नेपालको एक इन्च भूगोल तलमाथि भए बलिदानी हुन्छः कमल थापा


 


कैलाली, २५ फागुन
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले राष्ट्रिय अखण्डता, स्वतन्त्रता र सार्वभौमिकता भोट हालेर फैसला हुने विषय नभएको भन्दै नेपालको एक इन्च जमिनमा पनि सम्झौता नहुने बताएका छन् ।

पार्टीको जारी राष्ट्रिय स्वाभिमान यात्राका क्रममा कैलालीको टिकापुरमा आयोजित सभालार्इ सम्बोधन गर्दै अध्यक्ष थापाले सरकार र सिके राउतबीच भएको सम्झौता अष्पष्ट भएको भन्दै यस्तो बताएका हुन् ।

उनले भने, ‘सम्झाैताको अन्तर्य के हो ? यो सरकारले स्पष्ट पार्नु पर्छ, यदि जनमतसंग्रह हो भने त्यसको परिणाम भयंकर हुनेछ । नेपालको एक इन्च भूगोल तलमाथि भए बलिदानी हुन्छ ।’

अध्यक्ष थापाले राष्ट्रियता खेलाँचीको विषय नभएको उल्लेख गर्दै नेपालको मेचीदेखि महाकाली र हिमालदेखि तराईसम्मको १,४७,१८१ वर्ग किलोमिटर भूभाग भोट हालेर वा चुनाव जितेर प्राप्त नभएको भन्दै पुर्खाहरूको स्मरण गर्न सुझाए । ‘पुर्खाहरूको रगत र पसिनाले सृजित भएको र ज्यानको बाजी लगाएर राष्ट्र एकीकरण गरेको यो अाधुनिक नेपालको भूमिमाथि कसैले भागभन्डा गर्न पाउने छैन’ अध्यक्ष थापाले भने, ‘नेपालको एक इन्च जमिनमा पनि सम्झौता गर्न सकिंदैन ।’

अध्यक्ष थापाले भोट हालेर व्यवस्था परिवर्तन हुनसक्ने, सरकार परिवर्तन हुनसक्ने तर, जतिसुकै कठिन अवस्थामा पनि राष्ट्रिय अखण्डता, स्वतन्त्रता र सार्वभौमिकता छलफलको विषय हुन नसक्ने बताए । अाक्रोसित भावमा उनले भने, ‘भोट हालेर सिमा घटाउने वा बढाउने यदि कसैले सोचेको छ भने त्यो कदापि पूरा हुन दिइने छैन ।’

राप्रपाले गत फागुन १५ गते ताप्लेजुङबाट सञ्चालन गरेको मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्रा आज १२ औं दिन बर्दिया पुगेको छ । अाजै कैलाली, बर्दिया र बाँके जिल्लाका विभिन्न ८ स्थानमा साना तथा ठूला सभाहरु हुने राप्रपा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले बताएका छन् । राप्रपाले हिन्दु राष्ट्र पुनःस्थापना, राजा सहित लोकतन्त्रका लागि सर्वपक्षीय गोलमेच सम्मेलन, संघीयताबारे राष्ट्रिय जनमतसंग्रह, भ्रष्टाचारको अन्त्य, ०४७ पछिका उच्च पदस्थ राजनीतिक तथा प्रशासनिक व्यक्तिको सम्पत्ति छानबिन, सुशासनको प्रत्याभूति, आर्थिकरुपमा विपन्नलाई आरक्षणको नयाँ व्यवस्था लगायतका २२ बुँदे माग राखी गत फागुन ७ गते प्रधानमन्त्रीलाई ज्ञापनपत्र पेश गरेको थियो ।

आफ्ना मागहरू बारे जनतालाई जानकारी दिन र जनमत सिर्जना गर्न स्वाभिमान यात्रा गरिरहेको प्रचार विभाग प्रमुख श्रेष्ठले  बताए । पार्टीले उठाएका मागप्रति यात्राका क्रममा जनताको उत्साहजनक समर्थन प्राप्त भइरहेको पनि श्रेष्ठले दावी गरे ।

स्वाभिमान यात्रा फागुन ३० गते काठमाडौंको भृकुटीमण्डपमा मुख्यसभा गर्दै सम्पन्न हुनेछ ।

प्रकाशित मिति: २६ फाल्गुन २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्