गोपाल खड्काको प्रेमिकाको नाममा १८ करोडभन्दा बढी सम्पत्ति, को हुन अनिता लामा


 


काठमाडौं फागुन २९
तीन वर्षदेखिको उजुरी कहिले प्रमुख आयुक्तको घर्रामा, कहिले प्रमुखका आसेपासेको झोलामा हेरौँ, बुझौँ भन्दा धेरैलाई गाल प¥यो, सरुवाका नाममा त्यहाँबाट धपाइयो । तर, सधैँ लोकमानसिंह कार्कीको रजाइँ चलिरहने कुरा थिएन र अदालतबाट ‘योग्यता नपुगेको’ नाममा बिदा गरिए ।

अब लोकमानका घर्राहरू खुल्न थालेका छन् । थुप्रै त्यस्ता मामिला छन्, जसमा नियत खराब राखेर फाइल लुकाइएका थिए । कसैलाई जोगाउने त कसैलाई बढी सजायँ दिलाउने नियतका थिए, ती फाइल । अहिले चर्चा गर्न लागिएका व्यक्तिको फाइल फेरि दीप बस्न्यातको फन्दामा प¥यो । कस्तोसम्म भने, अनुसन्धान अधिकृत तोकिने तर अनुसन्धान गर्न नदिइने । अनुसन्धान कसरी गर्नुपर्छ भन्ने कुरा जानेकाहरू अगाडि बढ्न खोज्ने, ‘हैन–हैन, दुईचार दिन पर्खिनुस्’ भन्दै सधैं अल्मलाइने ।

दीप बस्न्यात पनि आफ्नो कार्यकाल सिध्याएर घर गएपछि नवीन घिमिरे कायमुकायम प्रमुख मुकर्रर भए । अनुसन्धान अधिकृत तोकिए, नायव उपरीक्षक (डिएसपी) कृष्णप्रसाद पंगेनी । लामो समय प्रहरीका विभिन्न मुद्दा अभियोजन शाखामा काम गरेका उनले यस्तो चुनौतिपूर्ण फाइल जीवनमा पहिलोचोटि हात पारेका थिए । सम्पत्ति अकुत छ भनिएको छ, तर विवरण भेटिँदैन । उनको टोलीले पत्ता लगायो, नेपाल इन्भेष्टमेन्ट, एनएमबी र सिटिजन्स बैंकको खाता नम्बर ।

अख्तियारको प्रहरी शाखाले चिठी लेखेर विवरण माग्यो । तर, विवरण हैन, धम्की र प्रलोभन पालैपालो आउन थाले । एकजना आयुक्तले त घुमाउरो पारामा ‘फ्युचरको ख्याल गर्नुस्’ सम्म भने । प्रमुख आयुक्त नै कस्सिएपछि बल्ल बैंकले खाता विवरण दिने भयो । हेर्दै जाँदा श्रीमतीभन्दा अर्कै महिलाको नाममा ट्रान्जेक्सन बढी देखिन्छ । र, यही छिद्र केलाएपछि १८ करोडभन्दा बढी सम्पत्ति गैरकानुनी रूपमा आर्जन गरेको फेला परेको छ, नेपाल आयल निगमका तत्कालिन कार्यकारी निर्देशक गोपाल खड्काको ।

यस्तो अप्ठेरोमा काम फत्ते गर्ने ती डिएसपीले अख्तियारबाट अघिल्लो महिना उत्कृष्ट सेवा पदक पाए, विभागबाट एक तह बढुवा पाएर एसपी पनि भए । प्रहरीले कुनै पनि बढुवाप्राप्त अधिकृतलाई साविकको दबरन्दीमा राखेन, यीबाहेक । अहिले पनि कृष्णप्रसाद पंगेनी त्यहीँ छन् र त्यस्तै काम गर्दैछन् ।

अख्तियारले तयार पारेको अभियोगपत्रअनुसार गोपालले तेह्रथुमको साविक जिरिखिम्ती गाविस– २ घर भई हाल बूढानीलकण्ठ बस्ने अनिता लामा सोदेम्बाको नाममा घर जग्गा र गाडी लुकाएका रहेछन् । पैतृक सम्पत्तिबाहेक विभिन्न तीन घर भेटिए । अरु दुई घर किन्नका लागि बैना गरिसकिएको विवरण पनि फेला प¥यो ।

अभियोगपत्रमा लेखिएको छ, ‘मिति २०६९।१२।२ देखि अनुसन्धान अवधिसम्ममा निजले पुख्र्यौलीबाहेक नै ३ वटा घर निर्माण तथा खरिद गरिसकेको र २ वटा खरिदका लागि आंशिक भुक्तानीसमेत दिइसकेको, काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रे जिल्लाका विभिन्न स्थानमा ११ कित्ता जग्गा खरिद गरेको पाइयो ।’

उनीद्वारा गैरकानुनी रूपमा आर्जित सम्पत्तिबाट खरिद गरिएको काठमाडौँ साबिक महांकाल गाविस ४, कित्ता नं. १९१ को सिजी डेभलपर्सद्वारा निर्मित सिजी हिल्स हात्तीगौंडाको तीन करोड २५ लाखको घर तिनै महिलाका नाममा दर्ता गरिएको छ । साबिक विष्णु बूढानीलकण्ठ गाविस ३ को कित्ता नम्बर ६८९, १४८२, तथा १५२० को ४० लाख ११ हजार ८७५ मा खरिद गरेको आठ आना जग्गा पनि उनैको नाममा लुकाइएको भेटियो ।

खड्काले ती महिलाको नाममा ८४ लाख ४६ हजार रूपैयाँको बा १६ च ८४८४ नम्बरको टक्सन गाडी पनि किनेका रहेछन् । अभियोगपत्रमा उल्लेख भएअनुसार, अनिताको नाममा दर्ता हुने गरी महांकाल गाविस ४ स्थित कित्ता नम्बर ३५० मा सिजी डेभलपर्सले निर्माण गरेको घर नं. २२ खरिद गर्न तीन करोड पाँच लाख दिएका थिए ।

अख्तियारले उनको सम्पत्ति बैध र अवैधबारे अनुसन्धान गर्दा यस्तो कुरा पत्ता लाग्यो, २०६९ साल चैतदेखि पक्राउ परेको बेलासम्म पारिश्रमिकबाट ४० लाख ५७ हजार, जग्गा बिक्रीबाट ५८ लाख ७५ हजार, ऋण सापटीबाट पाँच करोड ३३ लाख ३६ हजार, घर भाडाबाट १३ लाख ५६ हजार, जागिरबाट अवकाश हुँदा पाएको आर्थिक सुविधाबापत २९ लाख २२ हजार, पेन्सनबाट १४ लाख ७८ हजार, विप्रेषण आयबाट आठ लाख २६ हजार, गाडी बिक्रीबाट ३५ लाख,

छोरा–बुहारीको पारिश्रमिकबाट ११ लाख गरी जम्मा सात करोड ४४ लाख ५६ हजार रूपैयाँका साथै सार्वजनिक सेवामा प्रवेश गरेदेखि २०६९ चैतसम्ममा देखिएको विभिन्न शीर्षकको आय एक करोड २० लाख रूपैयाँसहित आठ करोड ६४ लाख ६९ हजार आर्जन गरेको । घरजग्गा खरिदमा ११ करोड ६१ लाख, विभिन्न कम्पनीको शेयर खरिदमा एक करोड ६ लाख, ऋणको साँवा–ब्याज भुक्तानीमा चार करोड २२ लाख रूपैयाँ खर्च गरेको ।

व्यक्तिगत रूपमा दिएको सापटी एक करोड २५ लाख ६० हजार, विभिन्न व्यक्ति तथा संस्थालाई दिएको चन्दा तथा सहयोग एक करोड १७ लाख ७५ हजार, छोराछोरीको अध्ययन र सामाजिक व्यवहारमा भएको खर्च २५ लाख, गाडी खरिदमा एक करोड १७ लाख रूपैयाँ । विभिन्न बैंकका एटिएमबाट भाटभटेनीसहितका विभिन्न सपिङ मलमा एक करोड ८० लाख १६ हजार रूपैयाँ खर्च गरेका थिए । विभिन्न ५५ भन्दा बढी बैंक वित्तीय संस्था तथा सहकारीमा जम्मा दुई करोड ७१ लाख ५३ हजारसमेत गरी २५ करोड २८ लाख रूपैयाँ भेट्टिएको थियो ।

यसमध्ये स्रोत खुलेको आय आठ करोड ६४ लाख ६९ हजार रूपैयाँमात्र छ । १८ करोड ६६ लाख रूपैयाँको खुलेको छैन । यसलाई अख्तियारले गैरकानूनी रूपमा आर्जन गरेको आरोप लगाएको छ । यो विवरणमा पूर्वन्यायाधीश (आफन्त) मार्फत अख्तियारका तत्कालीन हाकिमलाई बुझाइएको ५ करोड समावेश छैन । जनआस्थाबाट

प्रकाशित मिति: २९ फाल्गुन २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्