ताप्लेजुङ अस्पतालका चिकित्सक तथा स्वाथ्यकर्मीको दुर्लभ प्रयास


 


ताप्लेजुङ आईतवार अपरान्हतिर ताप्लेजुङ जिल्ला अस्पतालमा अचेत अवस्थाकी एक गर्भवती महिलालाई उपचारका लागि ल्याइयो । बिरामीका आफन्त आत्तिएका छन्,छिटो उपचार चाहियो भन्छन् र यताउता दौडन्छन् ।

अस्पताल पुर्याए लगत्तै हेर्दैै गम्भिर अवस्था देखिने ति महिलाको उपचारका लागि चिकित्सक तथा स्वाथ्यकर्मीको टोली तयार भयो । परीक्षण थालियो । बिरामीको शरिरमा रगतको मात्रा अत्यन्तै कम छ । मुटुको धड्कन बन्द छ,प्रेसर मापनै हुदैन ।

डा.महेश्वर गोसाँईको नेतृत्वमा ४ जना चिकित्सक र स्वास्थ्यकर्मीको टोलीले परार्मश थाल्यो ।‘बिकल्प दुईवटा थिए,पहिलो अचेत अवस्थामा उपचारमा ल्याइपुर्याएकी ति महिलालाई रेफर गर्ने ।

दोेस्रो जोखिम मोलेर जिल्ला अस्पतालमै उपचार गर्ने’घटना बिवरण सुनाउँदै डाक्टर गोसाँईले भन्नुभयो । उहाँका अनुसार चिकित्सक तथा स्वास्थ्यकर्मीको टोलीले दोस्रो बिकल्प रोज्ने निधो लियो ।‘रेफर गर्दापनि बिरामीको जटिल अवस्थाले एक–डेढ घण्टा भन्दा लामो अवधिको जीवन धान्न नसक्ने देखेपछि हामीले जोखिम मोलेरै ज्यान बचाउने निधो लियौं’गोसाँईले बेलिबिस्तार लगाउनुभयो ।

जीवननै धरापमा परेकी मेरिङ्देन गाउँपालिका वडा नं ४ स्थायी घर भइ हाल फुङ्लिङ नगरपालिका बस्ने शान्ता लिम्बू चिकित्सक तथा स्वास्थ्यकर्मीले मोलेको जोखिम स्वरुप अहिले खतरामुक्त अवस्थामा जिल्ला अपस्तालमा उपचार गराईरहनु भएको छ ।

ब्लडबैंकको अभावले मान्छे मृत्यु नजिक पुग्दा सबैको मनकारी भाव,आँट र चिकित्सीय उर्जाका कारण ज्यान बचेका कमै उदाहरण मध्ये यसलाइ दुर्लभ घटना मानिएको छ । उपचारमा संलग्न डाक्टर हरिशंकर कार्कीका भनाईमा चिकित्सक तथा स्वास्थ्यकर्मीको टोली जोखिम मोलेरै उपचार गर्न तयार भए,रातमा ड्युटीमा रहेका प्रहरी र सेनाले रगत दिन हिच्किचाएनन् र बिरामीका आफन्तले उपचारटोलीलाई संकट टार्ने काममा ढाडस दिईरहे ।

‘यिनै तीनपक्षको सफल संयोजनले जीवन जोखिममा रहेकी शान्ताको उपचार सम्भव भयो’कार्कीले भन्नुभयो । चिकित्सकद्धय अशोक यादव र साजन ङाङ्गखुसीका अनुसार शान्ताको जस्तो रोग लिएर ताप्लेजुङ जिल्ला अस्पतालमा उपचारका लागि ल्याईएको यो पहिलो घटना हो ।

‘जिल्ला अस्पतालमा यस्तो प्रकृतिको बिरामी हामीले अहिले सम्म देखेका र उपचार गरेका थिएनौं’डाक्टर गोसाँईले पनि प्रष्ट्याउनुभयो । डाक्टर कार्कीका अनुसार इन्ट्राम्युरल इक्टोपिक प्रिगेन्सी अर्थात् जुन ठाउँमा गर्भ बस्नुपर्ने थियो त्यो भन्दा अन्यत्र स्थानमा गर्भ बस्दा पाठेघर फुटेर बाहिर निस्किएको अवस्थाकी बिरामी हुनुहुन्थ्यो शान्ता ।

१५ हप्ताको गर्भ रहेको उहाँको शल्यकृया गरेर उपचार गराउनु बाहेक अर्को बिकल्प थिएन । उहाँलाई उपचारका लागि अस्पताल ल्याउनुपूर्व नै झण्डै ४ लिटर रगत बगिसकेको थियो । ‘शरिरमा रगतको मात्रा अन्यन्त कम भएर अचेत भएको बिरामी,जसको तत्काल शल्यकृया गर्नुपर्नेछ,तर ब्लड छैन ।

तत्काल कसरी ४ पिन्ट रगत जुटाउने ? जोखिम मोलेर उपचार गराउन चिकित्सक टोली त राजी भयो,तर ब्लड छैन । यस्तो अवस्थामा चाँडो रगत उपलब्ध गराउनु उपचार टोलीका लागि अर्को जिम्मेवारी आइलाग्यो । नभन्दै जिल्ला प्रहरी कार्यालयबाट ड्युटीका लागि अस्पताल खटिएका प्रहरी सुरेन्द्र दाहाल रगत दिन तयार हुनुभयो ।

पहिलो एकपिन्ट रगत जुट्यो,त्यसपछि रक्त समूह मिल्ने अन्य व्यक्ति खोज्न सकिने अवस्था सृजना भयो ।’डा.गोसाई शान्ताको उपचारलाई यसरी स्मरण गर्नुहुन्छ । जुन ठाउँमा गर्भ बस्नुपर्ने हो,त्यो ठाउँमा नबसेर अन्यत्र बसेको अवस्थालाई इक्टोपिक ट्युवर प्रिगेन्सी भनिन्छ ।

चिकित्सकहरुका अनुसार इन्ट्राम्युरल इक्टोपिक प्रिगेन्सी अवस्था चाँही अत्यन्तै दुर्लभ मानिन्छ । यसको उपचार उपकरण र जनशक्ति पर्याप्त भएको स्थानमा मात्र सम्भव हुन्छ ।‘कहिलकाँही असमभव मानिएको उपचारलाई पनि सबैको संयोजनमा सहयोगमा सफल बनाउन सकिने रहेछ’डाक्टर गोसाँईले भन्नुभयो ।

उहाँले ताप्लेजुङ जिल्ला अस्पतालमा भएको यस्तो उपचारलाई चिकित्सकिय क्षेत्रमा दुर्लभ मान्न सकिने दावी गर्नुभयो । उहाँले उपचार टोलीमा रहेका सहित रगत दिन तयार हुने र उपचारका लागि चिकित्सक तथा स्वास्थ्कर्मीको टोलीलाई प्रोत्साहन र सल्लाह दिने बिरामीका आफन्तप्रति पनि आभार व्यक्त गर्नु भएको छ ।

उपचार टोलीमा डाक्टर गोसाँई,कार्की,यादव र ङाङ्गखुसीका साथ एनेस्थेसियाका कृष्णभक्त श्रेष्ठ र नर्सिङ टीमका दिना श्रेष्ठ तथा ममता लिम्बू लगायत रहनु भएको थियो । अघिल्लो बर्षमात्रै ताप्लेजुङ जिल्ला अस्पतालमा आन्द्रा फुटेकी एक महिलाको सफल उपचार गरेर यहाँको चिकित्कीय क्षेत्रले वाहवाही पाएको थियो । रेडियो तमोरको सहयोगमा 

प्रकाशित मिति: २८ फाल्गुन २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्