्री ओलीले देशको हित र कानुनको रीतअनुसार काम गर्न पनि स्थानीय तहका जनप्रतिनिधिहरुलाई आह्वान गर्नुभयो ।

प्रकाशित मिति: २९ फाल्गुन २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्