सिके राउतसँगको देश टुक्राउने सम्झौता राष्ट्रघाती कदम होः देउवा


 


पोखरा फागुन २८
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले स्वतन्त्र मधेसको नारा लिएर हिँडेका सिके राउतसँग गरेको सहमति राष्ट्रघाती कदम भएको आरोप लगाउँदै उक्त सहमति आफ्नो पार्टीलाई कुनै हालतमा मान्य नहुने स्पष्ट पारेका छन्।

झण्डै एकहप्ता लामो जिल्लाव्यापी भ्रमण सकेर राजधानी फर्किने क्रममा मंगलबार पोखरामा पत्रकार सम्मेलन मार्फत प्रमुख प्रतिपक्षी दलका नेता समेत रहेका पूर्वप्रधानमन्त्री देउवाले यस्तो धारणा व्यक्त गरेका हुन्।

देशमा नयाँ संविधान अनुसार सम्पन्न निर्वाचन पश्चात बनेको सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले विगत एकवर्षको कार्यकालमा देश र जनतालाई देखाउन लायक एउटा पनि राम्रो काम नगरेको आरोप पनि लगाए।

‘यो राष्ट्रमा ओली प्रधानमन्त्री भएको एक वर्ष भइसक्यो, एक वर्षमा एउटा काम पनि देखाउन लायक काम उनले गरेका छैनन्। उल्टै यो सिके राउतसँग देशम टुक्राउने काम गरेका छन्,’ देउवाले आक्रोसित हुँदै भने।

‘सिके राउतसँग गरेको सम्झौताबाट नेपालको कुनैपनि भागलाई टुक्राउने काम भयो भने त्यो कुनै पनि हालतमा हाम्रो पार्टीले मान्दैन। मैले यसलाई राष्ट्रघाती कदमको रुपमा यसलाई लिएको छु,’ देउवाले भने।

आफूले सरकार र राउतबीच भएको सहमतिबारे पूरै पढ्न नपाएको बताउँदै आफू राजधानी फर्किएपछि त्यसबारे विस्तृतमा अध्ययन गर्ने जानकारी दिए।

‘मैले सहमतिको विषय सबै पढेको छैन तर, सिके राउतले जब सार्वजनिक रुपमै नयाँ देश मधेस बनाउन जनमत संग्रह हुन्छ भनेपछि त त्यो देश टुक्राउने सम्झौता भयो नि,’ उनले थप्दै भने, ‘सहमतिमा जनअभिमत भनिएको छ तर, एउटा सिग्नेचरकर्ता त उ हो नि। एउटाले छुट्टिन पाउने अधिकार प्राप्त गरेको छ भन्छ। सिके राउतले नै नयाँ देश बनाउछु भनेपछि त कहाँबाट त्यो सहमति मान्न सकिन्छ?’

देशमा दिगो शान्ति र राजनीतिक स्थायित्वका लागि आफूले सबै असन्तुष्ट पक्षलाई राष्ट्रिय राजनीतिको मूलधारमा ल्याउने कुरामा आफ्नो विरोध नभई पूरा समर्थन रहने जानकारी पनि उनले दिए।

‘मूलधारको राजनीतिमा ल्याउने कुरा एउटा हो यसका लागि कहाँ विरोध गर्छु र गरेको छु? तर, जुन कुरा उन (सिके राउत)ले बोले त्यसमा राष्ट्रघात भएको छ। सिके राउतले देश अलग्गै बनाउने भनेका छन्। देश टुक्राउन जनमत संग्रह हुन्छ? सिके राउतले बोलेपछि के भन्ने?’

उनले पटक पटक दोहोर्याउँदै सहमति पूरै पढेपछि यदि राउतले नयाँ देश बनाउने र नेपाल टुक्राउने कुरा गरेको हो भने र त्यसमा सरकारले सहमति जनाएको हो भने त्यो आफू र आफ्नो पार्टीलाई कुनै हालतमा मान्य नहुने बताए।

बहुचर्चित नेपाल वायुसेवा निगमको वाइड बडी खरिद प्रकरणमा भएको आर्थिक अनियमितताको विषयमा आफूले विस्तृत छानविन गरी दोषीमाथि कानुनी कारबारी हुने पर्ने धारणा राख्दै आएको पनि बताए।

सरकारको पछिल्ला गतिविधिको विषयमा आपत्ति जनाउँदै सभापति देउवाले फौजदारी संहिताको नाममा प्रेसलाई कन्ट्रोल गर्न सरकारले खोजिरहेको आरोप पनि लगाए।

‘यो प्रजातन्त्रमाथिको अर्को आक्रमण हो भन्ने लाग्दछ। किन भने हाम्रोे पार्टी पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा छ। प्रजातन्त्र र प्रेस स्वतन्त्रता एकअर्काका परिपूरक हुन्। लेखन स्वतन्त्रता, वाक स्वतन्त्रता, अभिव्यक्तिको स्वतन्त्रता, पार्टी संगठनको स्वतन्त्रताको लागि हाम्रो पार्टी लडिरहन्छ। प्रजातन्त्रमा त्यो नभइ हुँदै हुँदैन। फौजदारी संहिताको नाममा प्रेसलाई कन्ट्रोल गर्ने भनेको अधिनायकवाद लादेर प्रजातन्त्रलाई कमजोर बनाउने कुरा हो,’ देउवाले थपे।

यसैगरी सरकारले स्थानीय निकायको अधिकार संकुचित गर्न लागेको जानकारी पाएको बताउँदै उनले यसका विरुद्ध पनि आफ्नो पार्टीले आवाज उठाउने बताए।

संसद र सडकमा प्रमुख प्रतिपक्षी दलकोे भूमिका प्रभावकारी भएन भन्ने प्रश्नको जवाफमा उनले पत्रकारलाई धन्यवाद दिँदै भोट हाल्नेबेला अरुलाई हाल्ने अनि भएन भन्ने भनि प्रतिप्रश्न गरे।

त्यसैगरी उनले सदनमा आफ्ना कुराहरु बोलेको र बाहिर जनमत तयार गर्न लागिपरेको पनि बताए।

पटक पटक पत्रकारले विपक्षीको भूमिकाप्रति प्रश्न गरेपछि देउवाले आफूहरुले सदनभित्र र बाहिर श्रृजना गरेको दबाब र आवाजकै कारण सरकारले गिरिजाप्रसाद कोइराला श्वास प्रश्वास केन्द्र र सुशील कोइराला क्यान्सर अस्पताललाई केन्द्र सरकार मातहतमा कायम गराउन सफल भएको पनि बताए।

आफूहरु जिम्मेवार प्रतिपक्षीको भूमिका निर्वाह गर्न लागिपरको बताउँदै उनले भने, ‘हामी एमाले जस्तो तीन चार महिना संसद चल्न नदिने पार्टी होइन नि। अब हामी सशक्त भूमिका खेल्छौँ। देशभरी नै आन्दोलन गर्नु पर्ने परिस्थिती पनि आउन सक्छ तर, हामी डिस्ट्रक्टीभ इलिमेण्ट चाँहि होइनौँ।’

पोखरा हुँदै राजधानी फर्कनु अघिका केहि दिन सभापति देउवाले मुस्ताङ, म्याग्दी, बाग्लुङ, पर्वत जिल्लाका विभिन्न कार्यक्रममा कार्यकर्तालाई सम्बोधन तथा भेटघाट गरेका थिए।

प्रकाशित मिति: २८ फाल्गुन २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्