मन्दिरको जग्गा किर्ते गर्ने मालपोतका अधिकृत अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगाल काठमाडौंमा


 


इनरुवा फागुन २७ किर्ते गरी मन्दिरको जग्गा व्यक्तिका नाममा बनाएको अभियोगमा मालपोत कार्यालय इनरुवाका दुई जना अधिकृतहरु अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगाल काठमाडौंमा बयानका लागि तानिएका छन ।
रामधुनी स्थित बकलौरीमा रहेको चन्द्र शेखर महादेव मन्दिरको नाम दर्ता रहेको जग्गालाई श्रेष्तामा किर्ते गरी व्यक्तिका नाममा कायम गरेबापत २५ लाख रुपैयाँ घुस लिएको आरोप लागेका मालपोत अधिकृत मातृका दंगाल र प्रमुख मालपोत अधिकृत सुर्यबहादुर थापा केही महिना अगाडि सोनापुर स्थित राधाकृष्ण मन्दिरको जग्गा व्यक्तिका नाममा गरिदिएका थिए ।

मालपोतबाट श्रेष्तामा मन्दिरको जग्गा व्यक्तिका नाममा गरिदिए पछि जग्गाको प्लटिङ कारोवार गर्नेहरुले बिक्री वितरण गरेपछि मन्दिरका संरक्षकहरुले मालपोतका अधिकृतहरु विरुद्ध प्रहरी र अख्तियारमा उजुरी गरेका थिए ।
सोनापुर राधाकृष्ण मन्दिरको जग्गा व्यक्तिका नाममा पास गराउन सफल भएका अधिकृतहरुलाई कारवाहीको प्रकृया सुरु भएकाले वयानका लागि अख्तियारमा आइतवार हाजिर गराएको कर्मचारी स्रोतले जनाएको छ ।

मालपोत कार्यालय इनरुवाका दुवै जना अधिकृतहरु यस अगाडि समेत अदालतबाट राजश्व छली तथा किर्ते अभियोगमा घरौटीमा रिहा भएर मुद्दाको तारेखमा हाजिर भएका अवश्थामा रहेकाले अख्तियारको वयान पछि जागिरबाट निलम्बनमा पर्ने सम्भावना रहेको स्रोतले जनाएको छ ।

केही समय अगाडि प्रमुख मालपोत अधिकृत सूर्यबहादुर थापा इटहरी स्थित एक जग्गाको राजश्व मुल्याङकन प्रकरणमा सुनसरी जिल्ला अदालतबाट ५० हजार घरौटीमा रिहा भई तारेखमा मुद्दा खेपिरहेका छन ।
चन्द्र शेखर महादेव मन्दिरको जग्गा व्यक्तिका नाममा कायम गराउने कार्यमा संलग्न रहेका नासु भरतराज दाहाल कार्यालय बाहिरबाटै मालपोतमा रहेको इटहरी फाँट संचालन गरेर रकम असुली गरिरहेको स्रोतले जनाएको छ ।

मालपोत कार्यालय इनरुवामा ठेक्कामा फाँट सञ्चालन गरेका मालपोत अधिकृत मातृका दंगालले कार्यालयमा विभिन्न निकायहरुबाट हुने छड्केबाट बच्नका लागि कार्यालयको मुलद्धारभन्दा बाहिरको मुल सडक, मुख्य प्रवेशद्धार र दक्षिणतर्फको सडक, भित्री प्रवेशद्धार लगायत कार्यालयभित्रको मानिस हिड्ने स्थानहरु सीसीटीभी जडान गरेर आफ्नो कार्यकक्षबाट निगरानी गर्ने गरेको फेला परेको छ ।

आफ्नो कार्यकक्षमा सीसीटीभीको स्क्रिन राखेर मालपोत कार्यालय मुलद्धार अधिकृत दंगालले बाहिरबाट आउने पत्रकार, अख्तियारलगायत अन्य निकायबाट आएकाहरुका बारेमा मोवाइलमार्फत कर्मचारीलाई जानकारी गराउने गरेको कर्मचारी स्रोतले जनाएको छ ।

मालपोत कार्यालयमा प्रत्यक्ष रुपमा अधिकृत दंगाल र भुमिसुधार कार्यालयमा प्रमुख अधिकृत थापाले कर्मचारीहरुलाई असुली गर्न लगाएर सेवाग्राहीहरुलाई अनावश्यक दुखः दिने गरेको सर्वसाधारणहरुले गुनासो गर्दै आएका छन ।

प्रकाशित मिति: २७ फाल्गुन २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्