सुुदूरपश्चिम नेकपामा फेरि लफडा : प्रधानमन्त्रीको भ्रमण नै बिथोलियो


 


कैलाली  नेकपा सुदूरपश्चिमका नेताहरुको आन्तरिक कलहले प्रधामन्त्रीको सुदूरपश्चिम भ्रमण विथोलिएको छ ।

कैलाली जिल्ला समन्वय समितिले कर्णाली नदीमा आयोजना गरेको र्याफ्टिङ ज्याम्बोरी तथा पर्यटन महोत्सवको उद्घाटन गर्न प्रधानमन्त्री केपी शर्मा ओली आगामी चैत २ गते कैलाली जाने कार्यक्रम तय भएको थियो ।

कर्णालीमा आयोजना गर्ने र्याफ्टिङ ज्याम्बोरीलाई गिनिज बुक अफ वर्डमा नाम लेखाउने तयारी आयोजकले गरेको थियो । एकसय एघार वटा डुङ्गामा करीब बाह्रसय मानिसहरुले एकैपटक ¥याफ्टिङ गर्ने उक्त कार्यक्रमले कर्णाली करिडरका आठ जिल्लाको पर्यटन विकासको सम्भावनालाई उजागर गर्ने अपेक्षा गरिएको थियो ।

आयोजक कैलाली जिल्ला समन्वय समितिले एकदमै उत्साहका साथ तयारी थालेको थियो । तर, नेकपाका सुदूरपश्चिम ईञ्चार्ज भीमबहादुर रावल र नेकपा केन्द्रीय सदस्य झपटबहादुर रावलले कार्यक्रम बहिस्कार गर्ने हौवा पिटेपछि ज्याम्बोरीको आयोजना अनिश्चित भएको छ ।

स्रोतले भन्यो–रावलद्वयले आफू निकट स्थानीय निकाय प्रमुख र कार्यकर्ताहरुलाई र्याफ्टिङ ज्याम्बोरी कार्यक्रममा सहयोग नगर्न उर्दी जारी गरेपछि २०७५ चैत २ गतेको कार्यक्रम स्थगित भएको छ ।

सुदूरपश्चिम प्रदेशको तत्कालीन एमालेमा रावलद्वयको एकलौटी बर्चश्व थियो । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली निकट नेता कर्णबहादुर थापा सुदूरपश्चिम नेकपाको अध्यक्ष बनाइएपछि रावलद्वयहरुले एकीकरणपछिका कार्यक्रमहरुमा अवरोध गर्दै आएको नेकपा सुदूरपश्चिमका नेताहरु बताउछन् ।

रावलद्वय वरिष्ठ नेता माधव नेपाल निकट मानिन्छन् । तत्कालीन सुदूरपश्चिम एमालेमा सिन्डिकेट चलाउदै आएका रावल पार्टी एकीकरण पछिको नेकपामा कमजोर देखिदै आएको प्रदेशका नेता तथा कार्यकर्ताहरुको बुझाई छ ।

एकीकरण पछि भीमबहादुर रावल हतास देखिदै आएको रावल निकट एकजना प्रदेश नेताले साँघुलाई बताए । उनले भने ‘कुनैबेला भीमबहादुर रावल भनेपछि पार्टी कमिटीका बैठक र छलफलहरुमा उत्साह र उमंगको वातावरण हुन्थ्यो तर आजभोलि रावलका प्रस्तुतीहरु पट्यारलाग्दा हुन्छन् । उनी जे कुरामा पनि विरोध मात्रै गर्छन ।’

नेकपा सुदूरपश्चिम प्रदेशका ईन्चार्ज समेत रेहका भीमबहादुर रावलले चैत २ मा आयोजना गरिएको र्याफ्टिङ ज्याम्बोरी मात्र होइन २०७५ माघ २० गते नेकपाका दुबै अध्यक्ष र महासचिवले सम्बोधन गर्ने प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेलालाई समेत रावल र उनका समर्थकले विथोलेका थिए । पछि गएर लामो वहस र छलफलपछि उक्त कार्यक्रम २०७५ फागुन ८ गते आयोजना गरिएको थियो ।

२०७५ माघ २० गतेको उक्त कार्यक्रम विथोलिनुका पछाडि त्यस्तो ठूलो कारण पनि खासै थिएन । उक्त कार्यक्रमको तयारी समितिको गठनका लागि प्रदेश अध्यक्ष कर्ण थापाले माघ १२ गते धनगढीमा अनौपचारिक बैठक बोलाउदा भीमबहादुर रावलले ‘मलाई नसोधेर किन बैठक बोलाएको’ भनि विवाद गरेको स्रोतको भनाई छ । त्यो विवाद पार्टीको तल्लोतहसम्म पुगेको थियो । प्रदेश अध्यक्ष कार्यकारी अधिकारप्राप्त हुने नेकपाको विधानमा प्राब्धान छ ।

अहिले पनि त्यस्तै भएको छ । निर्वाचनताका सुदूरपश्चिम एमालेका एक्ला कमाण्डर भएकाले रावलले आफू निकटलाई टिकट बाँडेकाले प्रदेशका सांसद, मन्त्री र स्थानीय निकायका प्रमुखमा रावल निकट जनप्रतिनिधिहरुको संख्या बढी छ । र्याफ्टिङ ज्याम्बोरीमा कुनै पनि सहयोग नगर्न नेता भीम र झपटले आफू निकट जनप्रतिनिधिहरुलाई निर्देशन दिएको कैलाली जिससका एकजना सदस्यको भनाई छ ।

प्रदेश अध्यक्षमा कर्णबहादुर थापा आएपछि सुदूरपश्चिम प्रदेशमा भीमबहादुर रावलको पल्ला खस्किंदै गएको कतिपयको विश्लेषण छ । त्यही कारणले गर्दा उनी र उनका समर्थकहरु आजभोलि आफ्नै पार्टीका नेता कार्यकर्ताको विरुद्धमा अनेक खुराफात गरेर रमाउने गरेको सुदूरपश्चिम प्रदेशका अधिकांश नेता कार्यकर्ताहरु गुनासो गर्छन् । (साँघु २०७५, फागुन २७ गते)

प्रकाशित मिति: २७ फाल्गुन २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्