रविन्द्र अधिकारी हेलिकप्टर दुर्घटना : हेलिकप्टरबाटै घटनास्थलको अनुसन्धान


 


काठमाडौ, फागुन २७

बहालवाला पर्यटनमन्त्री रविन्द्र अधिकारीसहित ७ जनाको ज्यान जाने गरी ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनाबारे छानबिन गर्न गठित समिति घटनास्थल नै नपुगेर काठमाडौं फर्किएको छ ।

घटनास्थलसम्म पुगेका सर्वसाधारण र सुरक्षाकर्मीसँग कुराकानी गरेर समितिले अनुसन्धानलाई अगाडि बढाएको पाइएको छ । समितिको टोलीले हेलिकप्टरबाट प्रत्यक्षदर्शी र सरोकारवालाई भेला गर्दै आवश्यक सूचना संकलन गरेको छ । तर टोली आफैं घटनास्थलको अवलोकन र अवस्थाको आकलन गर्न स्थलगत अनुगमनमा गएन ।

काठमाडौंबाट ताप्लेजुङ गएको छानबिन समितिले ताप्लेजुङका विभिन्न ब्यक्तिसँग सोधखोज गरेको छ । आइतवार छानबिन टोली हेलिकप्टरबाट ताप्लेजुङको सुकेटार विमानस्थलमा पुगेको थियो । त्यसपछि पाथिभरा मन्दिर पुगेको टोलीले हेलिकप्टरबाटै प्रत्यक्षदर्शीलाई मन्दिर र काफ्लेपाटीबाट बोकेर सुकेटार लगेको थियो ।

मन्दिरबाट १ जना सुरक्षाकर्मी र काफ्लेपाटीबाट १ जना पुजारी, १ जना स्थानीय र १ जना सुरक्षाकर्मीलाई हेलिकप्टरमा राखेर सुकेटार लगिएको थियो । छानबिन समितिले बयान लिएका १ जना सर्वसाधारणले नाम नखुलाउने शर्तमा भने, ‘समितिले हामीलाई घटनास्थलमा पुग्दा कस्तो थियो रु शवहरू कस्तो थियो रु कसरी पुग्नुभयो रु उड्दाखेरी कस्तो अवस्था थियो रु कसरी थाहा पाउनुभयो रु लगायत प्रश्न सोध्यो ।’

छानबिन समितिले मौसम र वातावरणको अवस्थालाई प्राथमिकतामा राखेर प्रश्न सोधेको ती स्थानीयले बताएका छन् । ‘हामीसँग भएका फोटो र भिडियो पनि दियौं,’ उनले भने, ‘टोलीका सदस्यले घटनास्थलसम्म जाने कुरा गर्नुभएन । उहाँहरूले जान खोज्नुभएको भए हामी पुर्‍याइदिन्थ्यौं ।’

पाथिभरा मन्दिरबाट पैदल हिँडेर घटनास्थल पुग्न करीब साढे २ घण्टा लाग्ने एक स्थानीयले बताए । ‘मन्दिरबाट आधा बाटोसम्म गाडी पुग्छ, आधा बाटो मात्रै हिँड्नुपर्छ,’ ती स्थानीयले भने, ‘हेलिकप्टर दुर्घटना भएपछि पैदल हिँड्न मिल्ने बाटो बनेको छ, घटनास्थलमा पुग्न सकिन्छ ।’

पाथिभरा मन्दिर परिसरमा छानबिन समितिले पाथिभरा मन्दिरका पुजारी, देख्ने प्रहरी, पाथिभरा क्षेत्र विकास संरक्षण समिति कर्मचारीसँग सोधखोज गरेको थियो । मन्दिरमा छलफल र बयानपछि टोलीले घटनास्थल आसपासका केही सर्वसाधारण र प्रहरीलाई सुकेटारमा नै बोलाएर बयान लिएर काठमाडौं फर्किएको छ । जिल्ला प्रहरी कार्यालय तथा प्रशासनको सहयोगमा घटना भएको गाउँका स्थानीयलाई टोलीको सम्पर्कमा ल्याइएको थियो । – लोकान्तरबाट

प्रकाशित मिति: २७ फाल्गुन २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्