मदिराले मातेर बेहुला मन्डपमा पुगेपछि…


 


छप्रा (बिहार), फागुन २७ । भारतको बिहार राज्यस्थित डुमरी छपिया गाउँकी एक बेहुलीले मदिरा सेवन गरेर बिहे मन्डपमा आइपुगेका बेहुलासँग विवाह गर्न अस्वीकार गरेकी छन् ।

रिन्की कुमारीको बब्लु कुमारसँग शनिबार विवाह गर्नेगरी तय भएको थियो ।

छोरीका बाबु त्रिभुवन साहले भने–‘बेहुला यति धेरै मदिरा सेवन गर्दा रहेछन् कि आफू कहाँ आइपुगें भन्नेसमेत पत्तो हुँदो रहेनछ । बिहे मन्डपमै उनले अभद्र व्यवहार देखाए । त्यसपछि छोरीले बिहे गर्न मानिनन् ।’

नातेदारहरुकाअनुसार बिहे मन्डपमा पनि बेहुला उभिनसक्ने अवस्थामै थिएनन् । बिहेका अरु संस्कारपनि उनी ठीकसँग गर्न सकिरहेका थिएनन् । त्यही भएर बेहुलीले मन्डप छाडेर भागिन् ।

दुवै परिवारले बिहेका लागि कुमारीलाई राजी गराउने प्रयत्न गरेका थिए । तर, उनी सहमत भइनन् ।

अन्त्यमा, गाउँलेहरुले केटा पक्षले लिएको सबै दाइजो फिर्ता नगरेसम्म केटालाई उसको घर जान दिएका थिएनन् ।

भारतका बिहार र उत्तर प्रदेशका ग्रामीण इलाकामा वर्सेनि अवैध मदिरा सेवनबाट मानिसहरुको मृत्युसमेत हुने गरेको छ । रासस/एएनआई

प्रकाशित मिति: २७ फाल्गुन २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्