असल कामको थालनीः राष्ट्रपतिको सवारीमा सर्वसाधारणलाई रोकिएन


 


काठमाडौं फागुन २७
सबैबाट गल्ती हुन्छ, गल्ती हुनु ठूलो कुरा होइन, ठूलो कुरा गल्ती गरेपछि र गल्ती भएको जानिसकेपछि पनि त्यसलाई सच्चाउने तत्परता नदेखाउनु, नसच्याउनु । जसले गल्ती महसूस गर्छ र त्यसलाई सच्याउने काम गर्छ, त्यो निश्चय पनि प्रसंसायोग्य कुरा बन्न जान्छ ।

त्यस्तै प्रसंसायोग्य काम फागुन २६ गते आइतबार राष्ट्रपति विद्यादेवी भण्डारी न्यूयोर्क जानेक्रममा भएको छ ।आईतबार साँझ सदाझैं भीभीआइपीको सवारीको नाममा सर्वसाधारणलाई पूरै बाटो छेकेर रोक्ने काम गरिएन । सवारीको समयमा केही समय एक लेन बाटोमात्र रोकेर बाँकी एक लेनमा सर्वसाधारणका सवारीलाई निर्वाध चल्न दिइयो ।

उपत्यका ट्राफिक महाशाखाका प्रमुख बसन्त पन्तका अनुसार, राष्ट्रप्रमुखको विदेश भ्रमणमा जाँदा यसरी सवारीमा एक लेन मात्र खाली गरिएको इतिहासमै पहिलोपटक हो ।

वास्तवमा, यो धेरै पहिले नै गरिनु पर्ने र गर्न सकिने काम थियो । हिजो जनतामाथि विश्वास नगर्ने, षड्यन्त्र, छलकपट र जनदमनमाथि आधारित शासनसत्ता चलाएर बसेका शाही शासकहरुको तजबीजमा वा उनीहरुलाई रिझाउनका लागि सिर्जना गरिएको घोर जनविरोधी व्यवस्था थियो– सवारीको नाममा सर्वसाधारणको हिँड्डुलमा छेकेवार लगाउने काम । त्यस्तो जनविरोधी शासनसत्ताका नाइकेहरुलाई इतिहासको गर्भमा हुत्याइदिइसकेपछि स्थापित भएको जनताको शासन कहलिएका गणतन्त्रमा पनि त्यही जनविरोधी शाही शासनकालको झल्को दिने सवारीतन्त्रको कालो परिपाटी र प्रचलन यथावत रहिरहनु जनतामाथि लादिएको घोर अपमान थियो ।

कम्तिमा ढिलै भए पनि त्यो अपमानको कालो दागलाई पखाल्ने कामको शुरुवात भएको छ । गणतन्त्रमा जनताका आवाजलाई सुनिन्छ भन्ने सन्देश झिनै रुपमा भए पनि यसले संप्रेषण गरेको छ । यद्यपि, यो आवाज जनआक्रोश अप्रत्यासित तर संगठित रुपमा विस्फोट हुनुपूर्वनै सुनिएको भए र त्यसलाई सम्बोधन गरिएको भए गणतन्त्रमा सत्तासञ्चालन गर्ने अवसर प्राप्त गरेकाहरुको मान, शान र इज्जतमा झनै अभिबृद्धि हुने थियो ।

जे होस्, ‘देर से आया, पर दुरुस्त आया’ भन्ने हिन्दी भनाइलाई यसले सम्झाएको छ । जनताको अभिमतलाई सम्मान गर्ने यो कदमले राष्ट्रपतिको मान र कदलाई नै उँचो राख्न मद्दत गर्नेछ भन्ने हामीलाई लाग्छ ।

हामी चाहन्छौं, राष्ट्रपति विद्या भण्डारीको सवारीबाट शुरु भएको यो नयाँ इतिहास रच्ने कार्य अस्थायी नबनोस्, सवारीको नाममा लादिने त्यो गलत परम्पराको कारण सत्ताधारीहरु अनि शासनपद्दतिप्रति नै वितृष्णाको हदसम्म वाक्कदिक्क भएका जनताहरुलाई थोरबहुत राहत दिने यो कार्यलाई स्थायी रुपमा नै लागू गर्ने र अझ यसलाई जनमैत्री बनाउँदै लैजाने परिपाटीको समेत थालनी होस् ।

प्रकाशित मिति: २७ फाल्गुन २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्