होलीको गीत ‘रङ्ग वर्षे’ मा प्रचण्डको छमछमी, प्रधानमन्त्री ओली हेरिरहे


 


काठमाडौं नेकपाले शनिबार रौतहटमा आयोजना गरेको आमसभामा होलीको गीत ‘रङ्ग बर्षे’मा कलाकारहरुसँग छमछमी नाँच्दै नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’। तस्बिर-दीपा दाहाल/ देश सञ्‍चार
काठमाडौँ–सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नम्बर दुईले एकतापछि पहिलो पटक रौतहटको गरुडामा आयोजना गरेको आम सभामा अनेक दृश्यहरु देखिए।

आम सभाका लागि रौतहट मात्र नभई छिमेकी जिल्ला सप्तरी, सिराह लगायत प्रदेश दुईका ८ वटै जिल्लाका बासिन्दालाई नेकपाले उतार्‍यो।

निर्धारित समय भन्दा केही ढिलो गरी सुरु भएको शनिबारको सभामा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाल लगायतको टोली राजधानीबाट नेपाली सेनाको हेलिकोप्टर चढेर सभास्थल उत्रिएका थियो।

गरुडाको खेतमा निर्माण गरिएको सभामा अधिकांश वृद्धवृद्धा, महिला र बालबालिकाका अनुहार देखिन्थे। चर्को गर्मी र धुलोले उनीहरुलाई शीर्ष नेताहरुको भाषण सुन्‍न कठिन समेत भएको थियो ।

भाषणको बीचबीचमा तराई, पहाड र हिमालबीच सद्भाव जगाउने र राष्ट्रिय एकताको सन्देश दिने गीत र नृत्य समेत प्रस्तुत गरिएको थियो ।

सभाको अन्त्यतिर नजिकिदै गरेको फागु पुर्णिमालाई लक्षित गरि प्रस्तुत गरिएको नृत्युले सबैको मन तान्यो।

कलाकारले अघिल्तिर रहेका प्रधानमन्त्री ओलीलाई नृत्यका लागि गरेको प्रस्ताव आफ्नो स्वास्थ्यलाई ख्याल गर्दै अस्वीकार गरे।

तर सँगै बसेका अर्का अध्यक्ष दाहाल भने जुरुक्क उठे अनि कलाकारसँगै ‘रंग वर्षे भिगे चुनरिया ’ गीतमा छमछमी नाँचे र सर्वसाधारणहरुबाट गडगडाहट ताली समेत पाए।

प्रकाशित मिति: २६ फाल्गुन २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्