आयो खुशीको खबर ! नयाँ वर्षको अवसर पारेर बैशाख १ देखी नेपालमा रेल सेवा सुरु हुने
जनकपुर, फागुन २६
बैसाख १ अर्थात नयाँ वर्षदेखि देशको एक मात्र रेल सेवा ’जनकपुर –जयनगर रेल्वे’ सञ्चालन हुने भएको छ। रेल सञ्चालनको तयारीमा रहेको रेल विभागले रेल सञ्चालनको विधि र कर्मचारी छनोट प्रक्रिया समेत सुरु गरेको छ ।
पहिलो चरणमा जनकपुर–जयनगरमा रेल सञ्चालनको तयारी गरेको विभागले प्रक्रियागत कामलाई पूर्णता दिँदै सञ्चालन कार्यविधि निर्माणको काम सुरु गरेको हो । त्यस्तै रेल सञ्चालनका लागी आवश्यक कर्मचारी छनोटको प्रक्रिया पनि सुरु गरेको विभागका महानिर्देशक बलराम मिश्रले जानकारी दिनुभयो ।
सो रुटमा निर्माण हुने ७ वटा स्टेसनका लागि आवश्यक १ सय ५० कर्मचारीको छनोट प्रक्रिया सुरु भएको र केही दिनमै उनीहरुको छनोट सकिने मिश्रको भनाइ छ । महानिर्देशक मिश्रले सातै वटा स्टेसनका लागि प्रशासनिक र प्राविधिक गरी कम्तीमा ७ देखि १५ जनासम्म कर्मचारी राख्ने गरी विभागले तयारी गरेको मिश्रले जनाउनुभयो ।
विभागले सो रुटमा रेल सञ्चालनका लागि भारतबाट २ वटा रेल खरिद गर्ने जनाएको छ । रेल खरिदको प्रक्रियापनि अन्तिम चरणमा पुगिसकेको मिश्रले बताउनुभयो ।
प्रकाशित मिति: २६ फाल्गुन २०७५, आइतबार