इथियोपिया विमान दुर्घटनामा नेपाली एकता अधिकारीको मृत्यु, को हुन् एकता ?


 


इथियोपिया । इथियोपिया विमान दुर्घटनामा विमानमा रहेका १५७ यात्रुसहित ८ जना चालकदलका सदस्य सबैको मृत्यु भएको पुष्टि भएको छ।

उक्त विमान दुर्घटनामा परी नेपाली नागरिक एकता अधिकारीको मृत्यु भएको पुष्टी भएको छ । नेपालको गोरखा स्थायी घर भएकी अधिकारी इथियोपियाको अदिस अबाबास्थित विश्व खाद्य कार्यक्रम डब्लूएफपी कार्यालयमा सप्लाई चेन अफिसरका रुपमा कार्यरत् थिइन्।

आइतबार नैरोबीमा डब्लूएफपीकै एक बैठकमा सहभागी हुन जाँदै गर्दा उनको विमान दुर्घटनामा परी ज्यान गएको हो। अधिकारी एकता सूचना व्यवस्थापन अधिकृतका रुपमा काम गर्न सेप्टेम्बर २०१८ मा मात्र इथियोपिया पुगेकी थिइन्।

डिसेम्बरदेखि भने उनले सप्लाई चेन अफिसरको नयाँ जिम्मेवारी सम्हालेकी थिइन् । पपुआ न्यू गिनी र नेपाल कार्यालय गरि एकताले कुल तीन वर्ष १० महीना विश्व खाद्य कार्यक्रममा काम गरेकी थिइन्।

गोरखाकी उनले बेलायतको एंगीला रस्किन विश्वविद्यालयबाट व्यवस्थापन विषयमा स्नातक र स्नातकोत्तर गरेकी थिइन्। नेपालकी अधिकारी सहित ३६ देशका १५७ जनाको दुर्घटनामा ज्यान गएको हो।

प्रकाशित मिति: २७ फाल्गुन २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्