नेकपा नेता भीम रावलले गरे खतरा ट्वीट


 


काठमाडौं २८ फागुन
नेकपा नेता भीम रावलले सरकार र सीके राउतबीच भएको ११ बुँदे सहमतिमा असन्तुष्टी जनाउँदै आएका छन् । शुक्रबार भएको ११ बूँदे सहमतिपछि सरकारसँग असन्तुष्ट बन्दै आएका रावलले पछिल्लोसमय सार्वजनिक रुपमा सरकारको विरोध गर्दै आएका छन् ।

रावलविरुद्ध कुप्रचार भएपछि उनले प्रतिरोध गरेका हुन् । मंगलबार सामाजिक सञ्जाल ट्वीटरमा पोष्ट गर्दै रावलले त्यतिबेला नेपालको शान्ति सुरक्षा बिग्रिएको र आफू गृहमन्त्रीमा नियुक्त हुँदा अमेरिका मात्र नभएर अन्य देशका कूटनीतिज्ञलेसमेत स्वागत गरेको स्मरण गरेका छन् ।

उनले भनेका छन्, ‘नेपालमा सुरक्षा स्थिति बिग्रिएको बेला संभवत क्षमता र अनुभव हेरेर होला गृहमन्त्रीमा मेरो नियुक्तिलाई अमरिकी कूटनीतिज्ञले मात्र होइन प्रमुख देशका कूटनीतिज्ञले स्वागत गर्दै विशेष सुरक्षा नीतिको समर्थन गरेका थिए । यसलाई कसैको खबरी भन्ने जस्तो निकृष्ट प्रायोजित कुप्रचार गरिदैँछ ।’

साथै उनले नेपाल आमालाई गालिगलौज गर्ने सीके राउतलाई राष्ट्रिय हिरोको सम्मान दिएको भन्दै असन्तुष्टी पोखेका छन् ।

उनले भनेका छन्, ‘नेपाल आमालाई गालिगलौज गर्दै टुक्र्याउन विदेशीहरूसंग समेत साँठगाँठ गर्ने सीके राउतलाई राष्ट्रिय हिरोको सम्मान दिँदै अलग देशको नेतासंग झै सम्झौता गरी स्वतन्त्र मधेश र स्वशासन जस्ता संविधान विपरीतका कुरा, मेरो विरूद्धको कुप्रचारको थोत्रो बर्कोले छोपिने छैनन् ।

भीम रावलसँगै वामदेव गौतम, नारायणकाजी श्रेष्ठ प्रकाशसहितका नेताले पनि सहमतिमा शंका गरेका छन् । तर प्रधानमन्त्री ओली पक्षका नेताहरुले त्यसको बचाउ गर्दै आएका छन् ।

तर नेकपाका सांसद विभाजित देखिएका छन् । आइतबार भएको संसद बैठकमा राउतसँगको सहमतिमा शंका गरेका भीम रावललाई लक्षित गर्दै ओली पक्षीय नेता महेश बस्नेतले रावललाई सिटामोल खान सुझाव दिएका थिए ।

नेता रावलले बस्नेतको भनाईको जवाफ सामाजिक सञ्जाल ट्वीटर मार्फत दिएका थिए ।

यहिक्रममा सोमबार बिहान प्रधानमन्त्री ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमालले सम्झौताको विरोध गर्ने वा त्यसमा शंका गर्नेलाई लक्षित गर्दै व्यंग्यात्मक ट्वीट गरेका थिए ।

उनले लेखेका छन्, ‘नेताहरु‘ झुक्किए, फसे वा फसाईए या तिनिहरुले गल्ति नै गरे पनि केही कुरा छैन–हामी धन्य छौँ मुलुक जोगाउने एक–से–एक उहाँहरु हुनुहुन्छ । आङ् सिरिङ्ग हुन्छ र, साह्रै आश्चर्य लागि रहेको छ, उहाँहरुको जन्मअघि यो मुलुक कसरी जाेगिए छ ?’

रिमालले ‘मुलुक जोगाउने एक–से–एक उहाँहरु’ भनेर भीम रावलसहितका नेतालाई शंकेत गरेका हुन् । सीके राउतसँगको सम्झौताले नेकपाभित्र आन्तरिक मिलेमतोको विपरित कलहले घनिभूत रुप लिँदै गएको देखिएको छ ।

प्रकाशित मिति: २८ फाल्गुन २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्