बमजन आश्रममा यातना पाएकी विदेशी महिलाले बमजनविरुद्ध दिल्लीमा हालिन् उजुरी


 


काठमाडौं, २९ फागुन । तपश्वीका रुपमा चिनिएका रामबहादुर बमजनको आश्रममा आफूले यातना पाएको भन्दै एक विदेशी महिलाले बमजनविरुद्ध भारतको दिल्लीमा उजुरी हालेकी छन् ।

बमजनको ज्यादतीबारे नेपाल प्रहरीले छानविन र कार्वाही नगर्ने निष्कर्षसहित उनले भारत गएर उजुरी हालेको खबर भारतीय सञ्चार माध्यममा प्रकाशित भएका छन् । नेपालमा रहँदा बम्जनको आश्रममा आफूमाथि शारीरिक तथा मानसिक यातना दिइएको भन्दै ती विदेशी महिलाले दिल्ली महिला आयोगमा उजुरी दिएकी हुन् ।

चेक रिपलिब्लककी ५० वर्षीया महिलाले दिल्ली महिला आयोगमा दिएको उजुरी अनुसार बमजनको शिविरमा शारीरिक र मानसिक यातना पाएपछि उनी केही पर्यटकको मद्दतमा भागेर भारत पुगेकी हुन् । उनले भारतबाट ‘एक्जिट भिसा’ दिलाउन दिल्ली महिला आयोग समक्ष गुहार मागेपछि उनको निवेदन अनुसार दिल्ली महिला आयोगले भिसा उपलब्ध गराएर हालै स्वदेश फर्काएको जनाइएको छ ।

आयोगकी प्रमुख स्वाति मालिवालका अनुसार ती महिलाले नेपालमै आफ्ना कागजात र पासपोर्ट गुमाएकी थिइन् । दिल्लीस्थित चेक रिपब्लिक दूतावासमा दिल्ली महिला आयोगले उनका लागि आपतकालीन राहदानीका लागि सम्पर्क गरेको थियो ।

भारतीय अखबार नव भारत टाइम्समा प्रकाशित समाचार अनुसार सन् २०१२ मा ती महिलाले चेक रिपब्लिकमा आफ्नो छोराको असामयिक निधनपछि नेपालको उक्त आश्रममा आश्रय लिएकी थिइन् । बोधि श्रवण धर्म संघका नाममा रहेको आश्रमका तपश्वी रामबहादुर बमजनले ती महिलालाई ‘बोक्सी’ घोषणा गरेको उक्त अखबारमा उल्लेख गरिएको छ ।

आश्रममा उनलाई बाँधेर राखिएको र शारीरिक तथा मानसिक यातना दिइएको बताइएको छ । यहाँसम्म कि, उनको हात समेत भाँचिएको थियो । प्रहरी समेत बमजनसँग मिलेका कारण उजुरी गर्न नसकेको ती महिलालाई उद्धृत गर्दै समाचारमा उल्लेख छ ।

केही पर्यटकले उनलाई उद्धारको प्रयास गरेका थिए । आश्रममै फसेका अन्य महिलालाई उद्धार गर्ने उद्देश्यसहित उनी ४ महिनापछि फेरि त्यही आश्रममा पुगेको बताइएको छ । ४ वर्षसम्म विभिन्न निकायमा पहल गर्दा पनि बमजनमाथि कार्वाही हुन नसकेको भन्दै उनी भागेर दिल्ली पुगेको समाचारमा उल्लेख छ ।

समाचारमा ती महिलाको परिचय र नेपालमा उनी बसेको आश्रमको ठेगाना भने खुलाइएको छैन । दिल्ली महिला आयोगकी अध्यक्ष स्वातिले उनको उजुरीमाथि कार्वाहीका लागि नेपाली अधिकारीहरुलाई आग्रह गरिने बताएकी छन् । एजेन्सी

प्रकाशित मिति: २९ फाल्गुन २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्