सीके राउत जता जान्छन् उतै प्रहरी !


 


काठमाडौं , २६ फागुन – मूलधारको राजनीति गर्ने सहमति गरेका सिके राउतलाई सुरक्षा थ्रेट हुन सक्ने भन्दै नेपाल प्रहरीले सुरक्षाको व्यवस्था गरेको छ ।

२४ गते सरकारसँग ११ बुँदे सहमति गरेका राउतलाई त्यसपछि प्रहरीले सुरक्षा दिइरहेको छ । राष्ट्रिय सभागृहमा आउँदा राउतको सुरक्षामा नेपाल प्रहरीका नायब निरीक्षक खटिएका थिए ।

त्यसपछि उनको सुरक्षामा स्थानीय प्रहरी खटिएको नेपाल प्रहरीका प्रवक्ता एसएसपी उत्तमराज सुवेदीले जानकारी दिए। राउतलाई अंगरक्षक दिनेबारे भने निर्णय नभएको उनले बताए ।

‘मूलधारको राजनीति गर्ने सहमति गरेकाले उहाँलाई आफ्नै समूहभित्रबाट पनि खतरा हुन सक्छ भनेर प्रहरीले सुरक्षा हेरेको हो,’ सुवेदीले भने, ‘उहाँ जताजता जानुहुन्छ । त्यहाँको स्थानीय प्रहरीले सुरक्षा दिन्छ ।’

अलग मधेस देश बनाउने भन्दै ६ वर्षअघि राउतले स्वतन्त्र मधेस गठबन्धन बनाएका थिए ।

प्रकाशित मिति: २६ फाल्गुन २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्