“सरकारले वृद्धाभत्ता ५ हजार पुर्‍याउँछ”


 


पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले पदावधि सकिने बेला वृद्धाभत्ता ५ हजार पु¥याउने बताएका छन् ।

मुख्यमन्त्री गुरुङले सरकारले पदावधि सकिनेबेलासम्म भत्ता ५ हजार रुपैयाँ पुर्‍याउने बताउँदै ढुक्क रहन आग्रह गरेका हुन् । कास्कीको रुपा गाउँपालिका भएको अन्तर स्थानीय तह भलिबल प्रतियोगिता तथा स्थानीय झाँकी प्रदर्शन कार्यक्रमको समापन कार्यक्रममा बोल्दै मुख्यमन्त्री गुरुङले यो वर्ष कमजोरी भए पनि अर्को वर्षबाट सबै खाले भत्ता बढ्ने बताए ।

‘भोट माग्दा कम्युनिस्ट पार्टीका उम्मेदवारले भनेका थिए होलान्, हामी वृद्धाभत्ता वा विधुवा भत्ता ५ हजार रुपैयाँ पुर्‍याउँछौं । तर, आजसम्म भत्ता बढेको छैन भन्ने लागेको होला’ मुख्यमन्त्री गुरुङले भने, ‘हतार नगर्नुस्, यसपटक छुट्यो, तर ४ वर्ष त बाँकी छ नि । ४ वर्षभित्र १/१ हजार बढ्यो भने पनि ५ हजार पुग्दैन र ? ’

महंगीको तुलनामा वृद्धाभत्तासँगै अरु भत्ता पनि बढाउनुपर्छ भनेर आफूले संघीय सरकारलाई भनेको मुख्यमन्त्री गुरुङले बताए ।

प्रकाशित मिति: २७ फाल्गुन २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्