विभाजनको संघारमा नेकपा, नेताबीच बन्द भयो बोलचाल


 


काठमाडौं, फागुन २७

सरकारले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नेकपालाई मुख्य सुरक्षा चुनौतीका रुपमा लिएको छ । दुई तिहाईको कम्युनिस्ट सरकार गठन भएको एक वर्षे अवधिमा विप्लवका कार्यकर्ताहरूले दर्जन बढी बम विष्फोटलगायत हिंसाका घटनाहरू गराएर आतंक सिर्जना गरेका छन् । साँघु साप्ताहिकले समाचार छापेको छ ।

पछिल्लो एक महिना यता प्रहरीले विप्लवका सयौँ कार्यकर्ताहरूलाई हतियारसहित पक्राउ गरिसकेको छ । शान्ति प्रक्रियाका लागि वार्तामा आउन सरकारले गरेको आह्वानलाई महत्व नदिएपछि सरकारले प्रशासनिक कारबाहीमार्फत तहलगाउन संकेत देखाएको छ ।

डा सीके राउतसँग एघार बुँदे सहमतिमा हस्ताक्षर गर्न आयोजित सभामा ०७५ फागुन २४ गते शुक्रबार बोल्दै प्रधानमन्त्री केपी ओलीले विप्लवका नेता तथा कार्यकर्ताहरूलाई लुटेरा भनेर आलोचना गरे ।

त्यसको भोलिपल्ट फाुन २५ गते प्रदेशस्तरीय सुरक्षा भेलालाई सम्बोधन गर्न कर्णालीको राजधानी सुर्खेत पुगेका गृहमन्त्री रामबहादुर थापाले विप्लवका नेता तथा कार्यकर्ताहरूलाई राजनीतिक व्यवहार नगर्न सुरक्षा निकायलाई निर्देशन दिए ।

यता, विप्लवको नेकपाविरुद्ध सरकार कडा रुपमा प्रस्तुत हुँदैछ भने उता पार्टीभित्र महासचिव नेत्रविक्रम चन्द विप्लव र पार्टीका दोस्रो वरीयताका नेता खड्गबहादुर विश्वकर्मा प्रकाण्डबीचको विवाद चर्किदै छ ।

नेकपा माओवादीबाट फुटेर मोहन बैद्यको नेतृत्वमा ०६९ साल असार ५ गते गठन भएको नेकपा माओवादी क्रान्तिकारीमा सँगै आएका विप्लव र प्रकाण्डले बैद्यलाई छाडेर ०७१ साल मंसिर ७ गते नेकपा माओवादी गठन गरेका थिए । प्रहरी हिरासतमुक्त भएदेखि प्रकाण्ड र विप्लवबीच बोलचाल नै बन्द भएको स्रोतले दाबी गरेको छ ।

०७५ फागुन ११ गते ललितपुरको नख्खुस्थित एनसेल प्रालिको गेटमा गराइएको बाम बिस्फोटपछि प्रेस विज्ञप्ति निकाल्न पार्टी हेडक्वार्टरले दिएको निर्देशन प्रकाण्डले नमानेपछि महासचिव विप्लवले नै विज्ञप्ति निकालेको स्रोतले जनाएको छ । एनसेलमाथिको दोस्रो कारबाहीका पक्षमा प्रकाण्ड नरहेको उनी निकट एक नेताले बताए ।

प्रकाण्ड, फ्रयाक्सन इन्चार्ज मोहन कार्की जीवन्त र जनस्वास्थ्यकर्मी महासंघका अध्यक्ष टीका कँडेलले एनसेलमाथि आक्रमण नगर्ने भनेर नियमितरुपमा ठूलो रकम चन्दा लिने गरेकोले यो समूह कारबाहीको विपक्षमा रहेको स्रोतले बनायो । पार्टीमा प्रवक्ताले नै विज्ञप्ति निकाल्ने प्रचलन रहँदै आएको थियो । प्रकाण्डले टेर्न छाडेपछि महासचिव विप्लवले पनि खासै भाउ नदिएको नेता तथा कार्यकर्तापंक्तिमा चर्चा छ ।

प्रकाशित मिति: २७ फाल्गुन २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्