कुकुरलाई तीन भोटले पछि पार्दै बाख्रो बने मेयर


 


एजेन्सी । अमेरिकाको बरमोन्टस्थित सानो सहर ‘फेयर हेभन सहर’मा एक बाख्रोलाई मेयर बनाइएको छ। अमेरिकाको दक्षिणी किनारामा रहेको फेयर हेवनमा लिंकन नामको बाख्रालाई मेयर बनाइएको हो ।

लिकंन आफ्नो निकटतम प्रतिद्वन्द्वी सैम्मी नामको कुकुरलाई तीन भोटले पछि पार्दै मेयर बनेको हो । मेयरका लागि कुकुर बिरालोलगायतका अन्य १५ जनावर पनि उम्मेदवार बनाइएका थिए।

लिंकनले १३ भोट पाए भने सैम्मीले १० भोट पाएको थियो । अरु १३ उम्मेदवारहरुले जम्मा ३० भोट मात्र प्राप्त गरे। जम्मा ५३ मतदाताले मतदान गरेका थिए ।

अन्तराष्ट्रिय सञ्चारमाध्यमको अनुसार लिंकनलाई टाउन मिटिङ डेको अवसरमा मेयर बनाइएको हो। लिंकनले मेयरको पदभार पनि सम्हालिसकेको छ। टाउन म्यानेजको अनुसार एक वर्षका लागि लिंकन निर्वाचित भएको हो ।

लिंकनले अब फेयर हेभनमा हुने विभिन्न कार्यक्रममा अतिथिको भूमिका निभाउनेछ । कार्यक्रममा प्रमुख अतिथि भएर कार्यक्रमको उद्घाटन गर्नेछ। फेयर हेभनमा करिब २५ सय मानिसको बसोबास गर्ने बताइएको छ ।

यस भन्दा अघि फेयर हेवनमा मेयर निर्वाचित हुने प्रावधान थिएन । तर टाउन म्यानेजका रूपमा जोसेफ गन्टर कार्यरत छन् । उनले मेयरले जस्तै काम गर्छन् । टाउन म्यानेजले लिंकन एक स्कूल शिक्षकको बाख्रो भएको पनि बताए । उक्त बाख्रो ३ वर्ष उमेरको रहेको स्थानीय अधिकारीहरूले जनाएका छन् ।

टाउन म्यानेजरका अनुसार जनावरलाई सहरको मेयर बनाउने आइडिया उनलाई उत्तरी मिसिगन राज्यले दिएको थियो। सोही अनुसार उनले स्थानीयस्तरमा खेलकुद मैदानका लागि रकम जुटाउन यो तरिका अपनाएका बताएका छन्।

प्रकाशित मिति: २८ फाल्गुन २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्