राजपा नेताले भने– राजपा र फोरम हुँदाहुँदै अब सिके राउतको ‘नयाँ दोकान’ चल्दैन !


 


वीरगञ्ज : राष्ट्रिय जनता पार्टी (राजपा) का सहमहासिचव नेजामुद्धिन समानीले मधेसमा राजपा र फोरम हुँदाहुँदै अब सिके राउतको ‘नयाँ दोकान’ नचल्ने बताएका छन् । मधेसमा धेरैवटा पार्टीलाई जनताले नरुचाउने भएकाले अब सिके राउतले अर्को पार्टी चलाइरहनु भन्दा राजपार फोरममै समाहित हुनु उचित हुने समानीको सुझाव छ ।

मधेसको मुद्दामा राजपा र फोरमले मिलेर संघर्ष गरिरहेकाले मधेसमा अर्को पार्टीको औचित्य नरहेको समानीको जिकिर छ । राजपा नेता समानीले अब सिके राउतका नाममा मधेसमा अर्को पार्टीको कुनै आवश्यकता नरहेको दाबी गरे ।

समानीले अनलाइनखबरसँग कुरा गर्दै भने, मधेसमा संसदीय व्यवस्थामार्फत राजनीति गर्ने नै उद्देश्य हो भने सिके राउतले अर्को पार्टी खोल्नु आवश्यक छैन, मधेसका लागि लड्ने पार्टी मधेसमा छन् । राष्ट्रिय जनता पार्टी र फोरमले मधेसको मुद्दा उठाइरहेकै छन् ।’

केपी ओली नेतृत्वको सरकारले मधेसमा दुईवटा दल भएको ठाउँमा तेस्रो दल खडा गर्ने प्रयास गरेकाले यसमा सरकार र सिके राउत दुबै असफल हुने समानीको दाबी छ । सिके राउतको मागमा खासै दम नभएको अवस्थामा सम्झौता गरेर केपी ओली सरकारले नयाँ रणनीति लिएकोे बताउँदै समानीले अनलाइनखबरसँग भने, ‘यसले काम गर्दैन, फेल हुन्छ ।’

मधेसी जनताले एउटै मुद्दा बोकेका राजनीतिक दलहरुलाई धु्रवीकरण हुन आग्रह गरिरहेकाले सिके राउतले खोल्ने दोकान नचल्ने समानीको दाबी छ । उनले अनलाइनबरसँग भने, ‘मधेसमा धेरै दोकान खोलेर, मधेसको एजेण्डाको कुरा गरेर मात्रै हुँदैन, एक भएर अघि बढ्नुपर्छ भन्ने जनताको ईच्छा छ ।’

राजपा सहमहासचिव समानीले सिके राउतलाई मधेसमा छुट्टै दल खोल्न भन्दा एक भएर अघि बढ्न सुझाव दिए । उनले भने, ‘जनताले भनिसकेका छन् कि एउटै मुद्दाका लागि धेरै पार्टी खोल्नु आवश्यक छैन । त्यसैले हामीले ६ वटा दल मिलेर एउटा राजपा गठन गरेका हौं । हामी मधेसमा दलहरुको संख्या कम गर्नेतर्फ लागेका छौं । हामीले मिलेर चुनाव लड्यौं, मिलेर प्रदेश २ मा सरकार पनि चलाइरहेका छौ, यो जनताको चाहना हो ।’

सरकार र सिके राउतवीचको सहमति अधुरो रहेको राजपा नेता समानीको विश्लेषण छ । उनले भने, ‘सरकार भन्छ हामीले देश टुक्र्याउनेर नटुक्र्याउनेबारे जनमत संग्रह गर्ने सहमति गरेको छैन, तर सिके राउतको भनाइमा जनमत संग्रह गर्ने सहमति भएको छ ।’

समानीले प्रतिप्रश्न गर्दै भने ‘जनकपुरमा स्वतन्त्र मधेसको झण्डा हेर्नुभयो, छुटेर गएपछि भएको प्रदर्शनको स्वरुप कस्तो छ रु गृहमन्त्रीले संसदमा जुन किसिमले व्याख्या गर्नुभएको छ, सिके राउतका नेता कार्यकर्ताहरुले जुन हिसाबले प्रदर्शन र गतिवधि देखाइरहेका छन्, त्यो मेल खाइरहेको छैन । त्यसैले यो सहमति नै स्पष्ट छैन, अधुरो देखिएको छ ।’

प्रकाशित मिति: २८ फाल्गुन २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्