नारायणकाजी श्रेष्ठले भने : समृद्व नयाँ नेपाल बनाउने कि देशमाथि खेलवाड गर्ने ?


 


काठमाडौं, फागुन २७

नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले नेपाल सरकार र ‘विखण्डनकारी’ सिके राउतबीच भएको सहमतिप्रति आपत्ति जनाएका छन् । देशको सार्वभौमिकता र अखण्डताकोविरुद्ध खुलम्खुल्ला विखण्डनकारी नारा र जुलुस किन र कसरी भइरहेको छ भन्दै आपत्ति जनाएका हुन् ।

उनले ट्‍वीट गर्दै प्रश्‍न गरेका छन्, “आज हाम्रो प्यारो देशको सार्वभौमिकता र अखण्डताकोविरुद्ध खुलम्खुल्ला विखण्डनकारी नारा र जुलुस कसरी र किन भैरहेछरु यो हद भयो,असह्य भयो। विखण्डनकारी गतिविधिको अन्त्यको निम्ति सम्झौता कि विखण्डनवादलाई वैधानिकता दिन भन्‍ने सवाल उठ्नै नपाउने गरी सरकारले तु कदम चाल्नु पर्छ। गम्भीर बनौँ।”

उनले अहिले पाएको अवसरलाई गुमाउनु नहुने बताएका छन् । राजनीति सत्ता-शक्ति,पद-प्रतिष्ठा-प्रचार र पैसा-सुविधाको निम्ति नभई देश,जनता, परिवर्तन, न्याय, सत्य र मु्क्तिको लागि गर्नु पर्ने बताएका छन् ।

उनले लेखेका छन्, ‘हाम्रो राजनीति देश, जनता, परिवर्तन, न्याय, सत्य र मुक्तिको निम्ति कि सत्ता-शक्ति, पद-प्रतिष्ठ-प्रचार र पैसा-सुविधाको निम्ति रु यतिवेला प्राप्त भएको अवसरलाई पक्रेर समृद्व नयाँ नेपाल बनाउने कि देशमाथि खेलबाड गर्ने गम्भीर आत्मसमीक्षा गरौं। राजनीति सफा गरौं, देश बचाऔं, देश बनाऔं।’

बिहीबार जेलबाट रिहा भएका सिके राउत र नेपाल सरकारबीच गत शुक्रबार राष्ट्रिय सभागृहमा आयोजित एक कार्यक्रमकाबीच ११ बुँदे सहमति भएको थियो। सहमतिमा हस्ताक्षर गरेको ४८ घन्टा बित्न नपाउँदै सिके राउतको समूहले स्वतन्त्र मधेसको झन्डा र ब्यानरसहित सार्वजनिक कार्यक्रम गरेको छ ।

आइतबार जनकपुर पुगेका राउतलाई समर्थकले स्वतन्त्र मधेसको नारा लगाउँदै स्वागत गरेका छन् । राउतलाई स्वागत गर्न उनका समर्थक आइतबार बिहानै जनकपुर विमानस्थल पुगेका थिए । कालो ज्याकेट, कालो चस्मा र मास्क लगाएर लाइन लागेका राउतका कार्यकर्ताले विमानस्थल भरिएको थियो । भिआइपी कक्ष, ढोका र परिसरसम्मै उनका कार्यकर्ता तैनाथ थिए ।

प्रकाशित मिति: २७ फाल्गुन २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्