विस्फोटको विरोधमा आज सबै म्यानपावर बन्द


 


काठमाडौं फागुन २६
नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङको बसुन्धरास्थित घरमा शुक्रबार राती गराइएको विष्फोटको विरोधमा आइतबार सम्पूर्ण म्यानपावर कम्पनीका कार्यालय बन्द हुने भएका छन् ।

शनिबार बिहान राजधानीको बसुन्धरास्थित ओएसिस क्याफेमा आकस्मिक रुपमा भएको व्यवसायीहरुको भेलाले घटनाको निन्दागर्दै आइतबार व्यवसाय बन्दगरी सोही स्थानमा व्यवसायी भेला गर्ने निर्णय गरेको हो ।

आइतबारसम्मपनि घटनामा संलग्न व्यक्ति वा समुहका बारेमा सरकारले पहिचान गर्न नसकेमा अनिश्चितकालीन रुपमा व्यवसाय बन्द गर्नु पर्ने आवाज उठेको छ ।

भेलाले आक्रमण अध्यक्ष गुरुङप्रति मात्र लक्षित नभई समग्र वैदेशिक रोजगार व्यवसायीहरु माथिको प्रहार हो भन्ने ठहर गर्दै विषम परिस्थितिमा बिचलित नभाई सम्पूर्ण व्यवसायीलाई एकताबद्ध हुन आवहान गरेको छ ।

विष्फोटलाई कायरतापूर्वक गराईएको घटना भन्दै भेलाले त्यसको घोर निन्दा र भर्सना गर्दै दोषीलाई यथासक्य छिटो पक्राउ गरी र सत्यतथ्य छानबिन गरि कानुनी कारबाहीको दायरामा ल्याउन सरकारसँग जोडदार माग गरेको छ ।

आइतबार इजाजत प्राप्त वैदेशिक रोजगार व्यवसायीका कार्यालय बन्द गर्ने र उक्त घटनासंग सम्बन्धित आवश्यक पर्ने सबै भावी कार्यक्रमहरु नेपाल वैदेशिक रोजगार व्यवसायी संघ मार्फत सार्वजनिक गरिने पनि भेलाले निर्णय गरेको छ । संघ अध्यक्ष गुरुङले यो सिंगो वैदेशिक रोजगार व्यवसाय माथिको आक्रमण रहेको भन्दै त्यसले व्यवसाय नै असुरक्षित बनाउने प्रयास भएको बताएका छन् ।

संघका प्रथम उपाध्यक्ष रामप्रसाद भान्तनाले अध्यक्ष गुरुङको घरमा भएको विस्फोटको संघले कडा शब्दमा भर्सना गरेको भन्दै निर्वाध रुपमा व्यवसाय र जीवन यापन गर्न पाउने नागरिकको अधिकार संरक्षण हुनु पर्ने माग गरे ।उनले व्यवसायीलाई आतंकित पार्ने र अपुरणीय क्षति पु¥याउने उद्देश्यले घटना घटाइएको पाइएको बताए ।

शनिबार विहान श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले गुरुङको क्षतिग्रस्त निवास निरीक्षण गरे । निरीक्षणपछि मन्त्री विष्टले व्यवसायीको सुरक्षाका लागि सरकार संवेदनशिल रहेको बताउँदै व्यवसायीलाई अविभावकत्व प्रदान गर्न सरकारका तर्फबाट कुनै कसर बाँकी नराख्ने बताए ।

शुक्रवार रातीे घटना भएको २४ घण्टा वित्दा समेत आक्रमणकारी पत्तालाग्न नसकेपछि बैदेशिक रोजगार क्षेत्रमा भय र आक्रोस देखा परेको छ । मन्त्री विष्टले घटनाका सम्वन्धमा गंभीर र संवेदनशिल भई छानविन गर्न आफुले गृहसचिव र प्रहरी प्रमुखलाई आग्रह गरेको बताए । यद्यपि व्यवसायीहरु भने आतंकित देखिएका छन् ।

घटना लगत्तै देखि सुरक्षाकर्मीले घटनास्थललाई आफ्नो नियन्त्रणमा राखेको छ । शुरुमा सिलिण्डर बम भनिएपनि घरमा प्रेसर कुकर बम विस्फोट भएको प्रहरीले पुष्टि गरेको छ ।

प्रेसर कुकर बम करिब १० किलोको भएको र उक्त बम अत्यन्तै शक्तिशाली भएको पुष्टि भएकोे प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरीको भनाई छ ।

विस्फोटबाट भएको आगलागीबाट करीव दुई करोड पर्ने ल्याण्ड क्रुजर गाडी पुरै जलेर ध्वस्त भएको छ भने चार तले घरको सबै सिसा फुटेको छ । क्षतिको मूल्यांकन एकिन भइनसकेको बताइएको छ ।

विष्फोट पछि अध्यक्ष गुरुङ परिवार असुरक्षा महशुस गरी निवास छोडेर वाहिर बस्न थालेको छन् । राजधानीमा हुने विष्फोटनका घटनामा नेत्र विक्रम चन्द विप्लव नेतृत्वको सम्लग्नता रहेको सरकारी दावी रहने गरेको छ । गत फागुन १० गते ललितपुरको नख्खुस्थित एनसेल मुख्यालयको गेट अगाडि विप्लव समूहले शक्तिशाली बम बिस्फोट गराएको थियो। बिस्फोटमा परी एक जनाको मृत्यु भएको थियो भने २ जना घाइते भएका थिए।

तर शुक्रबार संघ अध्यक्ष गुरुङको निवासमा भएको विष्फोटबारे चन्द नेतृत्वको नेकपाका स्थानीय कार्यकर्ताले विष्फोटमा आफ्नो जिम्मेवारी नरहेको जानकारी दिएको एक व्यवसायीले जानकारी दिए । त्यसपछि व्यवसायीहरु थप त्रसित बनेका छन् ।अध्यक्ष गुरुङले घटनाअघि आफुलाई कसैले कुनैपनि प्रकारको धम्की नदिएको, कसैले चन्दा नमागेको र कसैसँग लेनदेन, आर्थिक कारोवारको समस्या पनि नरहेको बताएका छन् ।

संघका अध्यक्ष गुरुङ तत्कालीन नेकपा एमाले बैदेशिक शाखा कमिटीका अध्यक्ष र प्रगतिशील मंचका पुर्व उपाध्यक्ष रहेका थिए । घटनाहुनु केही समय अघि अध्यक्ष गुरुङ बसुन्धरास्थित ओएसिस क्यापेमा कफी पिएर घर फर्किएका थिए । घटना अघि सो क्षेत्रको सडकमा सुरक्षाका लागि जडान गरिएको सिसिटिभी बिग्रीएको पाइएको भन्दै एक व्यवसायीले अध्यक्ष गुरुङकै ज्यान लिने योजना बनाएर विष्फोट गराइएको दाबी गरे । प्रहरीका अनुसार शनिवार साँझसम्म कसैलाई पक्राउ गरिएको छैन । प्रहरीले ल्याव अनुसन्धानका लागि घटनास्थलबाट जलेर ध्वस्त बनेको गाडीका केही पाटपूर्जा र खरानी लगायत संकलन गरेर लगेको छ ।

संघका कार्यवाहक महासचिव ईश्वर जी.सीले शनिबार एक विज्ञप्ति जारी गर्दैै घटनाको घोर भत्र्सना गरेका छन् । विज्ञप्तिमा यस्तो आततायी घटनामा संलग्न र यस्तो कार्य गर्न निर्देशीत गर्ने जो कोहीलाई पनि नीज वा नीजको समूह पहिचान गरी पक्राउ गरेर कडा भन्दा कडा सजाय दिलाइ विष्फोटनबाट भएको क्षतिको उचित क्षतिपूर्ति दिलाउन र घाइतेलाई उपचार गर्न सरकारसँग माग गरिएको छ ।

यस्तै सत्तारुढ नेकपा निकट प्रगतिशील बैदेशिक रोजगार ब्यवसायी मञ्च, नेपालका अध्यक्ष चित्रगुप्त साँंबाले संघका अध्यक्ष गुरुंङको घरमा भएको बम विष्फोट कार्य आततायी र जघन्य आपराधिक घटना भएको बताएका छन् । उनले घटनाको यथाशीघ्र गम्भीर छानविन र दोषीलाई कडा कार्यवाहिका लागी सरकारसंग आग्रह गरेका छन् ।

विस्फोटबाट घाइते भएका गुरूङको घरमा रहेको सटर भाडा लिएर बस्ने मणिराम पौडल उपचार पछि घर फर्किएका छन् । उनको टाउकोमा चोट लागेको थियो ।

घटनास्थलको रुपमा रहेको गुरुङको घर प्रहरी महानिरीक्षक सर्वेन्दनाथ खनालको बसुन्धरास्थित निवास नजिकै पर्दछ । सुरक्षाको दृष्टिले संवेदशील मानिएको उक्त क्षेत्रमा संसाझै विस्फोट हुनुले सुरक्षा अवस्था चुनौतिपूर्ण रुपमा रहेको घटना स्थलमा जम्मा भएका स्थानीयहरुले टिप्पणी गरेका थिए ।

संघका अध्यक्ष गुरुङको घरमा विस्फोटको घटना लगत्तै संघका निवर्तमान अध्यक्ष विमल ढकाल, मंचका संस्थापक अध्यक्ष सरोज पोखरेल, लोकतान्त्रिक फोमरका पूर्व अध्यक्ष प्रज्ञान न्यौपाने, संघका कार्यसमितिका पदाधिकारी एंव सदस्यहरु तथा ठूलो संख्यामा व्यवसायीहरु घटनास्थलमा पुगेका थिए ।

प्रकाशित मिति: २६ फाल्गुन २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्