नेपालमा पृथकतावादी आन्दोलन समाप्त : प्रधानमन्त्री ओली


 


काठमाडौं फागुन २६
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अब पृथकतावादी आन्दोलन समाप्त भएको बताएका छन् । काठमाडौंमा आइतबार आयोजित अन्तर्राष्ट्रिय किसान सम्मेलन उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले भने– ‘नेपालमा अब कुनै पृथकतावाद छैन, पृथकतावादी आन्दोलन छैन, समूह संगठन केही पनि छैन ।’

सीके राउतले विखण्डनको कुरा छोडेर सरकारसँग गरेको सहमति केहीलाई चित्त नबुझेको प्रधानमन्त्री ओलीको भनाइ थियो । ‘केही मान्छे कुनाकाप्चामा त्यसबाट छटपटाएका छन् परोलिएका छन् । विरालो रिसायो भने खाबो चिथोर्छ भने जस्तै’ प्रधानमन्त्री ओलीले भने,‘पृथकतावाद छोडेर मूलधारमा आउनु र त्यसरी ल्याउनु सकारात्मक र सफता होइन भने के हो त सफलता ?’

सम्झौता गर्ने राउतले देशको अखण्डता स्वीकार गरिसकेको बताउँदै ओलीले भने,‘भन्नेले भनिरहेको छ फेरि पनि शंका !’ शंका, षड्यन्त्र, धोका जस्ता कुराहरुमाथिग आफ्नो विश्वास नभएको ओलीको भनाइ थियो ।

उनले देशमा संक्रमणकाल टुंग्याएर सुशासन र विकासको महाअभियानतर्फ लागेको बताए । अभियान दृढ र तिब्र गतिले अघि बढिरहेको पनि उनले थपे । ‘अब देशलाई सुशासन र विकास आवश्यकता छ’, उनले भने, ‘त्यसमा देश एकजुट छ ।’

प्रकाशित मिति: २६ फाल्गुन २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्