नेपाल भित्रै भारतीय नागरिकले बनाएको पुल पैसा तिरेर प्रयोग गर्दै बासिन्दाहरु भिडियो सहित
विराटनगर, २५ फागुन
नेपालको एउटा गाउँबाट नेपालकै एक शहर भित्रन पनि भारतीय नागरिकले बनाएको पुल तर्नु पर्छ नेपालीले । पुल तर्दा पनि उनले तोकेको रकम तिर्नु पर्छ सबै पुलको प्रयोगकर्ताले । यो वास्तविकता हो मोरङको जहदा गाउँपालिकाको । जहदा गाउँपालिका स्थित सिंघिया खोलामा पक्की पुल नहुँदा भारतीय नागरिकले बाँसको पुल बनाएर व्यापार गरिरहेका छन् र नेपाली जमिन भित्रै नेपाली नागरिक उपभोक्ता बनिरहेका छन् ।
जहदा गाँउपालिकाबाट विराटनगर र भारतीय बजार जोगबनी जान भारतीय नागरिक जगमलाल रामले बनाएको बाँसको पुल तर्नै पर्दछ । उनले वर्षौ देखि जहदा गाउँपालिका वडा नं. २ मा बाँसको पुल बनाएर व्यापार गर्दै आएका हुन् ।
यसरी बाँसको पुलबाट हिडे वापत साइकलले ५ रुपैयाँ र मोटरसाइकलले १० रुपैयाँ तिर्नुपर्दछ । करीब ७० हजार रुपैयाँको लागतमा २ सय वटा बाँस प्रयोग गरेर जगमलालले बाँसको पुल बनाएर व्यापार थालेको बताए । टाढाको व्यक्तिहरुसंग नगद लिएर आवतजावत गर्न दिने गरेको भएपनि छेउछाउका स्थानीयबाट भने वार्षिक रुपमा धान र गहुँ दिएर पुल तर्न दिने गरेको जगमलालले बताउनु भयो ।
जहदा गाँउपालिका भएर बग्ने सिंगिया खोलामा पक्की पुल नभएकै कारण सयौं सर्वसाधारणले नगद मात्र तिर्नुपरेको छैन, कमजोर र साँघुरो बाँसको पुल तर्दा जोखिम समेत मोल्नु परेको छ । असुरक्षित सो पुलबाट लडेर धेरै सर्वसाधारण घाइते समेत भएका छन् ।
प्रकाशित मिति: २५ फाल्गुन २०७५, शनिबार